काठमाडौँ– अरबको सामुद्रिक आँधी ‘माहा’ प्रभावका कारण नेपालको मध्यपहाडी र उच्च हिमाली भेगमा हिमपात र हल्का वर्षा हुने भएको छ।
पश्चिमी वायुको साथै ‘माहा’ नामको आँधीका कारण मध्यपहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
हाकाहाकीसँग कुरा गर्दै मौसमविद् मिन कुमार अर्यालले ‘माहा’ नामको सामुद्रिक आँधी भारतको गुजरातमा सक्रिय रहेको बताए।
उक्त आँधी उत्तरपूर्वी भारत तर्फ बढ्दै गएकाले हावाको केही प्रभाव पश्चिम नेपालमा परेको उनले जनकारी दिए। ‘माहा चक्रवात अहिले उत्तर तर्फ बढ्दो छ,’ उनले भने, ‘त्यसको गति १७ किलोमिटर प्रतिघण्टा मात्रै छ।’
उक्त चक्रवातका कारण भारतमा भीषण वर्षा हुने बताइएको छ भने पश्चिमी नेपालमा पनि हल्ला वर्षाको सम्भावना रहेको छ। साथै उच्च हिमाली भेगमा हिमपात हुनेछ।
अर्यालका अनुसार नेपालमा ‘माहा’ आँधी नेपालतर्फ कमजोर बन्दै गएको छ भने अब को २४ घण्टामा यसको कुनै पनि असर रहने छैन। ‘भोलीसम्ममा डिप्रेसनमा जान्छ,’ उनले भने।
त्यसैगरी देशको पश्चिम र मध्य क्षेत्र लगायत पूर्वको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महशाखाले जनाएको छ।
आगामी तीन दिन देशको पश्चिम र मध्य भूभाग लगायत पूर्वी पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। महशाखाका अनुसार देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भूभागमा हिमपातको हुनेछ।
त्यस्तै देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि एक दुइ स्थानमा हल्का वर्षा साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले आगामी २४ घण्टा सर्तक रहन महाशाखाले आग्रह गरेको छ।
‘माहा’ नामको सामुद्रिक आँधीका कारण भारतको ओडिसा र पश्चिम वंगालमा भारी वर्षा, हावाहुरी र समुद्री छालको चेतावनी भारतको मौसम विज्ञान विभागले दिएको छ। साथै उक्त स्थानको स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन समेत आग्रह गरिएको छ। यसका साथै भारत सरकारले त्यसबाट हुन सक्ने जनधनको क्षति कम गर्न पूर्वतयारी गरिरहेको ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ।
अरबको सामुद्रिक आँधी ‘माहा’लाई ‘म्महा’ पनि भनिने गरेको छ। ओमानद्वारा यसको नामकरण गरिएको थियो। चक्रवात ‘कयर’को केही दिन पछि अरबी समुद्री तटमा ‘माहा’ चक्रवात बन्ने गरेको छ। भारतहुँदै उक्त आँधी अफ्रिका तर्फ बढ्दै जान्छ।