निजगढमा विमानस्थल बनाउने अडानबाट सरकार पछाडि हट्दैन : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने अडानबाट सरकार पछाडि नहट्ने बताएका छन्।

विहीबार काठमाडौँमा नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले धेरै अध्ययन पछि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरिएकोले फेरि अन्त जान नसकिने जनाए।

कार्यक्रममा मन्त्री भट्टराईले व्यक्त गरेका विचार उनकै शब्दमा
यो प्रस्तावित विमानस्थलको सम्बन्धमा नागरिकको तवरबाट अध्ययन गरेर नेपाल सरकारलाई आवश्यक सुझाव र सल्लाह दिने सहितको उद्देश्यले यो प्रतिवेदन ल्याउनुभएकोमा खुशी व्यक्त गर्दै यो प्रतिवेदन ल्याउने सबैलाई धन्यवाद दिन चाहन्छु।

यहाँहरूसँग म क्षमा चाहन्छु । म एयरपोर्ट विज्ञ होइन । ४० वर्ष जति राजनीतिक काममा सक्रिय भएर त राजनीतिमा विज्ञ हुन सकिन एरपोर्टमा कसरी विज्ञ हुन सक्छु र ? त्यसैले म विज्ञताको पक्षबाट काम गर्ने भन्दा पनि आजको सरकारको आवश्यकताको विषयमा यहाँहरूसँग केही भन्न सक्छु ।

जहाँसम्म अन्तर्राष्ट्रिय विमानस्थलको कुरा छ । काठमाडौँको त्रिभुवन विमानस्थलले अब हाम्रो क्षमतालाई धान्न सक्दैन । अहिले पनि नेपालमा झण्डै ८० लाख जति मानिसहरू आन्तरिक र बाह्य दुवै फ्लाइटमा आवतजावत गर्छन् । यो संख्या प्रत्येक वर्ष ७.५ प्रतिशले वृद्धि भइरहेको छ । यसले के देखाउँछ भने  सन् २०२०/०२२ सम्म काठमाडौँ एयरपोर्टको उच्चतम प्रयोग त्यो भन्दा बढी हुन सक्दैन। त्यसैले अर्को ठाउँमा नभइ हुँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नु पर्छ । विकल्प खोज्ने काम सामान्य पसलमा केही सामान किनेजस्तो त हुँदैन । यसको लागि वर्षौँ लाग्छ । यसको लगानीको कुरा हुन्छ, यसको फाइदा बेफाइदाका कुरा हुन्छ । त्यसैले अरु पनि विमानस्थल बनाउनुपर्छ भन्ने निष्कर्षकासाथ अहिले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका छन् । गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल निर्माणको क्रममा छन् । यी दुवै आउने सन् २०२० को प्रारम्भ र अन्तिममा सम्पन्न हुन्छन्। दुवै विमानस्थलको निर्माण कार्य सन्तोषजनक ढंगले अगाडि बढेको छ।

अब देशको राजधानी काठमाडौँ भएकाले हाम्रो विमानस्थलले काठमाडौलाई पनि जोडोस । राजधानीलाई ध्यान दिँदाखेरी योसँगै जोडिने नजिकका ठाउँबाट खोज्नु उपयुक्त भएर होला नेपाल सरकारले २०५०/०५१ साल तिरै यसको अध्ययन गरेको। आठ नौ वटा ठाउँको अध्ययन गर्दा सबैभन्दा नजिक निजगढ नै देखियो । यद्यपि त्यो निजगढ होइन रहेछ । त्यो कोलबी हो ।

निजगढको खासै कुनै हिस्सा नै पर्दैन। चलनचल्तीको भाषामा निजगढ भन्न थालियो । त्यो ठाउँ हरेक हिसाबले सबैभन्दा उपयुक्त छ भनेर त्यहाँ विमानस्थल बनाउनुपर्छ भन्ने प्रोजेक्सनको आधारमा नै अरु त्यसलाई सहयोग पुर्याउने काम गर्न थालियो । जस्तै फास्ट ट्रयाक। यो पनि कुनै न कुनै हिसाबले विमानस्थलसँग अन्याेन्याश्रित सम्बन्ध भएको प्रोजेक्ट हो। यसलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको छ।

हामीजस्तै मुलुकका पर्यटनको कुरामा सिंगापुरलाई हेर्ने हो भने हामीभन्दा सानो मुलुकमा डेढ करोड भन्दा बढी पर्यटक वार्षिक हिसावले त्यहाँ गइरहेका छन् । हङकङमा तीन करोड भन्दा बढी जान्छन्। क्रोयसियामा एक करोड भन्दा बढी पर्यटक गइरहेका बेला हामीले २० लाख भित्र्याउनु पर्ने छ । तिब्बतमा मात्रै एक करोड भन्दा बढी पर्यटक जान्छन । पर्यटन हाम्रो मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो भनेर नै १५ औँ पञ्चवर्षीय योजनाले पर्यटन क्षेत्रको योगदान १० प्रतिशत बनाउने भनिएको छ।

हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकमा पर्यटनका लागि कनेक्टीभिटी के बाट हुन्छ त ? एउटा सीमानामा हिमाल नै हिमाल छ । जल यातायात, सडक यातायातका सम्भावना पर्याप्त मात्रामा प्रयोग गर्न पाउँदैनाैँ। त्यसैले हवाई उडड्यन र हवाई यातायात हाम्रो लागि विश्वसँग जोडिन महत्त्वपूर्ण ठानिएको छ । यसको हिसाबले हेर्दा निजगढ विमानस्थलको विषयमा बहस छलफल भइरहेको बेला यति मात्र भन्न चाहन्छु नेपाल सरकारले अनभिज्ञ भएर, केही विषयमा पनि जानकारी नभएर विमानस्थल बनाउन लागेको होइन। त्यहाँ जबरजस्ती विमानस्थल बनाउन लागिएको होइन । त्यहाँ विमानस्थल बनाउँदा वातावरणीय हिसाबले केही नोक्सानी हुन्छ भन्ने नबुझेको होइन । बुझेरै त्यहाँ गएका छौँ । हामी कुनै अन्धाधुन्ध हिसाबले सम्पूर्ण क्षति गर्न त्यहाँ गएका होइनौँ । हामीलाई थाहा छ त्यहाँ विमानस्थल बनाउँदा कति क्षति होला भन्ने । त्यसको पुनस्थापना कसरी गर्ने भन्ने पनि सँगसँगै लिएर जान्छौँ । मलाई केही बुद्धिजिवी साथीले उत्तेजित बनाउन खोजेका थिए । मैले मन्त्रालयमा आएपछि शुरुदेखि भनिरहेको छु सरकार कहिले पनि उत्तेजित हुँदैन।

सरकार जिम्मेवार पक्ष हो यसले सबैको कुरा सुन्नुपर्छ । मैले मेरो मन्त्रालयको नीति कार्यक्रममा भनेको छु हरेक महिना एउटा विषयमा मन्त्रालयमा गोलमेच सम्मेलन गर्छौँ । कुनै एउटा महिना हामी निजगढ विमानस्थलको विषयमा छलफल गर्न सक्छौँ । निजगढमा विमानस्थल बनाउनै पर्छ भन्ने पक्ष पनि बोलाउँछौँ बनाउन हुँदैन भन्ने पक्षलाई पनि बोलाउँछु । ठेकीमा दही मथेपछि त केही नौनी निस्केला नि । बुद्धिजिवीहरूका बीच पनि छलफल गरौ न त । प्रत्येक महिना हामी एउटा एउटा विषयमा छलफल गर्छौँ ।

सरकारले कुरै सुनेन भन्ने कुरा आइरहेको छ किन नसुन्ने ? सरकार भनेको को हो त एकैपटक सिंहदरबारमा कहीँबाट उडेर आएका त होइन । करोडौँ मानिसका कुरा सुनेर आएका त हौँ नि हामी पनि । प्रत्यक्ष जनतासँग कुरा गरेर आएका त हौँ । जनताको अनुमोदनबाट आएका हौँ । फेरि पनि हामीलाई त्यहाँ अनुमोदित हुन जानु छ । आज नेकपाको सरकार छ । नेकपाको अन्तिम दिपावली, अन्तिम भोज होइन यो । यो त शुरुवात हो । तर, जनस्तरबाट उठेका मुद्दालाई सही ढंगले सम्बोधन गरेनौँ भने हामीलाई पनि चिन्ता हुन्छ भोली हामी बाहिर निस्कनुपर्छ भन्ने । त्यसैले यो प्रक्रियामा जाने राजनीतिक पार्टी भएकाले हामीले धेरै अन्तर्क्रिर्या गर्नुपर्छ । तपाईहरूको अमूल्य सुझाव आलोचना प्राप्त गर्न हामी चाहन्छौँँ। त्यति गर्दा पनि निजगढमा विमानस्थल बनाउन गयौँ भने मानिसले विरोध गर्दैनन त ? गर्छन् । मैले हजार पटक सम्झाए पनि विरोध हुन्छ । त्यो पनि मलाई थाहा छ । त्यसको पनि म स्वागत गर्छु ।

सकेसम्म विरोधहरूलाई सुन्ने हो राम्रो छ भने त्यसलाई ग्रहण गर्ने हो । सरकारको तर्फबाट म यो भन्न चाहन्छु निजगढमा विमानस्थल बनाउने कुराबाट सरका पछाडि हट्दैन। किनभने त्यो धेरैवटा अध्ययनपछि आएको निष्कर्ष हो। त्यहीँ बनाउँछौँ। त्यहीँ बनाउँदा हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने उपाय खोज्छौँ । सरकारलाई कुनै लगाव छैन की त्यहाँ ड्यामका ड्याम रुख काट्ने । त्यो सरकारले चाहेर होइन । सकेसम्म कम क्षति हुने कोशिस गर्छौ । आज २५ लाख रुख काटिने भनिएको छ । तर, यो तत्थ्य पुष्टी हुन सक्दैन । कुन आधारबाट भन्ने ? वैज्ञानिक ढंगबाट अध्ययन भएको जस्तो मलाई लाग्दैन । हेरौ न त, सबैजना सार्वजनिक ढंगले जाँउ न त । एक हप्ता जंगल घुमौँ न त । त्यहाँ ठूला रुख कति छन् कति काटिन्छ हेरौँ । कसैले २५ लाख भन्दैमा त्यसैको पछि कुद्नुपर्छ भन्ने छैन् । त्यसैले सकेसम्म कम क्षति हुने कोशिस हामी गर्छौँ।

एयरपोर्टको मोडालिटी तयार पारेर छलफल गरौँ। संसदीय समितिका निर्देशनलाई अनुशरण गर्छौ, सम्मान गर्छौँ । चरणबद्ध विस्तृत योजना निश्चित भएपछि हामी पुनः तपाईसँग छलफल गर्छाैँ। हामी तपाईका सुझाव र आलोचना सम्मान गर्छौँ । निजगढ भन्दा दायाँबायाँ गर्दैनौँ । तर निर्माण गर्दा कम भन्दा कम क्षति गर्छौँ । आउँदो दशौँ पुस्ताले त्यसलाई ठिकै गरेको मान्ने ढंगले काम गर्छौँ । निजगढ विमानस्थल बनाउँदा हामीलाई १०० पुस्ताले सम्झनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार