उत्कृष्ट गन्तव्य, पर्यटक चाहिँ न्यून

स्पेनको बार्सिलोना शहर दुई कुराले संसारभरि प्रसिद्ध छ, पहिलो फुटबल क्लबको नामले, दोस्रो उक्त शहरका रोमन शैलीका भव्य वास्तुकलायुक्त भवनहरूले। त्यहाँ त्यति फराकिला सडक छैनन् । तर बार्सिलोना शहरका साँघुरा सडक तथा गल्ली वरपर असङ्ख्य कलात्मक रोमन शैलीका भवन तथा गिर्जाघरहरूको अवलोकनबाट पर्यटकहरू मन्त्रमुग्ध हुन पुग्छन्। त्यसैगरी इटालीको राजधानी रोम पनि पर्यटकमाझ निकै लोकप्रिय छ। यो शहर पनि ऐतिहासिक तथा पुरातात्विक दरबारहरू तथा क्यासलहरूले भरिएको छ। न्युयोर्क टाइम्स (सन् २०१८) का अनुसार रोममा मात्र प्रतिवर्ष १ करोड ४० लाख पर्यटकले भ्रमण गर्ने गरेका छन्।

लेखक : पूर्णहरि अमात्य

इटालीको तुलनामा काठमाडौँ उपत्यकामा संस्कृति, प्राकृतिक सौन्दर्यता र सफ्ट एड्भेन्चरका लागि अनेकौँ गन्तव्यहरू छन्। सम्पूर्ण नेपालको कुरा छाडौँ। तर पनि पर्यटक आगमन अपेक्षित सङ्ख्यामा किन हुन सकेन भनेर गम्भीरता पूर्वक विचार गर्नु अत्यावश्यक छ। नेपाल आउन एयरफेयर महँगो भएको पर्यटन व्यवसायीहरू बताउँछन्। केही विदेशी एयरलाइन्सको नेपालमा एकाधिकार (मनोपोली) छ। यो पङ्क्तिकारले काठमाण्डौँस्थित चाइना एयरका म्यानेजरलाई केही वर्षअघि चीनबाट नेपालका लागि हवाई भाडा किन यति महँगो भनि जिज्ञासा राख्दा हाँस्दै प्रतिस्पर्धा नभएकोले होला भन्ने उत्तर दिए। त्यस्तै तत्कालीन पर्यटन मन्त्री शरतसिंह भण्डारीले लण्डनभन्दा ल्हासा (तिब्बत) को एयर फेयर महँगो छ भनेर सार्वजनिक रूपमै त्यसै भनेका होइन रहेछन्।

केही सयम अघिसम्म नेपाल एयरलाइन्ससित जहाज नै छैन भनेर उधुम रोइलो गरिन्थ्यो। तर हाल न्यारो बडी र वाइड बडी गरी चारवटा एयरबस छन्। तापनि खोइ पर्यटक आगमन आशातित रूपमा बढ्न सकेको ? १५–१६ घण्टा उडान गर्नुपर्ने जहाज ६–७ घण्टामा सीमिति छ। दक्षिणको छिमेकी भारतमा समेत नेपाल एयरलाइन्सले पर्याप्त संख्यामा उडान गर्न नसकेको पर्यटन व्यवसायीहरूको गुनासो छ। भारतका विभिन्न शहरबाट जेट एयरलाइन्सको काठमाडौँ उडान बन्द भएपछि नेपाल एयरलाइन्सले त्यसको लाभ लिन नसकेको सम्बधित व्यत्तिहरू भन्छन्। अर्कोतर्फ उत्तरको छिमेकी चीनबाट पाँचवटा एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन्। तर हाम्रो नेपाल एयरलाइन्स तथा नीजि एयरलाइन्सले अझसम्म चीनतर्फ उडान गर्न पाएका छैनन्। दुई मुलुकबीच मित्रताको गाथा गाएर भएन। तत्काल नेपालका एयरलाइन्सहरूले चीनका विभिन्न शहरमा उडान गर्न नेपालले गम्भीरता पूर्वक पहल गर्नुप-यो।

