मनसुन लम्बियो, दशैँमा पनि पानी पर्नसक्ने

काठमाडौँ – मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद् वरुण पौडलेको भनाइ छ।

हाकाहाकीसँग कुरा गर्दै उनले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सरेकाले नेपालमा केही समय मनसुनी वर्षा हुने बताए।

यसका साथै मनुसन लम्बिएका कारण दशैँताका पनि वर्षाको संभावना रहेको उनले जनाए। ‘सामान्यतया मनसुन सेप्टेम्बरको अन्तिममा सकिन्छ, तर यसपाली अक्टोबरसम्म नै पुग्ने देखिएको छ,’ उनले भने, ‘दशैँसम्मको ठ्याक्कै अनुमान गर्न नसकिएपनि मनसुनी न्यून चापीय रेखालाई हेर्दा अर्को महिनाभर मनसुनी वर्षा हुने देखिन्छ ।’

मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडीलाई बुझनुपर्ने उनी बताउँछन् ।

आगामी तीन दिनको मौसम
मंगलबार देशभर आंशिकदेखि पूर्णबदली रही मध्य र पूर्वी भू–भागका धेरैजसो स्थानमा तथा पश्चिमका केही स्थानमा मेघगर्जन/चट्ट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको उनले जनाए । उनका अनुसार पश्चिम र मध्य भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको साथै बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका मध्य र पश्चिमका धेरैजसो स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन/चट्ट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। वर्षाका कारण पहिरो जान सक्ने, नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन महाशाखाले आग्रह गरेको छ।

आज(मंगलबार) राति देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन/चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी भाेली(बुधबार) देशभर सामान्य बदली रही मध्य भूभागका धेरै स्थानमा र देशका बाँकी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्यांङ्गसहित हल्का देखि मध्यम वर्षा हुने छ । देशको मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

बुधबार राती देशभर पूर्ण बदी रही मध्य र पश्चिमका धेरै स्थानहरूमा तथा पूर्वाका केही स्थनामा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । पश्चिमक एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बिहीबार देशभर सामान्यदेखि आंशिक बदली रही केही स्थानमा मेघगर्जन/चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज(मंगलबार) काठमाडौँ उपत्यकामा १०.० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ७६.० मिलिमिटर, दाङमा १५.० मिलिमिटर, सिमरामा ५.० मिलिमिटर, नेपालगञ्जमा ३७.० मिलिमिटर र विराटनगरमा १५.० मिलिमिटर वर्षा भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार