Sunday, September 22, 2024

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ– नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाईँ गरेको छ ।  नवरात्रिको सातौँ दिन शनिबार फूलपातीको दिन सेनाको विशेष टोलीले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकाबीच फूलपाती बढाईँ गरेको हो ।

समारोहमा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले बढाइका विभिन्न कौशल प्रर्दशन गरेको थियो भने नेपाली सेनाको हेलिकप्टरद्धारा पुष्प वृष्टि तथा तोप बढाई पनि गरिएको थियो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए।

फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ । बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवरात्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।

ताजा समाचार

सम्बन्धित समाचार