कमल मादेन
१२ वैशाख, काठमाडौं ।
वैशाख महिनामा सुनसरीको चारकोसे जंगलमा ४–५ घण्टा हिँडियोे । यस पटकको यात्रा वनस्पतिका फूल तथा फलका तस्बिर खिच्ने र नौला प्रजाति भेटिएमा नमुना संकलन गर्ने उद्देश्य थियो ।
यसपटक मैले पहिले कहिल्यै नदेखेका २ प्रजातिका वनस्पति फुलेको देखेँ । नमुना संकलन गरेँ– जसमध्ये एक, दुधिलो रस निस्कने कुसुमको रूखमा ८–१० फिट झुन्डिएको लहरे वनस्पति रहेछ । पछि अध्ययन गर्दा यसको वैज्ञानिक नाम ‘डिस्किडिया बेन्गालेन्सिस’ भन्ने थाहा भयो ।
यो प्रजाति सन् २०१६ मा प्रवीण भण्डारी र कृष्णकुमार श्रेष्ठले कास्कीबाट नेपालमा पहिलो पटक फेला पारेको जानकारी प्रकाशित गरिसकेका रहेछन् । कास्कीमा यसलाई ‘औँले हडचुर’ भनिँदो रहेछ ।
अर्को वनस्पति भुइँमा आकर्षक सेतो फूल फुलेको, बास्ना निक्कै आउने, स्थानीयले ‘वन प्याज’ भन्ने गरेको चाहिँ नेपालका निम्ति नयाँ नै रहेछ । यो जानकारी वैज्ञानिक अभिलेखका निम्ति एक जर्नलमा प्रकाशित गर्न पठाइसकेको छु ।
वन प्याज के हो ?
प्याजसँग सम्बन्धित वनस्पति परिवार ‘एमारिलिडेसी’ हो । यो वनस्पति परिवारअन्तर्गत संसारभर ७१ जाति तथा करिब १ हजार ६ सय प्रजाति छन् । ‘एमारिलिडेसी’ परिवारअन्तर्गतका अधिकांश जातिको जमिनमुनि काण्ड गानोका रूपमा परिवर्तित भएको हुन्छ ।

कृष्णकुमार श्रेष्ठ र अरूहरूद्वारा लिखित ‘प्लान्टस् अफ नेपाल’ शीर्षक पुस्तकमा एमारिलिडेसी परिवारअन्तर्गत ४ जाति र १७ प्रजाति सूचीकृत छ (२०२२, पृ.१३०–१३२) । वनप्याज ‘प्यान्क्रेटियम’ जातिअन्तर्गतको वनस्पति हो । संसारभर यसका करिब २ दर्जन प्रजाति फेला परेका छन् । त्यसमध्ये १ प्रजाति ‘प्यान्क्रेटियम वेरेकुन्म’ नेपालको वनस्पति सूचीमा सूचीकृत छ ।
सुनसरीको जंगलमा वैशाख महिनामा सेतो फुलेको प्रजाति चाहिँ ‘प्यान्क्रेटियम ट्राइफ्लोरम’ रहेछ । यो वनस्पतिको खोज अनुसन्धानको कुन्डली हेर्दै जाँदा विलियम रक्सबर्घले भारतको तमिलनाडु प्रान्तको कोरोमन्डेल तटबाट नमुना संकलन गरी वैज्ञानिक नामकरण गरेका रहेछन् ।
‘प्यान्क्रेटियम ट्राइफ्लोरम’ प्रकाशित भएको पहिलो पुस्तक उनै विलियम रक्सबर्घद्वारा लिखित फ्लोरा इन्डिका भोलम २ (सन् १८३२, पृ. १२६) मा समावेश छ । रक्सबर्घले भारतको वनस्पतिसम्बन्धी पुस्तक सबैभन्दा पहिले लेखेकाले उनलाई भारतीय वनस्पतिशास्त्रका पिता भनिन्छ । यता नेपालमा बुखानन् ह्यामिल्टनलाई नेपालका वनस्पतिशास्त्रका पिता भनिन्छ । किनभने उनले सन् १८०२ मा नेपालमा वनस्पतिको वैज्ञानिक अध्ययन अनुसन्धान सुरू गरेका थिए ।
‘प्यान्क्रेटियम’ जातिको वनस्पतिको जमिनमुनि गानो वा बल्ब हुन्छ, जुन केही वर्षसम्म बाँच्छ । त्यो गानो जमिनभित्र भए पनि जरा नभई भूमिगत काण्ड हो । त्यो गानोबाट चैत–वैशाख महिनामा एकैचोटि पात र फूल निस्कने रहेछ । काण्डबाट एकैचोटि पात तथा फूल पलाउने जनाउन विशेषण शब्द ‘सिनन्थस’ प्रयोग गरिन्छ ।
