पाँचथर – खानेपानी समस्याले आक्रान्त पारेपछि बढेकाे यासोक क्षेत्रका बासिन्दाकाे बसाइसराइ तमोर लिफ्ट खानेपानी आयोजनाका कारण रोकिएको छ।
आयोजनाको काम अन्तिम चरणमा पुगे पछि सो क्षेत्रबाट बसाइ हिड्ने क्रम यो वर्ष ठप्प भएको छ। पाँचथरको सुक्खा क्षेत्रको रुपमा रहेको कुम्मायक गाउँपालिकाको अधिकांश क्षेत्रमा खानेपानीको अभाव भए पछि बसाई सर्नेकोे संख्या ५ सय भन्दा बढी छ। खानेपानी अभावले काकाकुल बनेका कुम्मायक क्षेत्रका स्थानीयबासीहरू तमोर लिफ्ट खानेपानी आयोजना सम्पन्न हुन लागे पछि निकै उत्साही भएका छन्।
तमोर नदीको पानीलाई ६ किलोमिटर माथिको डाँडामा मोटरले तानेर पाइप मार्फत वितरण गर्ने गरी २०७३ साल देखि शुरु गरिएको सो खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। ‘तमोर लिफ्ट खानेपानी आयोजनाको काम ९५ प्रतिशत पुरा भयो । अब तिहार सम्ममा पानी खसाल्ने प्रयत्नमा हामी छौं,’ निर्माण कम्पनीका इन्जिनियर राजाराम मण्डलले भने, ‘पानीको मुहान देखि जम्मा ६ वटा स्टेशन पार गरेर अन्तिम रिर्जभ ट्याङकीमा पुग्छ त्यस पछि हामी अन्य ट्याङकी मार्फत विभिन्न क्षेत्रमा पानी पठाउँछौं । मुहान देखि चौथो स्टेशन सम्मको टेष्ट सफल्ता पूर्वक सम्पन्न भयो । अब दुई वटा स्टेशनको टेष्ट गर्छौ अनि २ लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङकीमा पानी खसालेर शाखाहरूमा पठाउँछौं।’
३ हजार ४३ घर परिवारलाई खानेपानीको सेवा पुर्याउने सो आयोजनाको लागत ५२ करोड रहेको छ । २०७५ माघमा सम्पन्न हुनु पर्ने सो आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा थुप्रै स्थानीयबासीले गाउँ छाडे।
‘पानीको अभावले गाउँ छाड्नेको संख्या बढ्दै जाँदा अधिकांश गाउँको खेतबारी बाँझिएको तथा गाउँमा पशुपालन र कृषि पेशामा पूर्णबिराम लागेको कुम्मायक ६ स्याबरुम्बाका दुर्गा बम्जन बताउँछन् । खानेपानीको अभाव भए पछि १ न प्रदेश सरकारले डीपबोरिङ खानेपानी आयोजना सञ्चालन गर्न १ करोड रकम उपलब्ध गराएको थियो । उक्त बजेटले सो क्षेत्रको ५ ठाउँमा डीपबोरिङ खानेपानी आयोजना सञ्चालन गरे पनि हाल २ ठाउँमा मात्र डिपबोरिङ सञ्चालनमा रहेको सञ्चालन समितिका संयोजक अमरसिंह थापाको भनाइ छ।
उक्त आयोजना गत माघ महिनामा नै सम्पन्न हुनुपर्ने भए पनि पानी तान्ने पम्प निर्माण समितिले समयमा उपलब्ध गराउन नसक्दा ढिलो भएको निर्माणको जिम्मा पाएको प्रेरा स्वामीनारायण कन्काइ जेभी बताउँछ।
‘विगत १० वर्ष अघि देखि खानेपानीको अभाव भोगिरहेका स्थानीय तमोर लिफ्ट आयोजना निर्धारित समयमा सम्पन्न नहुँदा निराश थिए’ तिल्केनी आधारभूत विद्यालयका कुम्मायक ४ रानीगाउँका शिक्षक बलराम फुयाँल भन्छन्, ‘अब भने अलि अलि आशा पलाएको छ हेरौं हाम्रो तिर्खा कहिले देखि मेटिन्ने हो।’
खानेपानीको अभावका कारण सबभन्दा बढी समस्या होटल व्यवसायमा रहेको छ। ट्याङकरले बोकेको पानी प्रति महिनामा ३ हजार रुपैंयामा किनेर होटल चलाउनु परेको कुम्मायक १ यासोक बजार स्थित होसन्ना होटलका सञ्चालक सूर्यकुमारी नेम्बाङ बताउँछिन। ‘तमोर लिफ्ट खानेपानी आयोजना २ वर्षमा पूरा हुन्छ भनेर छ हजार ५ सय प्रति परिवार चन्दा समेत दिएका छौं,’ उनले भनिन्, ‘गरिब परिवारले पनि ऋण खोजेर खानेपानीको लागि पैसा जम्मा गरेका छन्। अझ सम्म पानी आउने आशामा छौं हाम्रो आशा निराशामा परिणत नहोस पानी चाँडो खान पाइयोस।’
ढिलै भएपनि तमोरको पानी आउने भएपछि स्थानीय हर्षित भएका छन्।‘आयोजनाको काम अब भने अन्तिम चरणमा पुगेको छ। कुम्मायक भरिका जनताहरूमा आशा पलाएको छ अब चाहि पानी आउने भो त्यो दिनको पर्खाइमा छौं, अब महिलाहरूले दुख गरेर पानी बोक्ने दिनको अन्त हुने भो,’ कुम्मायक गाउँपालिकाका उपाध्यक्ष सिता आचार्यले भनिन्।
उक्त आयोजना कुम्मायकका जनताका लागि गौरबको आयोजना भएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष मेघराज निरौलाको धारणा छ।





