मध्यप्रदेश(भारत) – भारतको मध्यप्रदेशमा खुला ठाउँमा दिसा गरेको आरोपमा दुई दलित बालबालिकालाई लट्ठीले हानेर हत्या गरिएको छ । हत्याको आरोपमा प्रहरीेले दुई व्यक्तिलाई पक्राउ गरेको छ।
१२ वर्षकी रोश्नी र १० वर्षका अभिनाशले गाउँको एक ठाउँमा दिसा गरिरहेको समयमा माथिल्लो जातका भनिने दुई व्यक्तिले लट्ठीले हानेका थिए । ति बालकका आफन्तले उनीहरूको घरमा शौचालय नभएको जानकारी बीबीसीलाई दिएका छन्।
अहिले पनि भारतका लाखौँ मानिसले खुल्ला ठाउँमा नै दिसा गर्ने गर्दछन् जसले गर्दा महिला र वालबालिका एकदमै जोखिममा रहेका छन् । दलितमाथिको विभेद भारतका कतिपय स्थानमा अहिले पनि रहेको छ।
‘दुई वच्चालाई लट्ठीले हानेर मारिएको छ,’ प्रहरी अधिकृत राजेश चन्डलले बीबीसीसँग भनेका छन,‘आरोपित दुवैलाई हत्याको मुद्दा दर्ता गरिएको छ र उनीसँग वयान लिने काम भइरहेको छ। बुधबार बिहान प्रहरीले उच्च जातका रामेश्वर यादव र हाकीम यादवलाई हत्याको आरोपमा गिरफ्तार गरेको थियो। रोश्नीलाई अभिनाशका आमा बुबाले हुर्काएका हुन र उनीहरू दुवै सँगै बस्दथे । अविनाशका बाबु दैनिक ज्यालादारीमा काम गर्ने गर्छन् र घरमा शौचालय बनाउन उनीसँग पर्याप्त पैसा थिएन।
सरकारले शौचालय बनाउनको लागि केही अनुदान दिने भएपनि आफूले सो नपाएको उनले बताएका छन्। भारतीय प्रधानमन्त्रीको स्वच्छ भारत अभियानले खुला दिसामुक्त अन्त्य गर्ने भन्दै देशभर शौचालय निर्माणको कार्यलाई अगाडि बढाएको छ। सन् २०१४ मा शुरु भएको यो अभियान सन् २०१९ मा पूर्ण रुपमा खुला दिसामुक्त वनाउने सरकारको तयारी छ।
यो गाउँलाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ तर व्यवहारमा लागु भएको छैन्। विभिन्न अध्ययनले पानीको अभाव, मर्मत नहुनु र मानिसको व्यवहार परिवर्तन हुन नसक्नुले वास्तविक रुपमा खुला दिसामुक्त क्षेत्र घोषणामा व्यवाहारिक कठिनाई उत्पन्न भएको छ।





