महेन्द्रनगर – दशैँ तिहार नजिकिएसँगै बजारमा गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री दिन प्रतिदिन बढेको छ। कञ्चनपुर जिल्लामा रहेका मुख्य बजारहरूमा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तुको विक्री भइरहेको भए पनि सम्बन्धित निकायले चासो दिएको छैन्।
स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिएको छ। तर, जिल्लाका स्थानीय तहले भने बजार अनुगमन गरेका छैन। ‘बजारमा म्याद नाघेका तथा अखाद्य वस्तुहरू जताततै भेटिन्छन,’ उपभोक्ता हित संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष प्रभुनिधि पन्तले भने,‘नियमन गर्ने निकायले बजार अनुगमन गरेको छैन् ।’ स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार कार्यान्वयनमा ल्याउन नसकेको उपाध्यक्ष पन्त बताउँछन्। उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपभोक्ता हित संरक्षण सम्बन्धी २१ दायित्व स्थानीय तहले पूरा गर्नुपर्छ।

‘ऐनले नियमित बजार अनुगमनलगायत स्वच्छता र स्वास्थ्य सम्बन्धी विषयमा विशेष जोड दिएको छ,’ उनले भने, ‘यहाँका स्थानीय तहले बजार अनुगमन कार्यविधि तथा अनुगमन समिति गठन गरेको छैन् ।’ उपभोक्ता हित संरक्षणमा स्थानीय तह उदासीन भएको उपभोक्ता हित संरक्षण मञ्च प्रदेश उपाध्यक्ष पन्तको भनाई छ । ‘जिल्लामा संयुक्त बजार अनुगमन समिति हुँदा चाडपर्वको समयमा बजार अनुगमन हुन्थ्यो,’ उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै अनुगमन गर्ने अधिकार जनप्रतिनिधिले पाए । तर, जनप्रतिनिधिले बजार अनुगमनलाई प्राथमिकतामा राख्न सकेनन् ।’
लामो समयसम्म बजार अनुगमन नहुँदा जताततै अखाद्य सामाग्रीको बिक्री वितरण भइरहेको खाद्य अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष कोमलनिरञ्जन भाटले बताए । उनका अनुसार बजार क्षेत्रमा ठेलामा पकाइने खानाका परिकारहरू समेत खुल्ला राखिन्छ। ‘खुल्ला राखिएका खानाका परिकार खाँदा विभिन्न किसिमका रोग लाग्ने खतरा हुन्छ,’ उनले भने,‘ठेलाहरूमा राखिने खाद्य पदार्थलाई झिंगा र धुलोबाट जोगाउन जालीले छोपेर खानेकुरा राख्नुपर्छ ।’ स्थानीय तहका बजार अनुगमन समितिले ठेलावालाहरूलाई सचेत गराउनुपर्ने अध्यक्ष भाटको भनाई छ।

स्थानीय तहमा जनप्रतिनिधि आएको २ वर्ष भन्दा बढी भयो । स्थानीय तहले जनप्रतिनिधि पाएसँगै धेरै अधिकार पनि स्थानीय तहमा आयो । तर, स्थानीय तहले पाएका अधिकार कार्यान्यवनमा ल्याउन सकेको छैन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने अधिकार पनि स्थानीय तहलाई दिएको छ । जनप्रतिनिधिको उदासीनताका कारण कञ्चनपुर जिल्लामा बजार अनुगमन प्रभावकारी रुपमा हुन सकेको छैन् । बजार अनुगमन कार्यविधि निर्माण तथा समिति गठन नहुँदा अनुगमन गर्न नसकिएको जनप्रतिनिधि बताउँछन् । अनुगमन समिति गठन नहुँदा बजार अनुगमन गर्न नसकिएको बेदकोट नगरपालिकाका उपप्रमुख सुशिला सिंहले बताइन् । ‘कार्यविधि बनेको छ, अनुगमन समिति गठन भएको छैन्,’ उनले भनिन्,‘ समिति गठनका लागि कार्यपालिका बैठकमा पटक–पटक कुरा उठाए पनि पक्रिया अगाडि बढेको छैन् ।’
पुर्नवास नगरपालिकामा कार्यविधि बनेको छ । तर अनुगमन समिति छैन । ‘अहिलेसम्म समिति गठन नहुँदा अनुगमन गरिएको छैन्,’ पुर्नवास नगरपालिकाका शारदा शर्मा विष्टले भनिन्,‘अब, दशैं अगाडि समिति गठन गरेर बजार अनुगमनलाई निरन्तरता दिने योजना छ ।’ जिल्लाको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकामा न त कार्यविधि बनेको छ न अनुगमन समिति गठन भएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको २ वर्ष भन्दा बढी भएपनि बजार अनुगमन भएको छैन।
बजार अनुगमन नहुँदा सर्वसाधारण नागरिक गुणस्तरहीन र अखाद्य वस्तु उपभोग गर्न बाध्य छन। नगर कार्यपालिकामा छलफल गरेर छिट्टै कार्यविधि तयार गरी बजार अनुगमन गर्ने कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले बताइन्। ‘नगरको योजना अनुगमनलगायतका थुप्रै काम भएकाले समय अभावले बजार अनुगमन गर्न सकिएको छैन्,’ उनले भनिन,‘अब चाँडै बजार अनुगमन गर्छौं ।’ माहाकाली, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले दशैं अगाडि बजार अनुगमन गर्ने तयारी गरेको छ । ‘अहिलेसम्म बजार अनुगमन गरेका छैनौं,’ माहाकाली नगरपालिकाका उपप्रमुख चिनी गिरीले भनिन्,‘कार्यविधि र अनुगमन समिति बनाएका छौं, अब दशैं अगाडि अनुगमन हुन्छ।’
भीमदत्त र शुक्लाफाँटा नगरपालिका भने कहिले काँही बजार अनुगमन गर्ने गरेको छ। तर, अनुगमनलाई निरन्तरता दिन सकेको छैन । ‘हामीले बजार अनुगमन समिति गठन गरी अनुगमन थालेका छौं,’ भीमदत्त नगरपालिका उपप्रमुख सुशिला चन्दले भनिन्,‘नियमित रुपमा अनुगमन गर्न सकेका छैनौं, अब यसलाई निरन्तरता दिन्छौं।’





