Wednesday, October 23, 2024

पत्रपत्रिकाः निसानामा तरकारी सिन्डिकेट, पहरोमुनि नयाँ वस्ती

काठमाडौं– काठमाडौंबाट प्रकाशित हुने प्रमुख दैनिक पत्रपत्रिकाले सोमबारको अंकमा वन, वातावरण तथा वन्यजन्तुसँग सम्बन्धीत समाचार प्रकाशित गरेका छन् ।

राजधानी दैनिकले सरकार तरकारी बजारमा रहेको सिन्डिकेट हटाउन केन्द्रित रहेको खबर छापेको छ । प्रेमबहादुर चन्दको बाइलाइनमा रहेको समाचारमा भनिएको छ, ‘सार्वजनिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकारको ध्यान फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट हटाउन केन्द्रित छ ।’ सीमित व्यापारीको कब्जामा रहेको तरकारी व्यापारमा कायम सिन्डिकेट हटाउन सरकारले अभियान थाल्ने घोषणा गरेको राजधानीले समाचारमा उल्लेख गरेको छ।

नागरिक दैनिकले ‘चिराचिरा परेको पहरोमुनि नयाँ वस्ती’ बसेको सिन्धुपाल्चोकको खबर छापेको छ । सिन्धुपाल्चोकबाट ध्रुव दंगाल लेख्छन्, ‘माथिल्लो सिगार्चे गाउँकी कृष्टी तामाङको परिवार केही महिनायता नयाँ घरमा सरेको छ । तीन वर्ष छाप्रोमा बिताएपश्चात् उनको परिवार नयाँ घरमा सरेको हो। तर नयाँ घर पाए पनि उनको परिवारमा खुसी होइन चिन्ता छाएको छ। किनभने उनीहरूको घर एकदमै असुरक्षित ठाउँमा छ। अर्थात् उनको घरमाथिको कसेरी डाँडा चिराचिरा परेको छ।’

समाचारमा अगाडि भनिएको छ, ‘डाँडाको माथिल्लो भागमा धाँजा फाटेको छ। ‘डाँडै खस्ने हो कि भन्ने पिरले सताइ रहन्छ,’ काखे बालकलाई दूध चुसाउँदै गर्दा भेटिएकी कृष्टीले चिरिएको पहरो देखाउँदै भनिन् । सामान्य झरी पर्दा पनि डर लाग्ने उनले बताइन्। उनले चिन्ता व्यक्त गर्दै भनिन, ‘बर्खामा डाँडै पो खस्ने हो कि!’

त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खननका लागि अनुमति लिन निकुञ्ज प्रशासनले प्रक्रिया अगाडि बढाएको खबर नागरिकले तेु्रो पृष्ठमा छापेको छ। निर्मल घिमिरे अगाडि लेख्छन्, ‘निकुञ्जको मुटु मानिने ‘लालमाटी’ क्षेत्रमा पर्ने कर्णाली नदीको पूर्वी भंगालो (गेरुवा) र पश्चिम भंगालो छुट्टिने ठाउँबाट पूर्वतर्फ उत्खनन् गरेर ६० हजार घनमिटर नदीजन्य पदार्थ निकासी गर्न निकुञ्ज प्रशासनले प्रक्रिया अघि बढाएको हो।’

नागरिकले समाचारमा उल्लेख गरेअनुसार निकुञ्जभित्र वन्यजन्तुलाई पानी अभाव भएको कारण खुलाएर अघि बढाइएको प्रक्रिया वातावरण संरक्षण ऐन विपरित छ तर, निकुञ्जभित्रको करोडौं मूल्यबराबरको नदीजन्य पदार्थ कौडीको भाउँमा बिक्री हुने गरेको छ।

कान्तिपुरले ‘असिनापानीले बाढी’ शीर्षकमा बझाङको खबर प्रथम पृष्ठमा छापेको छ। बझाङबाट वसन्तप्रताप सिंह लेख्छन्,‘असिनापानीसँगै बझाङमा फेरि आएको बाढीमा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ। चार दिन अघि बाढीले जीप बगाउँदा तीन जनाको ज्यान गएको थियो।’

सोही घटनासँग सम्बन्धीत समाचार नयाँ पत्रिकामा बझाङबाट सम्राट सिंहको बाइलाइनमा ‘खहरे खोलाले बगाउँदा पाँचको मृत्यु’ छापिएको छ।

यसैगरी, राजधानीमा उदयपुरबाट ईश्वर तामाङले अवैध रुपमा रुख कटान भइरहेको खबर लेखेका छन्। समाचारमा भनिएको छ, ‘त्रियुगा नगरपालिका ८ मा रहेको पञ्चकन्या सामुदायिक वन क्षेत्रमा अवैध रुपमा सालका रुख कटान गरेको पाइएको छ।’

त्यस्तै, कान्तिपुरमा चियाको न्यूनतम मूल्य निर्धारण भएको इलामको खबर पनि छापिएको छ। विप्लव भट्टराईले लेखेको समाचार अनुसार सूर्याेदय नगरपालिकाले सिजनभर प्रतिकिलो ४० रुपैयाँमाथि हुनुपर्ने गरी चियाको मूल्य तोकेको हो।

कान्तिपुरमा सुरज कुँवरले कृषिका कार्यक्रममा अत्याधिक चुहावट रहेको खबर लेखेका छन्। समाचारमा उल्लेख भएअनुसार वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी कृषिजन्य वस्तु आयात हुँदै आइरहेको मुलुकमा ‘सानो परिमाणको भूमिमा पराम्परागत रुपमा निर्वाहमुखी खेती, सरकारबाट सञ्चालन गरिएका कार्यमा अत्याधिक चुहावट र सहकारी क्षेत्रको प्रभावहीनताका कारण कृषि क्षेत्रले अपेक्षाकृत गति लिन नसकेको हो,’ मन्त्री चक्रपाणि खनालले आइतबार जारी गरेको ५८ बुँदे भावी कार्यदिशामा भनिएको छ।’

ताजा समाचार

सम्बन्धित समाचार