काठमाडौँ– सडक बीचमा ठूल्ठूला खाल्डा, खाल्डामा जमेको पानी, अनि हिलो, सडक मर्मतका लागि किनारामा थुपारिएका निर्माण सामग्री उस्तै असरल्ल।
काभ्रे जिल्लाको पनौती–खोपासी सडकखण्डमा शनिबार देखिएको दृश्य हो यो। दशैँले छोपिसकेको छ । बजारमा किनमेल गर्नेको संख्या बाक्लै देखिन्छ। बटुवालाई हिड्न त कठिन छ नै, गाडीहरू सडकबीचमै फसेका छन्, मोटरसाइकलको दुर्गति उस्तै छ ।
प्रायः दशैँसम्म मनसुन सकिएर सडक ओभानो हुनुपर्ने हो। तर, यस पटक मनसुन लम्बिएको छ । मौसम पूर्वानुमान महाशाखाले दशैँसम्म पानी पर्ने भविष्यवाणी गरेको छ।
हाकहाकीसँग कुरा गर्दै मौसमविद मिन कुमार अर्यालले मनसुन सकिने बेलामा बिस्तारै पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्ने भएतापनि हाल वायु पश्चिममा नै सक्रिय रहेको बताए। अबको १ हप्ता मनसुन पूर्ण रुपमा नै सक्रिय रहेन र पूर्ण रुपमा बाहिरिन डेढ हप्ता लाग्ने उनको भनाइ छ।
‘सडकमा गाडी फस्नु र हिलो हुनुभन्दा बरु धुलो नै ठिक, कम्तिमा यात्रा गर्न त पाइन्छ,’ स्थानीय भन्छन्।

पनौती–खोपासी सडक खण्ड ९.५४ किलोमिटर छ। कोथली, डाँडागाउँ, बल्थली, लप्सिबोट, भुदेउ, ढुङ्खर्क, कामीडाँडा, ताल्ढुङ्गा लगायतका स्थानीयले प्रयोग गर्ने बाटो हो यो। पछिल्लो समय उक्त सडकमा चहलपहल बढ्दो छ। दशैँ नजिकिएकाले पनौती र बनेपा बजारमा किलमेल गर्न आउनेको भीड ह्वात्तै बढ्को छ। सडक निर्माण र मर्मत समयका सम्पन्न नहुँदा जोखिमपूर्ण यात्रा गर्न उनीहरू बाध्य छन्।
‘कहिले बन्छ होला यो सडक?,’ बसको यात्रा गर्दैगर्दा पनौती बस्दै आएकी सम्झना सापकोटाले प्रश्न गरिन् । उनी कामको सिलसिलामा शनिबार पनौती पुगेकी थिइन्। सडक बिग्रेपछि हैरानी भएको उनले सुनाइन्। सडकको कमजोर अवस्थाका कारण पछिल्लो समयमा उक्त सडक खण्डमा दुर्घटना बढेको उनले बताइन्।
‘केही वर्ष अगाडिसम्म सडक ठिकै थियाे पछि सडक विस्तार गर्दा थप खनियो निर्माण सकिएको चाहिँ छैन,’ उनले भनिन्।
बर्खामा सडकमा रहेका खाल्डामा पानी जम्ने भएकाले त्रासपूर्ण यात्रा गर्न स्थानीयहरू बाध्य भएको उनले सुनाइन् । ‘पहिला भए असार साउनमा मात्र पानी जम्ने गथ्र्यो अहिले बाह्रै महिना पानी जम्छ,’ उनले थपिन् । पनौती–खोपासी सडकमा स्कुटरलगायतका साना सवारीसाधनलाई आवतजावतमा ठूलो समस्या हुने गरेको छ।
काभ्रेपलाञ्चोक खानेपानी आयोजनाले पाइप बिच्छाउनका लागि सडक खनेपछि सडकमा खाल्डो बढ्ेको पनौती नगरपालिकाका सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीले हाकाहाकीलाई बताए । आयोजनाबाहेक सडकमा हेवी सवारी बढी गुड्ने भएकाले सडक बिग्रिएको उनको भनाइ छ ।
‘हेवी सवारीको चाप बढी छ । अहिले फेरि सडक फाँटको बीचमा भएकाले सिँचाइको लागि कटान गर्दा पानी सडक भरी आउँछ,’ उनले भने ।
हरेक दिन तीन सयको हारहारीमा मालवाहक गाडी ओहोर–दोहोर गर्ने गरेको उनले बताए । वैकल्पिक सडक निर्माणका लागि पनि अध्ययनहरू भइरहेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७६/७७ मा सो सडक मर्मतका लागि प्रदेश सरकारले ५० लाख र संघीय सरकारले ४ करोड बजेट विनियोजन गरेको छ। सो सडकखण्डलाई विस्तार गरेर चौडाइ बढाउने योजनामा नगरपालिका रहेको सूचना अधिकारीले जानकारी दिए। तत्कालै सडक कालोपत्रे गर्ने योजना नभए तापनि समान्य मर्मत भने भइरहने उनले बताए ।