‘प्यान्क्रेटियम ट्राइफ्लोरम’को फूल र पात प्याजको भन्दा फरक हुन्छ । जमिनमुनि रहेको गानोको आकार चाहिँ रंगबाहेक काटीकुटी प्याजैजस्तो हुने रहेछ । काट्दा भित्रपट्टिको भाग पनि प्याजै जस्तो तर अलि पातलो केस्रा हुँदो रहेछ । अनि एउटा बोटमा ३ वटा फूल हुने रहेछ ।
टुप्पोमा पहिले फुल्ने गरेको देखियो । बाँकी २ वटा टुप्पोको फूल ओइलिन लाग्दा फुल्दो रहेछ । ज्यादै थोरैमा चाहिँ ४–५ वटा फूल पनि देखियो । फूल ठूलो, आकर्षक, फूल टुप्पोमा पहिले फुल्ने, पाता भालाजस्तो, जरा बल्बबाट पलाउने, सुक्खामा पनि केही वर्ष बाँच्न सक्ने गुण भएका वनस्पति ‘एमारिलिडेसी’ परिवारअन्तर्गत ‘प्यान्क्रेटियम’ जातिमा समावेश छ ।
ल्याटिन भाषामा ट्राई भनेको ३ र ‘फ्लोरम’ ले फूल जनाउँछ । यसै आधारमा यो प्रजातिको नामकरण ‘प्यान्क्रेटियम ट्राइफ्लोरम’ राखिएको रहेछ ।
उद्भव तथा विस्तार
‘प्यान्क्रेटियम’ जातिका वनस्पति अफ्रिकाको अधिकांशजसो देशमा पाइँदो रहेछ । यो जातिका वनस्पति उत्तरी अफ्रिकासँग जोडिएका युरोपको ग्रिस, इटली, स्पेन, पोर्चुगल, युगोस्लाभियासहित पश्चिम एसिया/दक्षिण पश्चिम, एसिया/मध्यपश्चिमी देशहरू ओमन, यमन, साउदी अरबसहित दक्षिण एसिया तथा केही दक्षिणपूर्वी, केही एसियाली देशमा पाइन्छ ।
दक्षिणपूर्वी एसियाबाट वनस्पति फैलँदै अफ्रिकी देशहरूमा विरलै पुग्छन् । यसको एक उदाहरण काठमाडौंतिर व्यापक रूपमा रोपिने जापानिज पर्सिमोन जातिको वनस्पति लिन सक्छौँ । जापानिज पर्सिमोन वनस्पतिको ‘डायास्पिरोस’ जातिको वनस्पति हो । यो जातिको वनस्पतिको उद्विकास दक्षिणपूर्व एसियामा भएको मानिन्छ ।
यसको जीवाष्मा अफ्रिकामा पाइएको छ । यतैबाट यो वनस्पति केही लाख वा करोड वर्षअघि अफ्रिकामा पुगेको हुनुपर्छ । ‘प्यान्क्रेटियम’ जातिको वनस्पति दक्षिण अफ्रिका वा मेडिटेरियन क्षेत्र (दक्षिणी युरोप, उत्तरी अफ्रिका र पश्चिमी एसिया) मा उद्विकास भएको मानिन्छ । यो जातिको वनस्पति ३ देखि ५ करोड वर्षअघि उद्विकास भएको आकलन गरिएको छ ।
‘प्लेट टेक्टोनिक्स थ्योरी’ अनुसार यता, ५ करोड वर्षअघि दक्षिण एसियाली भूभाग दक्षिणबाट बग्दै तिब्बती भूभागसँग भर्खर जुधाजुध गर्न थालेको थियो । त्यसक्रममा हिमालय र महाभारत शृंखला उद्भव भए । यिनीहरू अग्ला भएको त डेढ/दुई करोड वर्षअघि मात्र हो ।
‘प्यान्क्रेटियम’ जातिका धेरैजसो प्रजाति बालुवा भएको केही चिसो र खुला वन क्षेत्रमा पाइँदो रहेछ । ‘प्यान्क्रेटियम ट्राइफ्लोरम’ चाहिँ सुनसरीको रामधुनी नगरपालिका–७ स्थित कुमारखत सामुदायिक वनको सखुवा मिश्रित वनमा थियो । त्यो कचरा खोलाको करिब ३० देखि ४० मिटर पश्चिममा थियो ।