त्यसैगरी पर्यटन उद्गमस्थल बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया तथा अमेरिकामा नेपाल एयरलाइन्सले जति सक्यो छिटो आफ्नो उडान सेवा प्रारम्भ गर्नु अत्यवश्यक छ। नेपाल एयरलाइन्स व्यवस्थापन असक्षम छ भन्ने कुराको पुष्टि जापानको उडानले साबित गरिसकेको छ। चारवटा नयाँ जहाज हुँदा पनि पर्याप्त उडान गर्न सकेको छैन। ७० को दशकको प्रारम्भमा तत्कालीन शाही नेपाल वायुसेवा निगमलाई इउर फ्रान्सको सहकार्य भएकोले नै दुईवटा बोइङ विमान ल्याउन सम्भव भएको थियो । यो पङ्क्तिकारसित केही वर्षअघि नेपाल एयरलाइन्सका क्याप्टेन वाइ.पि. भट्टराईले दुबईमा अन्य एयरलाइन्सका मित्रहरूले नेपाल गरिब छ, भनेको सुनेका थिए, तर तपाईँहरूले बोइङ कसरी खरिद गर्न सक्नु भयो ? भन्दा गर्वले छाती फूलेको स्मरण गर्दछन् उनी।

युरोपको प्रसिद्ध जर्मन एयरलाइन्सले नेपाल एयरलाइन्ससित राजनैतिक साझेदारी (स्ट्राटेजिक पार्टनर) बन्न दिवङ्गत पर्यटन मन्त्री रविन्द्र अधिकारीको कार्यकालमा लिखित प्रस्ताव पेस गरिसक्दा पनि त्यसतर्फ पर्यटन मन्त्रालयले तदारुकता देखाएको छैन । ओलीको कार्यकालमा पर्यटन सचिव तीनजना परिवर्तन भइसकेका छन् । अझ कति हुने हुन् थाहा छैन । प्रधानमन्त्री ओलीले केही समयअघि फ्रान्स र बेलायतको भ्रमण गर्दा नेपाल एयरलाइन्सलाई कालो सुचीबाट हटाउन पहल गरेका थिए । तर हालसम्म कार्यान्वयन हुन सकेको छैन । चिनियाँ दबाबमा त्यहाँको विमान नेपाल एयरलाइन्सले खरिद गरेपछि युरोपियनहरू रिसाए होला । बेलायत र फ्रान्स नेपालका पुराना मित्र राष्ट्र हुन् तर नेपाली एयरलाइन्सले त्यहाँ उडान गर्न नपाउनुमा हाम्रो कुटनीति कमजोर रहेछ भन्ने कुरा साबित गर्दछ ।

एयर कनेक्टिभिटी पछि पर्यटकीय गन्तव्यहरूमा सुदृढ सडक सञ्जाल हुनु अनिवार्य हुन्छ । काठमाडौँ पछि पोखरा पनि एउटा प्रमुख पर्यटकीय गन्तव्य हो । पोखरा काठमाडौँबाट मात्र २०० कि.मि. छ । तर त्यहाँ गाडीबाट पुग्न कम्तिमा ५ घण्टा लाग्छ, त्यो पनि नागढुङ्गाको पट्यार लाग्दो जाम कुर्नु नपर्ने हो भने । विश्व सम्पदामा सुचीकृत बौद्ध जाने बाटो यो वर्षातमा त भैँसीको आहालझैँ हुन्छ भने अन्य समयमा धुलोले कुइरीमण्डल । त्यसैगरी काठमाडौँ नजिकको रमणीय स्थल नगरकोटको बाटो पनि बेहाल छ । अर्को विश्व सम्पदामा सूचीकृत चाँगुनारायण पुग्ने सडक फराकिलो गर्ने कार्य वर्षौँदेखि निर्माणाधीन अवस्थामा लाथालिङ्ग छ । राजधानी वरपर यस्तो दयनीय अवस्था छ भने अन्यत्रको के हालत होला ? पर्यटकीय गन्तव्यहरूमा गतिलो पूर्वाधारको अभावले नेपालको छवि विश्वसामु धमिलिएको छ ।

सबै नहोलान्, तर विदेशी भनेपछि उसलाई नेपालको बारेमा ज्ञान छैन, त्यसलाई मुर्गा बनाउनु पर्छ भन्ने आम धारणा हामीमा छ । त्यसैले केही महिनापछि पर्यटन वर्ष २०२० को अवसर पारेर विशेष गरी पर्यटन व्यवसाय, उद्योगसित प्रत्यक्ष सम्पर्कमा रहने समुदायलाई शिष्टाचार, आतिथ्य, भाषा तथा उच्चकोटिको स्वागत सम्मान कसरी गर्ने भन्ने विषयमा एउटा कोर्ष सञ्चालन गर्नु उपयुक्त हुनेछ । फ्रान्समा ट्याक्सी ड्राइभरलाई शिष्टाचार बारे सिकाइँदा अरबी महिलासित ह्याण्डसेक नगर्नु र चिनियाँहरू छन् भने उनीहरूको मञ्जुरी बेगर लगेज नछुनु भन्ने स्मरण गराइएको थियो । नेपालमा भेटघाट हुनासाथ राजनीतिका कुरा गर्ने चलन छ । त्यो पनि गलत कुरा हो । सबैको एउटै राजैतिक विचार हुँदैन । यो पङ्क्तिकारले सम्पादक समाजको निमन्त्रणामा नेपाल भ्रमणमा आएका तीन चिनीयाँ पत्रकारसित सँगै भ्रमण गर्दा राजनीतिको ‘र’ उच्चारण गरेनन् र हामी पनि चीन भ्रमणमा रहँदा राजनीतिकबाहेक सबै विषयमा कुरा हुने गथ्र्यौँ । स्मरण रहोस् नेपाल भ्रमण वर्ष १९९८ ताका शिष्टाचार विषयमा आम नागरिकलाई सूचित गर्न लौ न केही गरौँ न, भन्ने पत्रिका नै छापिएको थियो । यी कुरा सामान्य लाग्दछन्, तर जसको ठूलो मनोवैज्ञानिक प्रभाव हुन्छ भन्ने कुरा न बिर्सौँ ।

नेपालमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन राष्ट्रिय अभियान नै सञ्चालनमा ल्याइएको छ । तर स्पेनको मार्लोका द्विप (आइल्याण्ड) को पालमा पर्यटकीय केन्द्रका भित्ताहरूमा ‘टुरिष्ट गो होम’ को नाराले पोतिएका छन् । स्थानीयहरूको आरोप छ, पर्यटनले हाम्रो शहरलाई बर्बाद गरिरहेछन् । त्यहाँको ८० प्रतिशत अर्थतन्त्र पर्यटनमा निर्भर छ । तर बढ्दो पर्यटकको घुइँचोले स्थानीय आक्रान्त छन् । (ए.एफ.पी., ७ जुलाई २०१६) स्मरण रहोस्, स्पेन संसारको एक लोकप्रिय पर्यटकीय गन्तव्य हो र म्याड्रिड (स्पेनको राजधानी) मा विश्व पर्यटन संगठनको मुख्यालय रहेको छ ।

हङ्कङ जस्तो टापुमा सन् २०१८ मा ३ करोडले भ्रमण गरेको तथ्याङ्क छ । जबकि त्यहाँ कुनै प्राकृतिक सौन्दर्यता, साँस्कृतिक सम्पदा छैनन् । तर त्यहाँ एयरकनेक्टिभिटी, सडक सञ्जाल (मेन ल्याण्ड चीनसित), शपिङ र नाइटलाइफको मज्जा लिन पर्यटकहरू ओइरिन्छन् । तर हामीसित विश्वको सर्वोच्च शिखर सगरमाथा (आइकन), मनै लोभ्याउने अद्भूत प्राकृतिक सौन्दर्यता, साँस्कृतिक विविधताका साथै जैविक विविधतामा समृद्ध हुँदा पनि २० लाख पर्यटक भित्र्याउने सपना पुरा हुने हो कि, नहुने हो ठेगान छैन । अतः पर्यटक आगमन बढाउन सरकारले आम जनातासँग हातेमालो गरेर अगाडि बढ्नु अनिवार्य देखिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार