काठमाडौं– कारोबार दैनिकको बिहीबारको अंकमा अन्य पत्रपत्रिकाको तुलनामा वातावरण सम्बन्धि मुद्दा बढी छ।
कारोबार दैनिकले ‘पैंचो तिर्नुपर्छ पानी’ शीर्षकको समाचार पहिलो पृष्ठमा छापेको छ। उक्त समाचार रमेश रावलले लेखेका हुन्।
कारोबारका अनुसार कालिकोटको पलावा गाँउपालिका वडा नम्बर २ का मिजुवाडा र बन्जडामा गाँउमा खानेपानीको अभाव धेरै पुरानो हो। पञ्चायतकालदेखि नै स्थानीयले यो समस्या भोग्दै आएका छन्। खानेपानीको समस्या भएका कारणले यहाँका स्थानीयवासीले घरमा कोही पाहुना आउँदा पनि आफ्नो घरमा खानेपानी नभएको बेला पैंचो लैजानुपर्ने बाध्यता छ।
यसैगरी ‘२०३० भित्र पानी सुरक्षित विश्व’ शीर्षकको समाचार पनि कारोबारले प्रकाशित गरेको छ। जसअनुसार सन् २०३० भित्र दीगो ग्रामीण विकासमार्फत् गरिबी र भोकमरीमुक्त पानी सुरक्षित विश्व बनाउने घोषणा गरिएको छ।
बुधबारदेखि काठमाडांैमा सुरु भएको अन्र्तराष्ट्रिय सिँचाई तथा जल निकास नियोगको आठौँ एसियाली क्षेत्रीय सम्मेलनमा यस्तो मिसन र भिजन घोषणा गरिएको कारोबारले उल्लेख गरेको छ।
यस्तै, असिनापानीले जुम्लामा स्याउखेतीमा र पश्चिम रुकुममा हिउँदे बालीमा क्षती पुगेको समाचार पनि कारोबारले सम्प्रेषण गरेको छ। प्रदेश नम्बर ४ को बजेटमा पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधारलाई प्राथमिकतामा राखिएको खबर कारोबारले पृष्ठ नम्बर ३ मा छापेको छ। बर्दिया राष्ट्रिय निकुन्जका वन्यजन्तुलाई पानीको अभाव भएको खबर बर्दियाबाट कारोबारमै लक्ष्मण ढुंगानाले लेखेका छन्। यस्तै, पाल्पा रामपुर खानेपानी आयोजनाबाट २७ सय घरधुरी लाभान्वित भएको समाचार पनि उक्त पत्रिकामा छ।
कान्तिपुर दैनिकले ‘कुहिन थाले काष्ठमण्डपका काठ’ शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ। दामोदर न्यौपानेले लेखेको समाचारमा भुइँचालो गएको तीन वर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ कुहिने गरी अलपत्र अवस्थामा पुगेको उल्लेख छ। घाम पानीमा उचित स्याहार हुन नसक्दा यी काठ कुहिने या विग्रने खतरामा परेकोमा सम्पदाविज्ञहरू चिन्तित रहेको कान्तिपुले उल्लेख गरेको छ।
समाचार अनुसार सातौ शताब्दीमा बनेको काष्ठमण्डपको पुनर्निर्माणका लागि प्रदेशसभा सांसद राजेश शाक्यको संयोजकत्वमा काष्ठमण्डप पुनर्निर्माण गर्न फेरि अर्को समिति बनेको छ।
यसैगरी, ‘यार्चागुम्बु संकलनमा कडाइ’ शीर्षकको समाचार कान्तिपुर दैनिकमा लमजुङबाट आश गुरुङले लेखेका छन्। हिमाली जिल्ला मनाङमा सबैभन्दा पहिले यार्चागुम्बु संकलनका लागि खुला गरिएको नम्ग्याखर्कमा यसपाली कडाइ गरिएको छ। विगतका वर्षमा यार्चा संकलनमा खुकुलो भएको जनगुनासो बढेसँगै यस वर्ष यार्चा संकलनमा कडाइ गरिएको खबरमा उल्लेख छ।
चितवनमा केरा फडानी भएको खबरलाई कान्तिपुरले फ्लोअपका रुपमा छापेको छ। ‘केरा फाँड्नेलाई कारबाहीको माग’ शीर्षकमा चितवनबाट रमेशकुमार पौडेलले लेखेको समाचार अनुसार रातारात केराका बोट काटेर नोक्सान बनाउनेलाई कारबाहीको माग गरिएको छ।
सोमबार राति कालिका नगरपालिका ६ का १२ जना कृषकका खेतमा रहेका ३ हजार ९४ वटा केराका बोट काटिएका छन्। बोट मात्र नभई बेच्न तयार पारिएका केरा समेत बिगारिएको छ। यो कसले र किन गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ। कान्तिपुरका अनुसार एउटा बोटबाट किसानले ५ सय रुपैयाँ आम्दानी गर्छन्। चितवन केरा उत्पादन संघका अनुसार त्यसरी केरा काटिदा १५ लाख ४७ हजार रुपैयाँ क्षती पुगेको छ।’
सोही विषयसँग सम्बन्धीत समाचार नागरिकले पनि उठान गरेको छ। सविता श्रेष्ठले लेखेको समाचार नागरिकको आर्थिक पृष्ठमा छ।
अन्नपूर्ण पोस्टमा ‘स्थानीयले खने वातावरणमैत्री बाटो’ शीर्षकको समाचार प्रकाशित छ। ‘बैतडीका धेरैजसो ठाँउमा सडक निर्माणका लागि जेसीबी र एस्काभेटर सञ्चालन भइरहदा मेलौली नगरपालिकाको स्वाखान–थ्वाँ–गाँउकोट सडक भने स्थानीयले नै हाते औजारले खनिरहेका छन्,’ बैतडीबाट भगिरथ अवस्थीले लेखेको समाचारमा जनाइएको छ। डोजर लगाएर बाटो खन्नु भन्दा हाते औजारले बाटो खन्दा वातावरणमा कम असर पर्ने वातावरणविज्ञ बताउँने गरेको समाचारमा उल्लेख छ।
नागरिक दैनिकमा ‘निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी’ शीर्षकको समाचार प्रकाशित भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खनन्का लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको समाचारमा उल्लेख छ।