१८ वैशाख, मकवानपुर ।
चट्याङजन्य प्रकोपको उच्च जोखिममा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङको पूर्वसूचना दिने प्रणाली जडान गरिएको छ ।
पिपुल इन निडको आर्थिक सहयोग र साउथ एसियन लाइटनिङ नेटवर्कको प्राविधिक सहयोगमा सो क्षेत्रमा चट्याङ पूर्वसूचना सेन्सरसहितको यन्त्र स्थापनाका लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । दक्षिण एसियाली चट्याङ सञ्जालका अध्यक्ष श्रीराम शर्माले दक्षिण एसियामै पहिलो पटक नेपालमा चट्याङको पूर्वसूचना दिने प्रणाली स्थापना गर्न लागेको बताए ।
राक्सिराङ चट्याङको उच्च जोखिमको पालिका भएकाले यो प्रणालीले चट्याङबाट हुने जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास छ । ‘पूर्वसूचना प्रणाली जडान भएपछि बादलमा विद्युतीय चार्ज उत्पन्न हुँदै गर्दा उपकरणमा भएको सेन्सरले १६ किलोमिटर क्षेत्रभित्रको विद्युतीय चार्ज थाहा पाउँछ’, शर्माले भने, ‘उपकरणले साइरन प्रणालीसँग जोडेर पूर्वसूचनाको सन्देश प्रवाह गर्छ ।’
उनका अनुसार यो प्रणाली यसअघि भक्तपुरको नगरकोटमा पनि परीक्षण गरिसकिएको छ । यो प्रणालीले चट्याङ आउनुभन्दा करिब १६ मिनेटअघि पूर्वसूचना दिनेछ । जसले गर्दा खतरामा रहेकालाई सुरक्षित स्थानमा जान सन्देश प्रवाह गर्नेछ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विपदका दृष्टिले राक्सिराङ उच्च जोखिमयुक्त क्षेत्र भएकाले जनधनको क्षति रोक्न यस्तो प्रविधि आवश्यक भएको औँल्याए । ‘पूर्वजानकारी पाउने व्यवस्था भएपछि हामीलाई चट्याङबाट सचेत गराउन र सुरक्षाका उपाय अपनाउन सहज हुनेछ’, उनले भने ।
यो प्रविधि जडानले समुदायमा चट्याङप्रति सचेतना अभिवृद्धि हुने र समयमै सुरक्षित स्थानमा जान सहयोग पुग्ने उनको भनाइ छ । पालिकामा एउटा मुख्य सेन्सर र विभिन्न स्थानमा ८ वटा साइरन प्रणाली जडान गरिने छ ।
राक्सिराङ–१ को राम्चे, वडा नं. २ र ३ को भाँट्टी, वडा नं. ४ को वडा कार्यालय, वडा नं. ५ को चैनपुरमा सेन्सरसहितको साइरन, वडा नं. ६ को सिलिङेको विद्यालय भवन, वडा नं. ७ को गर्लिङ, वडा नं. ८ को पाङ्बुङ र वडा नं. ९ को प्रहरी चौकी कान्द्राङमा साइरन प्रणाली राखिने छ ।
गोरखापत्र दैनिक