पनौती–खोपासी सडक त केबल एक उदहारण मात्रै हो। राजधानीको चाबहिल–जोरपाटी–साँखु सडकको हालत यो भन्दा पनि खराब छ। पाँच वर्षदेखि निर्माण भइरहेको काठमाडौँको चावहिल–साँखु सडकखण्डकको काम ५० प्रतिशत पनि सम्पन्न भएको छैन। देशभर सडक निर्माणले गति लिएको छ। टोलटोलमा डोजरले बाटो खनिरहेका छन्। तर वर्षाका कारण बाटो एकदमै बिग्रिरहेको छ, त्यसतर्फ कसैले ध्यान दिएका छैनन् । त्यसैले सडक सुरक्षा एक महत्वपूर्ण विषयको रूपमा रहेको छ ।
उदाहरणका लागि ललितपुरको लगनखेल–सातदोबाटो, कुमारीपाटी–गोदावरी, चापागाउँ–सातदोबाटो सडकमा पनि अहिले खन्ने र पुर्ने होड चलेको छ। त्यस्तै करिब पाँच वर्ष अगाडि कलंकी–थानकोट–नागढुङ्गा सडक बिस्तारको काम शुरू गरिएको थियो तर उक्त सडकखण्डको निर्माण अझै सम्पन्न हुन सकेको छैन । शहरी भागमा त्यति समस्या नहोला तर ग्रामीण भेगमा बिग्रेको बाटोले दुर्घटनाको खतरा समेत बढाउँछ।
काठमाडौँ सडक बिस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ कलंकी–थानकोट–नागढुङ्गा सडक पुससम्म निर्माण सम्पन्न हुने बताउँछन् । लगातार वर्षाका करण सडकको कालोपत्रे नभएको उनको भनाइ छ।
‘सतुङ्गलदेखि थानकोटसम्म हो धेरै काम हुन बाँकी अरु ठाउँमा त लगभग काम सकिसक्यो,’ उनले भने । वर्षात कम भएमा दशैँ अगाडि नै कालोपत्रे सकिने उनले बताए।
कलंकी–थानकोट–नागढुङ्गा उपत्यका भित्रिने मुख्य नाका हो। हरेक दिन हजारौँ संख्यामा उक्त सडकबाट सवारी भित्रिन्छन् र बाहिरिन्छन् । चाडपर्वको बेलामा सो सडकमा सवारीको चाप दोब्बर हुने गर्छ।
लगातारको वर्षापछि बाटो मर्मत नभएकोमा यातायात व्यवसायीहरू समेत चिन्तित छन्। लगातार वर्षापछिको बाढी र पहिरोका कारण देशका अधिकांश सडकहरू मर्मत नभएकाले सवारीहरू काठमाडौँ नआइपुगेको नेपाल यातायात व्यवसायी महासंघका महासचिब सरोज सिटौला बताउँछन्। दशैँको लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ् खोलिएको भए तापनि सडक सुरक्षामा चुनौति रहेकाले नयाँ सवारी थपको कुनै योजना नभएको उनी बताउँछन् ।
‘मुख्य नाकाका प्रायः सडकको अवस्था नाजुक छ, राजमार्गमा पनि खाल्डा छन्। हामीले पुरिदेउ भनेर भनेका छौँ अब समान्य सडक मर्मतको काम र यात्रुको चाप हेरेर सवारी थप गछौँ,’ उनले भने ।
नेपाल सरकारको सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७५/०७६ को फागुनसम्म १४ हजार १ सय २ कि मी कालोपत्रे (४४.९ प्रतिशत), ७ हजार ८ सय ११ किमी खण्डास्मित (२५.१ प्रतिशत) र ९ हजार ४ सय १० किमी (३०.० प्रतिशत) कच्ची सडक गरी कूल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलो मिटर रहेको छ । हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्।
राजमार्ग मर्मतका लागि मात्र बजेट, भित्री सडकलाई खोई ?
