काठमाडौँ– ‘सरसफाइ गुरु योजना २०६८’ अनुसार काम भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सोमबारदेखि खुला दिसामुक्त राष्ट्र घोषणा गरेका छन्।
तर, त्यसका लागि पर्याप्त पूर्वाधारको निर्माण नभइसकेकाले कार्यान्वयन हुनेमा सरोकारवालाले आशंका व्यक्त गरेका छन्। पानीको अभाव, शौचालयको मर्मत नहुनु र मानिसको व्यवहार परिवर्तन लगायतका कारणले विशेषगरी दक्षिण एसियाली मुलुकहरूमा यसको व्यवहारिक कार्यान्वयन हुन नसकेको विभिन्न अध्ययनले औँल्याएका छन्।

उदाहरणको लागि केही दिन अगाडि छिमेकी राष्ट्र भारतकाे मध्यप्रदेशमा भएको एक दुःखद् घटनालाई लिन सकिन्छ । जहाँ खुला ठाउँमा दिसा गरेको आरोपमा दुई दलित बालबालिकालाई लट्ठीले हानेर हत्या गरिएको थियो। आफ्नो घरमा शौचालय निर्माण गर्ने पैसा नभएका कारण सार्वजनिक स्थानमा नै आफ्ना बालबालिका शौचालय जान बाध्य भएको उनीहरूका अभिभावकले जानकारी दिएका थिए। यसको मुख्य आधारको रुपमा सरकारले प्रत्येक घरमा शौचालय निर्माण र त्यसको प्रयोगलाई लिएको छ।
तर, अझै पनि काठमाडौँ बाहिरका विकट स्थानहरूमा शौचालय निर्माण नगर्नेहरूको संख्या ठूलो छ । विशेषतः पूर्ण रुपमा प्रयोग गर्न सकिने शौचालयहरू निर्माण कार्य निकै कठिन छ। यति मात्र होइन् पहाडी जिल्लाहरूमा पछिल्लो समयमा पानीको ठूलो संकट रहेको छ । काठमाडौँ उपत्यकालाई नै खुला दिसामुक्त बनाउने काम आफैँमा निकै कठिन कार्य हो। काठमाडौँमा एकदमै थोरै ठाउँमा मात्र सार्वजनिक शौचालय रहेका छन्। भएकामा पनि सफाइ र पर्याप्त पानी छैन् । यदि शौचालय सफा छैन र पर्याप्त पानी छैन् भने कसैले पनि प्रयोग गदैनन्।
शौचालयका लागि कुनै रेष्टुरेन्ट अथवा कुनै कार्यालयलाई अनुरोध गर्नुपर्ने अवस्था रहेको छ। कतिपय खुला स्थान दिसा पिसाबले दुर्गन्धित देखिन्छ । यस्तो अवस्थामा काठमाडौँ पुरै खुला दिसामुक्त भयो भन्नु कत्तिको उपयुक्त हो ?
घरमा शौचालय निर्माण नै गरेपनि पानीको अभावमा शौचालयमा नगरी खुला स्थानमा दिसा गर्नेहरूको ठूलो संख्या रहेको छ। यति मात्र होइन्, ग्रामीण भेगका धेरै सरकारी कार्यालय र विद्यालयहरूको अवस्था पनि यही रहेको छ। कि शौचालय छैन, शौचालय भएपनि त्यसको प्रयोगमा विभिन्न समस्याहरू छन्। त्यसैले नारामा निकै आकर्षक र दक्षिण एसियामा नै नेतृत्व लिएपनि यसको कार्यान्वयन निकै जटिल रहेको छ। अझ यसले थप समस्याहरू ल्याउने देखिन्छ । खुला दिसामुक्त घोषणा भएपछि शौचालय निर्माणमा सरोकारवाला निकायहरूको ध्यान नजान सक्छ।
हाकाहाकीसँग कुरा गर्दै खानेपानि मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले पूर्ण सरसफाईको पहिलो चरणमा नेपालका सबै जिल्लाको प्रत्येक घरमा शौचालय निर्माण भएको दाबी गरे । उनका अनुसार नेपालको ७७ जिल्लाको प्रत्येक घरमा शौचालय छ । वि.सं २०६८ सालमा सरकारले यो अभियान शुरु गरेको थियो र अहिले सम्मको प्रगति उत्साजनक छ ।
‘पूर्ण सरसफाइको लागि सूचकहरू धेरै छन्, शतप्रतिशत नै खुल्ला दिसा मुक्त त हुँदैन तर शुरुवात भएको छ अब कार्यान्वयन पनि गर्छौँ हुन्छ,’ उनले भने । यस अभियानले वतावरणलाई स्वच्छ र सफा राख्न मद्दत गर्ने अपेक्षा मन्त्रालयले लिएको छ । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने सरकारको योजना छ ।
मन्त्रालयका अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरमा शौचालयहरू बनिसकेका छन् । यसर्थ सरकारको अनुसार अहिले नेपालका करिब सबै घरधुरीहरूमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ।
कति बने शौचालय ?
२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन गर्यो । नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ।
समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २ सय ७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन्।
त्यस्तै प्रदेश ३ मा १६ लाख २२ हजार १ सय ९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २ सय १०, प्रदेश ५ मा ७ लाख ९३ हजार ९ सय ९०, कर्णाली प्रदेशमा ३ लाख ७ हजार ९ सय ६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन्।
नेपाल सरकारले २०६८ मा सरसफाइ गुरु योजना बनाउँदा करिब ५७ प्रतिशत जनता चर्पीको आधारभूत सुविधाबाट टाढा रहेका थिए। सरसफाइ सम्बन्धी दक्षिण एशियाली सम्मेलनका माध्यमबाट नेपालले सरसफाइ गुरु योजना बनाउने दृढ प्रतिबद्धता जनाएको थियो।
सरकारले गुरु योजना अन्तर्गत पूर्ण सरसफाइको पहिलो चरणमा खुल्ला दिसामुक्त अवस्था र दोश्रो चरणमा खुला दिसा मुक्त पछिको पूर्ण सरसफाइ युक्त अवस्था भनेर परिभाषित गरेको छ। सरकारबाट भूकम्प पीडितहरूको लागि दिइएको राहतको अनुदान प्राप्त गर्न अनिवार्य रुपमा ‘एक घर एक शौचालय’को निर्माण गरिनुपर्ने नीतिले गर्दा पनि जनाताले शौचालय बनाएका छन्। सरसफाइ गुरु योजना २०६८मा शौचालयमा पानीको सुविधा, शौचपछि साबुनपानीले हात धुनु पर्ने, घरवरपर सफा राखिनुपर्ने लगायतका बुँदाहरू छन्।
तर, देशको अधिकांश क्षेत्रहरूमा पानीको स्रोत सुक्ने क्रम बढेकाले अभियानमा असहजता भएको छ। खुला दिसा मुक्त अभियानसँगै पानीमा पहुँच अभियान, सार्वजनिक स्थल वा शौचालय बाहिर दिसा गर्ने जो कोहीलाई पनि कारबाही गरी दण्डित गर्ने र सूचना दिनेलाई पुरस्कृत गर्ने नीतिलाई कार्यान्वनमा ल्याउनु पर्ने आवाज उठिरहेका छन्।








