Wednesday, November 20, 2024

पूरानै टुँडिखेल फर्काउन शनिबार मानव साङ्लो

काठमाडौँ – चारैतिरबाट अतिक्रमण बढ्न थालेपछि काठमाडौँको एक मात्र ठूलो खुल्ला स्थान टुँडिखेललाई पूरानै अवस्थामा फर्काउन दबाब स्वरुप आगामी शनिबार मानव साङ्लो बनाएर घेरिने भएको छ।

‘अकुपाइ टुँडिखेल’ नाम दिइएको उक्त अभियान मार्फत टुँडिखेललाई जनताको स्वामित्वमा ल्याउन दबाब दिने उद्देश्यसहित हजारौं मानिसको मानव साङ्लो बनाएर सांकेतिक आन्दोलन गर्न लागिएको अभियन्ता विजय श्रेष्ठ बताउँछन्।

हाकाहाकीसँग कुरा गर्दै उनले राणाकालदेखि शुरु भएको टुँडिखेल अतिक्रमणलाई रोक्न विश्व स्वतन्त्र दिवसको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको जानकारी दिए।

‘टुँडिखेलमाथि धेरै नै अत्याचार भएको छ, रत्नपार्कदेखि रंगशालासम्म फैलिएको टुँडिखेलको अवस्था अहिले नाजुक भइसक्यो,’ उनले भने, ‘टुँडिखेललाई पहिलेकै अवस्थामा ल्याउने अभियान स्वरुप मानव साङ्लो बनाउन लागेका हौँ ।’ चरणबद्ध रुपमा हुने उक्त कार्यक्रम विशुद्ध जनताको भएकाले सबै नेपाली मिले टुँडिखेललाई पुरानै स्थितिमा ल्याउन सकिने उनको भनाइ छ ।

उनका अनुसार ‘अुकुपाइ टुँडिखेल’ अभियान विभिन्न चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आगामी शनिबार रत्नपार्क तथा खुल्लामञ्चमा भएको अतिक्रमणलाई रोक्न दबाब दिने कार्यक्रम रहेको छ। त्यसैगरी अभियानको अन्य चरण अन्तर्गत त्रिपुरेश्वरको दशरथ रंगशालादेखि रत्नपार्कसम्म फैलिएको टुँडिखेललाई पुरानै स्थितिमा ल्याउन दबाब दिन साप्ताहिक रुपमा मानव साङ्लो बनाएर टुँडिखेल घेरिने छ ।

देशको राजधानीस्थित एकमात्र ठूलो क्षेत्रफलमा रहेको खुला स्थान अतिक्रमणको क्रम राणाशासनदेखि नै शुरु भएपनि हाल यसले भयावह रुप लिएको छ।

रत्नपार्कदेखिको रंगशालासम्मको टुँडिखेल अहिले खुम्चिदै खुम्चिदै सानो खेल मैदान जस्तो भएको छ । एकातिर नेपाली सेनाले आफ्नो मुख्यालय बनाउन अतिक्रमण गर्‍यो । अर्कातिर अहिले आएर विभिन्न व्यवसायिक संरचना बनिरहेका छन् ।
विभिन्न सम्पदाको निर्माण सामग्री टुँडिखेलमा थुपारिँदा पनि त्यसको आकार दिनानुदिन घट्दै गइरहेको छ। ०७२ को भूकम्पपछि केही समयको लागि भूकम्पपीडितको बासस्थान बनेको टुँडिखेल अहिले पुनर्निर्माणका सामग्री राख्ने स्थान बनेको छ।

काठमाडौँ महानगरले निर्माण गर्न लागेको भ्यूटावरका लागि पूरानो बसपार्कलाई पनि खुलामञ्चमै सारिएको छ। टुँडिखेलको एकापट्टी धरहरा पुननिर्माणका सामग्री राखिएको छ भने टुँडिखेलसँगैको खुलामञ्चमा दरबार हाइस्कूल निर्माण गरिरहेको चिनियाँ कम्पनीले आफ्ना सामान राखेको छ। साथै खुलामञ्चलाई नै अतिक्रमण गरेर सटर बनाइ विभिन्न व्यवसाय सञ्चालन भइरहेको छ ।

यस विषयलाई लिएर बेलाबेलामा काठमाडौँ महानगरका प्रमुख तथा उपप्रमुखबीच विवाद पनि हुँदै आइरहेको छ। यी सबै कुरालाई मध्यनजर गर्दै ‘अकुपाइ टुँडिखेल’ नामक अभियानले कात्तिक २३ गतेदेखि चरणबद्ध रुपमा टुँडिखेल पहिलाको जस्तै हुनुपर्ने माग गर्दै जनदबाब स्वरुप मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने आयोजकको भनाइ छ ।
याे पनि पढ्नुहाेस
यसरी खुम्चिँदैछ टुँडिखेल(भिडियो रिपोर्ट)

ताजा समाचार

सम्बन्धित समाचार