सम्भवतः, त्यहाँ केही सय वर्षअघिसम्म त्यही खोला बग्थ्यो होला । हिजोआज रूख पातलिएको, झाडी पनि कम भएको ठाउँमा ५० वर्गमिटर क्षेत्रमा फाट्टफुट्ट उम्रिएका थिए । यसको आकर्षक फूल टाढैबाट देखिन्छ । फूलको आकार करिब १० सेन्टिमिटर व्यासको थियो । नजिक जाँदा यसबाट मनमोहक बास्ना निस्केको सहजै महसुस हुन्थ्यो ।
वनबाट बगैंचा
पृथ्वीमा अन्तिम हिमयुग करिब ११ हजार ५ सय वर्षअघि अन्त भयो । त्यसपछि वातावरण न्यानो बन्दै गयो । न्यानोले गर्दा वनस्पति राम्ररी बढ्न थाले । मानवले फिरन्ते जीवनशैलीबाट स्थायी बसोबास गर्न थाले ।
उनीहरूले सिकार र संकलनको जीवनशैली छोड्दै कृषि सुरू गरे । करिब एकै ताका पश्चिम एसियामा गहुँ, गेडागुडी, मध्य तथा दक्षिण अमेरिकामा मकै र चीनको याङ्जे नदी उपत्यका (युनान, सिचुवान) मा धान खेती सुरु भयो । इजिप्ट, मेसोपोटामिया, ग्रिस, रोम तथा चीनमा मानिसले करिब ८–१० हजार वर्ष पहिलेबाट औषधिजन्य वनस्पति रोप्न थाले ।
इजिप्टमै सबभन्दा पहिले जंगली फूललाई घरमा रोप्न थालिएको थियो । तिनै जंगली फूलहरू क्रमिक रूपमा घरपालुवा फूलका रूपमा परिवर्तित भए । गुम्बाहरूमा ५–१५औँ शताब्दीमा फूलहरू व्यापक रूपमा रोप्न थालियो । १६–१८औँ शताब्दीमा युरोपमा व्यापक रूपमा बगैंचाहरू स्थापना गरिए । त्यस क्रममा संसारभरका राम्रा फूल फुल्ने वनस्पतिहरू जंगलबाट बीउ संकलन गरी युरोप पु-याइयो । १९औँ शताब्दीदेखि फूलहरू घरघरमा रोप्न थालियो । तर पनि अझै दुर्लभ वनस्पतिहरू जंगलबाट बगैंचामा पु-याउने काम बाँकी छ ।
तीमध्ये ‘प्यान्क्रेटियम ट्राइफ्लोरम’ पनि एक हो । यो वनस्पति चिसोमा बाँच्न नसक्ने भएकाले युरोपियनहरूले यसप्रति ध्यान नदिएको हुनुपर्छ । यसको फूल ज्यादै मुलायम हुने भएकाले टिपेर फूलको गुच्छा बनाउन पनि सकिन्न । अर्को कुरा, जहाँ पाइन्छ यो वनस्पति, अत्यन्त थोरै भएकाले पनि फूल व्यवसायीहरूको नजरबाट बच्दै आएको हुनुपर्छ । तर, यसलाई फूलका रूपमा घरमा रोप्दा उपयुक्त हुन्छ । यसका निम्ति सर्वप्रथम यसको बीउ उत्पादनतर्फ ध्यान दिइनुपर्छ ।
अनुसन्धानकर्ताहरूले ‘प्यान्क्रेटियम’ जातिअन्तर्गत केही प्रजातिका वनस्पतिमा क्यान्सरविरोधी, भाइरसविरोधी र ब्याक्टेरियाविरोधी गुणहरू भएका ‘अल्कलोइड’हरू पाइएका छन् । ‘प्यान्क्रेटियम ट्राइफ्लोरम’मा पनि औषधीय गुण भएका ‘अल्कलोइड’ हरू पाइन सक्छ । ‘प्यान्क्रेटियम ट्राइफ्लोरम’ आजका दिनसम्म भारत र बंगलादेशमा मात्र पाइन्छ भन्ने जानकारी थियो ।
यो वनस्पति भारतमा फेला परेको १ सय ९३ वर्षपछि नेपालमा पनि पाइने पुष्टि भयो । अब यसको महत्व के कति छ, अध्ययन हुन जरूरी छ ।
कान्तिपुर दैनिक