सरकारले राजमार्गहरूको लागि ठूलो बजेट विनियोजन गर्ने गरेको भए पनि भित्री सडकको मर्मतमा भने खासै ध्यान दिएको पाइँदैन । कतिपय सडक, सडक विभाग मातहत हुने भएकाले पनि स्थानीय सरकारले खासै केही गरेका छैनन् । चालू आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गका लागि १९ अर्ब १८ करोड विनियोजन गरिएको छ।
निर्माणाधीन मध्यपहाडी पुष्पलाल राजमार्ग ४ सय ३५ किमी कालोपत्रे गर्नका लागि १२ अर्ब २० करोड र तराईका जिल्लाहरू जोड्ने हुलाकी राजमार्गको ३ सय ५० किमी कालोपत्रे गर्न १३ अर्ब ६३ करोड विनियोजन गरिएको छ । चुरे तथा भित्री मधेसका क्षेत्रहरू जोड्ने मदन भण्डारी राजमार्ग निर्माणका लागि ४ अर्ब ८२ करोड विनियोजन भएको छ।
त्यस्तै, पूर्व पश्चिम राजमार्गसँग सबै प्रदेशको राजधानी जोड्ने सडकलाई सम्भाव्यताको आधारमा चार लेनको बनाउने गरी कोहोलपुर–सुर्खेत राजमार्ग र सिद्धार्थ राजमार्गलाई स्तरोन्नती गर्न २ अर्ब १५ करोड विनियोजन गरिएको छ।
निजगढ द्रुत मार्ग निर्माण कार्यलाई तिव्रता दिन १५ अर्ब १ करोड साथै दक्षिण तर्फको सीमा जोड्ने प्रमुख व्यापारिक नाकाहरूलाई पूर्व–पश्चिम राजमार्गसँग जोडी उपभोग्य वस्तुहरूको परिवहनमा सहजता ल्याउन, औद्योगिक कोरिडोर व्यापारिक मार्ग विस्तार गर्न ५ अर्ब ४ करोड विनियोजन भएको छ।
गल्छी—त्रिशुली—बेत्रावती—मैलुंग सडकलाई दुई लेनमा स्तरोन्नती गर्न र मैलुंग–स्याफ्रुवेसी सडक खण्ड कालोपत्र गर्न १ अर्ब ५८ करोड र विपि राजमार्गको सुधार तथा विस्तारका लागि ९६ करोड विनियोजन भएको छ।
काठमाडौँ चक्रपथ सडक विस्तार कार्य सम्पन्न गर्न १ अर्ब ८१ करोड विनियोजन गरिएको छ। आगामी वर्ष निर्माण पूर्ण हुने गरी कान्तिपथको लागि ६१ करोड विनियोजन गरिएको हो। नागढुङ्गा–नौबिसे सडकखण्डको सुरुङ्गसहित सडक निर्माण कार्यलाई निरन्तरता दिन ६ अर्ब २७ करोड बजेट छुट्टाइएको छ।
तराई मधेसको समृद्धिसँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि ४ अर्ब ४ करोड विनियोजन गरिएको छ। राजमार्ग स्तरोन्नति तथा पुनःस्थापन कार्यक्रमका लागि १० अर्ब ९७ करोड विनियोजित भएको छ।
विभिन्न सडकहरूको आवधिक मर्मत तथा पुनःस्थापनाका लागि सडक बोर्डमार्फत खर्च गर्ने गरी ८ अर्ब बजेट व्यवस्था गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ मा सडक, रेल तथा जल यातायातको पूर्वाधार विकासको लागि १ खर्ब ६३ अर्ब ५२ करोड विनियोजित भएको छ ।





