काठमाडौँ – नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको काठमाडौँ उपत्यकाको फोहोर दशैँपछि बञ्चरे डाँडामा फालिने भएको छ।
अहिले बञ्चरे डाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल साइट दशैँपछि सम्पन्न हुने र त्यसपछि उपत्यकाको फोहोर त्यहाँ व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जनाएको छ।

हाकाहाकीसँग कुरा गर्दै शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दवाडीले स्थानीयको अवरोध नभए दशैँपछि बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने गरी निर्माण कार्य भइरहेको बताए।

‘अहिले पहिलो चरणको ड्याम बनाउने कार्य भइरहेको छ, दशैँसम्ममा सकिन्छ,’ उनले भने, ‘पहिलो चरणमा फोहोरको वर्गीकरण गरेर पुनः प्रयोग गर्न सकिने र नसकिने छुट्याउँछौँ र व्यवस्थापन गर्छौँ।’
उनका अनुसार पहिलो चरणमा ड्याम तथा फोहोर वर्गिकरण केन्द्र बनाइ फोहोर व्यवस्थापन गर्न मिल्ने बनाइएको छ।
बञ्चरेमा डम्पिङ साइट भन्दा पनि स्यानिटरी ल्याण्डफिल बन्न लागेकोले फोहोरलाई वर्गिकरण गरेर मात्र त्यहाँ फोहोर फालिने उनको भनाइ छ । त्यहाँ लगिएको फोहोरलाई वर्गिकरण गरी पुनः प्रयोग गर्न सकिनेलाई काठमाडौँ ल्याउन लगानी बोर्डले निजी कम्पनीसँग सम्झौता गरेको उनले जानकारी दिए ।

सिसडोलमा लगिएको फोहोर त्यतिकै विसर्जन गरिँदै आइएकोमा बञ्चरेमा भने त्यसो नहुने उनको दाबी छ। निर्माणाधीन ल्याण्डफिल साइटलाई व्यवस्थित बनाउनुका साथै वातावरणीय पक्षलाई समेत ध्यानमा राखेर काम भइरहेको उनले जानकारी दिए।
तर, सिसडोलमा दुई वर्षका लागि भनेर सरकारले १४ वर्षसम्म अव्यवस्थित तवरले फोहोर फाल्दा प्रदूषण बढेको र आफ्नो स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीयले बञ्चरेमा फोहोर फाल्नु अघि आफ्ना माग पूरा गर्नु पर्ने भन्दै अवरोध गरिरहेका छन्।
यस विषयमा काठमाडौँ महानगर तथा संघीय मामिला मन्त्रालयले छलफल गरी स्थानीसँग सहमति गर्नुपर्ने शहरी विकास मन्त्रालयका प्रवक्ता दवाडी बताउँछन् ।
केही दिन अघि मात्र सिसडोलमा फोहोरको पहिरो गएपछि स्थानीयले असोज एक गतेसम्म त्यसको उचित व्यवस्थापन र आफ्ना अन्य माग पूरा नभए फोहोर फाल्न नदिने चेतावनी समेत दिएका छन् ।
यस विषयमा आफूलाई पनि पत्र आएको बताउँदै उनले काठमाडौँ महानगरपालिका र सरोकारवाला निकायले उनीहरूकाे मागलाई सम्बोधन गर्नुपर्ने बताए ।
‘हाम्रो दायित्त्व भनेको ल्याण्डफिल साइट निर्माण गर्ने हो, स्थानीयसँग छलफल गर्ने तथा त्यहाँका अन्य समस्यालाई समाधान गर्ने अन्य निकायले हो,’ उनले भने ।
सरकारले २०६२ सालमा दुई वर्षपछि बञ्चरे डाँडामा फोहोर फाल्ने भन्दै सिसडोलमा फोहोर फाल्न शुरु गरेको थियो । तर, १४ वर्षसम्म पनि बञ्चरेमा ल्याण्डफिल साइट नबन्दा काठमाडौँ उपत्यकाको फोहोर सिसडोलमा नै विसर्जन गरिँदै आइएको छ ।
दुई वर्षका लागि बनेको संरचनामा १४ वर्षसम्म फोहोर फाल्दा बर्सेनी विभिन्न समस्या देखिँदै आएको छ । फोहोरको पहिरो जाने, त्यहाँबाट निस्केका लिचड खोलामा मिसिने तथा वरपरको वातावरण दूषित हुने जस्ता समस्या बढ्दै गएपछि स्थानीयले बेला बेलामा त्यहाँ फोहोर फाल्न अवरोध गर्दै आएका छन् । सिसडोलमा फोहोर फाल्न बन्द भए काठमाडौँ उपत्यकाको चोक चोकमा फोहोरको डंगुर लाग्ने गर्छ।





