कैलाली–माछामा आश्रित समुदायका लागि कर्णाली नदी जीवन जिउने मुख्य आधार हो। तर, पछिल्लो समय मध्य कर्णाली जलाधारमा माछाको संख्या घट्न थालेको छ। एकै पटक धेरै माछा मार्दा, नदी खोलामा बम, विषादी र करेन्ट लगाउँदा माछाको संख्या घट्दै जान थालेको हो। यसको असर माछामा आश्रित समुदायले झेल्नु परेको छ।
‘अहिले वादी भन्दा पनि अरू माछा मार्ने धेरै भए। वादी नदीमा माछा मार्न पस्नासाथ बजारिया मान्छे आउँछन्। हामीलाई आधा किलो एक किलो मारेर हामीलाई गुजारा हुँदैन,’ दैलेख दुल्लु नगरपालिका–१ डुगेश्वरकी देवीसरा वादीले भनिन्।
अछाम कमल बजार नगरपालिका–३ बेलखेत साइखोला माछा संरक्षण समूहका अध्यक्ष रमेश विष्टका अनुसार आजभन्दा १० वर्ष अगाडि दिनमा एक जनाले दश केजी माछा मार्थेे भने अहिले एक केजी पाउन पनि मुस्किल पर्छ।
जलचर संकटमा परेसँगै मध्य कर्णाली जलाधारमा माछा संरक्षण अभियान चलेको छ । यहाँका फरक फरक स्थानमा पाँच वटा माछा संरक्षण समूह गठन भएका छन्। ती मध्ये ४ वटा समूह वैधानिक रूपमा स्थानीय तहमा दर्ता भइसकेका छन्। तुर्माखाद डुंगेश्वर, मटेला रामागाड, बेलखेत साइखोला, राकम कर्णाली र तिला कर्णाली माछा संरक्षण समूह जलचरको दिगो संरक्षणका लागि जुटेका हुन्।
‘सर्वप्रथम त जलचरको संरक्षण गर्नु आवश्यक हो । अण्डा पार्ने माउहरूलाई वृद्धि गर्न, ठूला बनाएर हामीले केही आर्थिक आम्दानी गर्नको लागि सानो माछा नमार्न र ठूलो माछा मारेर सबैलाई रामो होस भनेर समूह गठन गरेको हो,’ दैलेख आठबिस नगरपालिका–४ राकम कर्णाली माछा संरक्षण समूहका कोषाध्यक्ष लीला गिरीले भनिन्।
माछा समूहले संरक्षणका गतिविधि शुरु गरिसकेका छन्। यसबीचमा उनीहरूले स्थानीय स्तरमा संरक्षणको ज्ञान बाँडे। समूहको विधान तयार गरी संरक्षण गर्ने निश्चित क्षेत्रफल तोके। अचेल समूहका सदस्यहरू संरक्षणको जिम्मा पाएको स्थानलाई निगरानी गर्छन् । नदी खोलामा करेन्ट, विषादी, बम लगायतका गैर कानूनी कार्यमा बन्देज गरिएको छ।
प्रजननको समयमा माछा नमार्ने नीति लिएका छन्। माछा मार्दा जलचरमैत्री विधि मात्र प्रयोग गर्ने नियम बनाएका छन्।
‘माउ माछा मार्नु हुँदैन । बच्चा माछा मार्नु हुँदैन । खोलाको लागि दुई देखि पाँच सेन्टिमिटरको नदीको लागि ५ देखि १० सेन्टिमिटरको जाल हामीले बनाएर हान्ने । गलत भए कारवाही गर्ने प्रावधान बनाएका छौ,’ अछाम कमल बजार नगरपालिका–३ बेलखेत साइखोला माछा संरक्षण समूहका अध्यक्ष विष्टले भने।
माछा संरक्षण समूह एक आपसमा सहकार्य गर्छन् । उनीहरू नियमित बैठक बस्छन् । अनि जलाधार संरक्षणमा गर्ने कामको बाँडफाँड पनि गर्छन् । माछा संरक्षण समूहले अब समग्र मध्य कर्णाली जलाधार संरक्षण गरिरहेका छन् । यसको लाभ पनि स्थानीयले नै लिइरहेका छन्।
अछामको पञ्चदेवल वडा नम्बर ४ कागे खोलादेखि तुर्माखाँद गाउँपालिकाको वडा नम्बर ८ को टुनिबगरसम्म आठ किलोमिटर दूरीसम्म विभिन्न समुदायको मान्छेलाई खटाएको अध्यक्ष विष्टले बताए।
‘समाजलाई र मछुवारहरूलाई आफ्नो तोकिएको एरियालाई कसरी नियन्त्रण गर्ने ? आफ्नो एरिया भित्र रहेको समाजलाई कसरी राख्ने र तोकिएको एरियामा माछा मारेरै जीविकोपार्जन गर्नेलाई हामीले कुन ठाउँमा लिएर कसरी राख्ने विकल्प सोच्नुपर्छ यही साँचेर हामी अगाडि बढ्छौँ,’ तुर्माखाँद डुंगेश्वर माछा संरक्षण समूहका सचिव अमरबहादुर गिरीले भने। कर्णाली नदी जलीय जैविक विविधताका हिसाबले विश्वमै दुर्लभ छ। जहाँ थरी थरिका जलचरले आश्रय पाइरहेका छन्। माछा संरक्षण समूहले सुरु गरेको अभियानले जलचरको दीगो संरक्षणमा सहयोग पुग्ने विज्ञको भनाई छ।
‘धेरै जसो माछाले वर्षको एकचोटी अण्डा दिन्छ । तर, सहर, असला जस्तो माछाले वर्षको दुई पटकसम्म पनि दिन्छ । त्यो कुन बेला दिन्छ भन्ने हामीले पहिचान गर्याै भने र कुन ठाउँमा यसले प्रजनन् गर्छ पहिचान गर्ने बित्तिकै संरक्षणमा अझै सहज भएर जान्छ,’ पानी परियोजनाका मत्स्य विज्ञ सुरेश वाग्लेले भने, ‘यो बेला माछा मार्न निषेध गर्दियो, जहाँ प्रजनन गर्छ, जहाँ अण्डा छोड्छ त्यहाँ त्यो समयलाई निषेध गर्दियो भने पक्कै पनि बच्चाहरूको संख्या बढ्न जान्छ र तिनीहरू ठूलो हुँदै आउँछन्। एउटा निश्चित आकार हुन्छ। माछाको घनत्वको लेभल त्यो भन्दा माथिल्लोमा आयो भने त मज्जाले माछा झिकेर खान पाइयो । अनि त्यो दिगोपन हुन्छ।’
मध्य कर्णाली जलाधार क्षेत्रमा नौ वटा स्थानीय तह छन्। पछिल्लो समय यहाँका स्थानीय तहले संरक्षणका लागि कानून बनाएका छन् । अछामको पञ्चदेवल विनायक र कमलबजार नगरपालिका, दैलेखको आठबीस, चामुण्डाबिन्द्रासैनी र दुल्लु नगरपालिका अनि ठाँटीकाँध गाउँपालिकाले जलचर संरक्षण ऐन पारित गरीसकेका छन् । स्थानीय तहले बनाएका ऐन नियम कार्यान्वयनको अभ्यास भइरहेको छ।
‘जाल कति इन्चको बनाउने । माछामा कति साइजको मार्ने ? अथवा माउ माछा जालमा पर्यो भने पछि त्यसलाई जीवित राख्नको लागि पहल गरेर जाने। जलचर नहुँदा मानिसको प्राणीलाई पनि असर पर्ने खालको अवस्था वैज्ञानिक रूपले देखिएको हुनाले हामीले जलचरलाई संरक्षण गर्नु पर्छ भन्ने सोच बनाएर अगाडि बढेको हो,’ आठबिस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले भने।
दैलेख चामुन्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले परिणाममुखी र देखिने कामहरू गर्न प्रतिबद्धता जाहेर गरे।
स्वस्थ जलाधारका लागि तटीय क्षेत्रमा संरक्षण कर्म प्रभावकारी बनाइनु पर्छ। जलाधार क्षेत्रमा गठन भएका माछा संरक्षण समूहको सक्रियता बढ्नुपर्छ र स्थानीय तहले बनाएका ऐन नियमको कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन । यसो गर्न सके समग्र जलाधारको दीगो संरक्षण गर्न सकिन्छ।
कैलास मानसरोवरबाट उत्पति भएको कर्णाली नेपालकै लामो नदी हो। कुनै बाधा व्यवधान बिना प्राकृतिक रूपमा बग्ने यो नदीले नेपाल भित्र १ सय ७ किलोमिटर यात्रा गर्छ।





