Tuesday, October 22, 2024

छापामा वन, वातावरण : किन आफैं मर्छन गैंडा, वनको जग्गा व्यक्तिको नाममा

काठमाडौं– बुधबारका दैनिक पत्रपत्रिकाले चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको प्राकृतिक मृत्यु बढ्दो क्रममा रहेको र पोखराको फेवातालसँग सम्बन्धीत समाचारलाई प्रमुखताका साथ सम्प्रेषण गरेका छन्।

यसैगरी, एसियाली विकास बैंकको २ अर्ब सहयोग रहने् सोलार प्लान्ट बनाउन प्रस्ताव माग गरेको, सर्लाहीमा वनको जग्गा किनबेच गराउने गिरोह खोजिन थालिएकोसँगै अज्ञात समूहद्वारा केराखेती नष्ट गरिदिएको खबर पनि दैनिक पत्रपत्रिकामा छ।

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको चोरीसिकार झन्डै शून्यमा झरे पनि गैंडाको प्राकृतिक मृत्यु बढ्न थालेको खबर पहिलो पृष्ठमा छापेको कान्तिपुर दैनिक अगाडि लेख्छ, ‘गैंडाको बढ्दो प्राकृतिक मृत्यु सरकार र विशेषज्ञका लागि चुनौती बनेको छ।’ अघिल्लो आर्थिक वर्षमा प्राकृतिक कारणले मात्र २५ वटा गैंडा मरेपछि सरकारले कारण खोज्न थालेको अुब्दुल्लाह मियाँको बाइलानमा छापिएको छ।

कान्तिपुर अगाडि लेख्छ, ‘निकुञ्जको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण अध्ययन गर्न केही समयअघि विशेषज्ञसमेत सम्मिलित एक टोली चितवन निकुञ्जमा परिचालन गरेको थियो। टोलीले आव २०७३/७४ मा २५ गैंडा प्राकृतिक कारणले मरेको र त्यो क्रम अझै बढ्न सक्ने भन्दै सतर्क हुनुपर्ने सुझावसहितको प्रारम्भिक प्रतिवेदन विभागका महानिर्देशक मनबहादुर खडकासमक्ष पेश गरेको छ।’
नागरिक दैनिकले ‘वनको जग्गा किनबेच गराउने गिरोह खोज्दै परियोजना’ शीर्षकमा पृष्ठ ५ मा समाचार छापेको छ। यो सर्लाहीको खबर हो।

टंक क्षेत्री लेख्छन्, ‘सागरनाथ वन विकास परियोजनाले जिल्लाको वागमती नगरपालिका अन्तर्गत मूर्तिया वन व्यवस्थापन क्षेत्रको अतिक्रमित जग्गा व्यक्तिगत रूपमा किनबेच गराउने गिरोहको खोजी सुरु गरेको छ। व्यक्तिगत रूपमा किनबेच हुँदै नयाँ घरहरू बनाउने क्रम ह्वात्तै बढेपछि परियोजनाले आफ्नो जग्गा खरिद बिक्री गराउने गिरोह नियन्त्रणको प्रयास थालेको हो ’

‘हाम्रो जग्गा सोझासाझा किसानलाई किनबेच गराउने गिरोह नै रहेछ,’ भनेर परियोजना प्रमुख देवेशमणि त्रिपाठीलाई उदृत गरेको नागरिकले उनकै भनाइलाई यसरी उल्लेख गरेको छ, ‘कठ्ठाको २५–३० हजार रूपैंयामा किनेर घर बनाउने तथा खेती गर्ने गरेको पत्ता लगाएका छौं।’

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्मैयाको पुतलीचोकबाट करिब पाँच किलोमिटर दक्षिणबाट सुरु हुने परियोजनाको जमिनमा हाल नयाँ बस्ती नै बनिसकेको समाचारमा उल्लेख छ।

नागरिकले फेवातालमा अतिक्रमण हटाउन सर्वाेच्च अदालतले आदेश जारी गरेपछि अब ताल संरक्षण हुनेमा पोखेरेली आशावादी रहेको खबर पनि सम्प्रेषण गरेको छ।

पोखराबाट सन्तोष पोखरेलले ‘फेवाताल जोगिनेमा पोखरेली आशावादी’ शीर्षकमा प्रकाशित समाचारको सब–हेडलाइनमा भनिएको छ, ‘कुनै पनि हालतमा अतिक्रमण हट्छ : महानगर प्रमुख ।’ फेवातालको विषयलाई तीन सम्प्रेषण गर्दै आएको नागरिकले बुधबार छापेको फ्लोअप समाचारमा भनेको छ,‘अतिक्रमणले ताल जोखिममा परेको भन्दै चिन्तित पोखरेली सर्वाेच्चको निर्णय कार्यान्वयनको पर्खाइमा छन्। कुनै पनि हालतमा तालको जग्गा फिर्ता हुनुपर्ने उनीहरूको भनाई छ।’

गोरखापत्र दैनिकले सोलुखुम्बुमा वातावरण भुक्तानी कोष सञ्चालन गरेपछि वातावरण संरक्षणमा सुधार आएको खबर १५औं पृष्ठमा छापेको छ। गोरखापत्र अगाडि लेख्छ, ‘सोलुखुम्बुको काँगेल, मुक्ली र नेलका विभिन्न समेटिएको सिकुखोला जलाधार क्षेत्रका बासिन्दाले वातावरण भुक्तानी कोष सञ्चालन गरेपछि वातावरण संरक्षणमा सुधार आएको छ। कोषका लागि हरेक महिना १० रुपैयाँ त्यसबाट वातावरण संरक्षण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न वातावरण भुक्तानी कोष स्थापना गरिएको हो।’

यसैगरी, विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण म्याथन हुने खबर पनि गोरखापत्रको १६औं पृष्ठमा छ। गोरखापत्रका अनुसार अन्नपूर्ण आरोह गरेको दिन अन्नपूर्ण दिवस (जुन ३) का अवसरमा म्याराथन हुन लागेको हो।

यसैगरी, अन्नपूर्ण पोस्टले ‘शौचालय नबनाई खुला दिसामुक्त घोषणा’ गरिएको सिन्धुलीको समाचारलाई पृष्ठ ५ मा छापेको छ। राजन गाउँले लेख्छन्, ‘दातृ निकायलाई रिझाउनकै लागि मात्र जिल्लालाई ४९औं खुला दिसामुक्त जिल्ला घोषणा गरेको गुनासो आएको हो।’ समाचारमा हाइलाइट दिँदै अन्नपूर्णले भनेको छ, ‘जिल्लामा भूकम्पले भत्काएका शौचालय अझै बनेका छैनन्।’

चितवनमा अज्ञात समूहले केराखेती फँडानी गरेको समाचार पत्रपत्रिकामा छ। कान्तिपुरमा चितवनबाट रमेशकुमार पौडेलले ‘रातारात काटिए ३१ सय केराका बोट’, नागरिकले ‘अज्ञात समूहद्वारा केराखेती नष्ट’, र अन्नपूर्णमा अनिल ढकालले ‘काटिए तीन हजार केराका बोट’ शीर्षकमा समाचार लेखेका छन्।

चितवनको कालिका नगरपालिका– ६ मा व्यावसायीक रुपमा गरिएको केराखेती सोमबार राति फडानी भएको र संलग्नलाई पक्राउ गरी कारबाही गर्ने प्रहरीको दाबी रहेको खबर पत्रपत्रिकाले छापेका हुन्।

यसैगरी, कान्तिपुरले ‘अनुमतिबिना यार्सा संकलन गर्ने ४९ जना पक्राउ’ परेको डोल्पाको खबर, चीन पठाउने गैंडा समातिएको चितवनको खबर, सगरमाथा आरोहण तयारी अन्तिम चरणमा रहेको, बीउ बैंकले किसानलाई सजिलो भएको नवलपरासीको खबर र सरकारको बाली बीमा निस्प्रभावी बनेको खबर छुट्टाछुट्टै पृष्ठमा छापेको छ।

त्यसैगरी, उदयपुरका किसानका आँपमा चिचिला नडिएको खबर पनि कान्तिपुरले छापेको छ। डिल्लीराम खतिवडा लेख्छन्, ‘आँपबाट सोचेजस्त्तो आम्दानी नहुने भएपछि चौडन्डीगढीका नरेश बस्नेत चिन्तित छन्। फुल्दाफुल्दैको आँपमा विभिन्न रोगका कारण फल नफल्ने र लागेपनि नअडिने समस्याले उनी चिन्तित भएका हुन्।’

नयाँपत्रिका दैनिकले प्रि–मनसुनमा बढी वर्षा’ शीर्षकमा तेस्रो पृष्ठमा समाचार छापेको छ।

ताजा समाचार

सम्बन्धित समाचार