डल्फिनको नेपाल बस्ने समय लम्बियो, कैलालीका नदीमा असोज अन्तिमसम्मै देखिने

धनगढी– मनसुसनसँगै नदीमा पानीको बहाव बढेपछि यो वर्ष असोज महिनाभर कैलालीका विभिन्न नदीमा डल्फिन देखिने भएको छ।

डल्फिन संरक्षण उपकेन्द्र बैदीका उपाध्यक्ष भोजराज ढुंगानाका अनुसार मोहना, पथरैया, काँढा र कान्द्रा नदीमा पानीको बहाव बढेकोले यो वर्ष असोज अन्तिमसम्म डल्फिन देख्न सकिने छ।

यो वर्ष मनसुन ढिला सक्रिय भएका कारण पनि नदीमा पानीको बहाव बढेकोले असोजसम्म डल्फिन देखिने उनले बताए।
गत वर्ष असार १७ गतेदेखि यी नदीमा डल्फिन देखिएको र असोज १६ गतेपछि डल्फिन देखिन छाडेको ढुंगाना बताउँछन्।
यो वर्ष असार २० गतेदेखि देखिएका डल्फिन असोज अन्तिमसम्म देखिने उनको अनुमान छ ।

‘यो वर्ष नदीमा पानीको बहाव बढेको छ। पानीको बहाव अझै राम्रो भए मोहना,पथरैया,काढाँ र कान्द्रामा डल्फिन असोजसम्म देखिने हाम्रो अनुमान छ,’उनले भने।

मोहना, पथरैया, काढाँ र कान्द्रामा पानीको बहाव घट्दै जान थालेपछि डल्फिन र उनका बच्चाहरू कर्णाली नदी हुँदै भारतको घाघरा नदी तर्फ जाने ढुंगानाले बताए।

‘डल्फिनले आफ्ना बच्चा आफूसँगै ल्याउने गर्छ र कैलालीका नदीमाहरूमा हुर्काउने गर्छ। बच्चा जन्मिदा सात किलोको हुन्छ भने अब फर्किदा १५ देखि १६ किलोको हुन्छ,’उनले भने।

त्यस्तै यो वर्ष कर्णाली नदी तथा यसका सहायक नदीमा ४५ वटा डल्फिन देखिएका छन्। कर्णाली,मोहना, पथरैया काँढा नदीमा १२ वटा डल्फिनका बच्चासहित ४५ डल्फिनको गणना गरिएको हो।

गत वर्ष त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मुकेशकुमार चालिसेसहितको टोलीले डल्फिनको गणना गर्दा मोहना, काँढा, कान्द्रा र पथरैयाका विभिन्न स्थानमा १२ वटा डल्फिनका बच्चासहित ५० देखि ५४ वटा डल्फिन देखिएका थिए।

त्यस्तै प्राध्यापक डा.चालिसेसहितको टोलीले २०७२ मा पनि डल्फिनको गणना गरेको थियो। गणना गर्दा मोहना, काँढा, कान्द्रा र पथरैयाका विभिन्न स्थानमा ६२ देखि ८० वटा डल्फिन देखिएका थिए।

राष्ट्रिय संरक्षण कोष बर्दियामा कार्यरत डा. शान्तराज ज्ञवालीको नेतृत्वमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन गोपालप्रसाद उपाध्याय र सेनाका मेजर बाबुकृष्ण कार्कीसहितको टोलीले २०५८ सालमा कर्णाली नदीमा डल्फिन रहेको पत्ता लगाएका थिए।

कैलालीमा डल्फिन संरक्षणका लागि करिब दुई दशकदेखि स्थानीय स्तरबाट प्रयास भइरहेको छ। कान्द्रा, पथरैया, काँडा र मोहना नदीमा जल सतह बढेका बेला देखिने डल्फिनको संरक्षणका लागि विगत चार वर्षदेखि यहाँका संरक्षणकर्मी र स्थानीय सरकारले डल्फिन महोत्सव समेत गर्दै आएको छ।

प्रत्येक वर्ष बर्खायाममा कर्णाली, मोहना, काँडा, कान्द्रा र पथरैया नदीमा ग्याँगेटिक प्रजातिका डल्फिन देखिने गरेको छ।
डल्फिन संरक्षण उपकेन्द्रका उपाध्यक्ष ढुंगानाका उनका अनुसार मोहना, काँढा, कान्द्रा र पथरैया नदीमा बर्खायाममा मात्र देखिने डल्फिन कर्णाली र भारतको घाँघरा नदीका हुन्।

नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने गंगेटिक प्रजातिका डल्फिन सफा पानीमा बस्न रुचाउँछन्। डल्फिन पृथ्वीमा रहेका केही धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। उसको सधैँ खुसी रहने बानी र मानिससँगको मित्रवत व्यवहारले यो मानिसको प्रिय जीवको रूपमा परिचित छ।

गङ्गा नदीमा पाइने डल्फिनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ। डल्फिनलाई नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीको अनुसूचीमा समावेश गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार