चाडपर्वमा किन बढी हुन्छ सडक दुर्घटना ? यसरी गर्न सकिन्छ न्यूनीकरण

काठमाडौँ – नेपालमा बर्सेनी सवारी दुर्घटनाबाट हजारौँले ज्यान गुमाउँछन्। अझ चाडपर्वको समयमा बढी दुर्घटना हुने गर्दछ। विशेषतः दशैँ, तिहारजस्ता ठूला चाडपर्वमा हुने दुर्घटनाले ठूलै मानवीय क्षति पुर्‍याइरहेको छ।
हरेक वर्ष दशैँ, तिहारजस्ता चाडपर्वमा ठूलो मात्रामा जनधनको क्षति हुनेगरेको छ। तैपनि दुर्घटनामा भने कमी आएको छैन। यसरी दुर्घटना बढ्दै जाँदा दशैँ, तिहार, छठलगायतका चाड मनाउन उपत्यकाबाट बाहिरिने यात्रु कतै केही हुने पो हो कि? भन्ने त्रासमा यात्रा गर्न बाध्य छन्।

किन हुन्छ चाडपर्वमा बढी दुर्घटना ?
ट्राफिक प्रवक्ता एसपी रविकुमार पौडेलका अनुसार चाडपर्वमा बढी दुर्घटना हुनुको मुख्य कारण जनचेतनाको कमी हो । सार्वजनिक तथा निजी सवारी चालकमा चेतनाको कमी हुनुका साथै ‘ओभर कम्फिडेन्ट’ले गर्दा दुर्घटना बढ्ने गरेको उनको भनाई छ।

यो बाहेक तीव्र गति, मादक पदार्थ सेवन, थकान, प्राविधिक तथा यान्त्रिक समस्या, क्षमताभन्दा बढी यात्रु चढाउनु, अनावश्यक प्रतिश्पर्धालगायतका कारणले दुर्घटनालाई बढवा दिएको एसपी पौडेलको धारणा छ । ‘दशैँ तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरू बढी भेटिन्छन्, उनले भने, ‘हामी नेपाली बढी जान्ने हुन खोज्छौँ, दुर्घटना नभएसम्म संयमता अपनाउँदैनौँ त्यसकारण पनि दुर्घटना बढिरहेको छ।’

उनका अनुसार विशेषगरी चाडपर्वमा सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतार हुने हुँदा पनि तीव्र गतिका कारण दुर्घटना हुने गर्दछ । सार्वजनिक सवारी चालकले जति चाँडो गन्तव्यमा पुग्यो त्यति नै मात्रामा पैसा कमाउने लोभमा तीव्र गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाइ दुर्घटना भइरहेको छ।

उनको जस्तै धारणा छ, ट्राफिक इन्जिनियर आशिष गजुरेलको पनि । सवारी चालक तथा यात्रु अनुशासित नहुँदा बर्सेनी सवारी दुर्घटना बढिरहेको गजुरेल बताउँछन्। ‘कतिपय लामो यात्राका क्रममा सवारी चालकले केही समय आराम गर्छु भन्दा यात्रुहरूले कराउनुका साथै छिटो गन्तव्यमा पुर्‍याउन दबाब दिइरहेका हुन्छन्,’उनले भने, ‘चालक र यात्रुले सवारी सुरक्षालाई प्राथमिकता नदिँदा दुर्घटना बढिरहेको छ।’

यसका साथै इन्जिनियरिङ मापदण्ड विपरीत बनेका सडकहरू पनि दुर्घटनाको मुख्य कारण भएको उनको भनाइ छ। स्थानीय निकायले आफूखुसी इन्जिनियरिङ मापदण्ड विपरीत सडक खन्दा त्यस्ता सडकमा बढी दुर्घटना भइरहेको उनले बताए।

उनका अनुसार विशेषगरी दशैँ, तिहारजस्ता चाडमा क्षमताभन्दा बढी यात्रु सवार हुनु, पैसा कमाउने लोभमा चालकले आराम नगरी सवारी चलाउनु, हतार गर्नु, सडक तथा सवारी नियम पालना नगर्नु लगायतका कारणले बढी दुर्घटना हुने गर्दछ।

कसरी कम गर्ने सवारी दुर्घटना ?
बर्सेनी भइरहेको सवारी दुर्घटना न्यूनीकरण गर्न पहिला सरकार तथा सम्बन्धित निकाय सचेत हुनुपर्ने ट्राफिक प्रवक्ता पौडेल बताउँछन् । यसका साथै रातिको लागि विशेष ट्राफिक सङ्केत बोर्डहरू राख्ने, सवारी साधनको अवस्थाको जाँच गर्र्नेे, सवारी क्षमताअनुसार सञ्चालन अनुमति दिने, सडकको प्राविधिक परीक्षण नगरी सवारी सञ्चालनको अनुमति नदिने, सवारी साधनको प्रकार हेरेर सोअनुरूपको रुट तोकिदिने गरिएमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

दुई पाङ्ग्रे सवारी तथा पैदल यात्रीका लागि छुट्टै सडक लेन बनाउने, सडकलाई मापदण्डअनुसार व्यवस्थित गर्ने, यात्रुहरूमा जनचेतना फैलाउने, ठाउँ ठाउँमा सवारी दुर्घटनाको विषयमा जानकारी दिन केन्द्र स्थापना गर्ने, प्रत्येक जिल्लाका ट्राफिक प्रहरी तथा अन्य प्रहरीले सवारी सुरक्षालाई मध्यनजर गर्दै चेकजाँच बढाउने लगायतका उपाय अपनाएमा चाडपर्वमा मात्रै नभएर अन्य समयमा हुने दुर्घटना पनि कम गर्न सकिने उनको धारणा छ।

त्यसैगरी ट्राफिक इन्जिनियर गजुरेल पहाडी क्षेत्रका साँघुरा तथा कच्ची सडकमा ठूला तथा लामा सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्ने बताउँछन्। सडक निर्माण गर्दा इन्जिनियरिङ मापदण्डअनुसार मात्र बनाउने, सडक विस्तार कार्य तीव्र बनाउँदै सडकलाई बलियो र फराकिलो बनाए सवारी दुर्घटनालाई केही हदसम्म भए पनि कम गर्न सकिने उनले बताए।

तर, ग्रामीण भेगका सडकमा ट्राफिक प्रहरीको उपस्थिति हुँदैन जसका कारण सडक अनुशासनको पालना भएको छैन। उनका अनुसार दशैँ तथा तिहारजस्ता चाडमा मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, सडक प्रयोगकर्ता अनुशासित हुने र चालकले जिम्मेवारी बोध गर्ने हो भने दुर्घटना हुनबाट बच्न सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार