पाँचथर – कुनै समयको ‘हरियो वन नेपालको धन’ भन्ने उक्ति यतिबेला पाँचथरमा रहेका सामुदायिक तथा कबुलियती वनका उपभोक्ताहरूका लागि स्मरणीय भएको छ।
बुकी फूल र तिते झारले भरिएका नाङ्गा डाँडामा वृक्षरोपण गरेर त्यसबाट प्रशस्त आम्दानी लिइरहेका पाँचथर मिक्लाजुङ १का उपभोक्ताहरू हरियो वन समुदायको र व्यक्तिगत धनमा परिणत भएको बताउँछन्। जिल्ला वन कार्यालय पाँचथरको प्राविधिक सहयोगमा सामुदायिक र कबुलियती वन उपभोक्ता समितिमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन भएपछि जिल्लामा वन क्षेत्र बढेको डिभिजन वन कार्यालय पाँचथरका प्रमुख मेघराज राई बताउँछन्।
वनको सहयोगमा विभिन्न कार्यक्रम गरी त्यसबाट फाइद लिइरहेको ठाडो नागी कबुलियती वन उपभोक्ता समूह मिक्लाजुङ १ का अध्यक्ष हर्कबहादुर राई बताउँछन्।
‘जिल्ला वन कार्यालय पाँचथरको सहयोगमा हामीले अग्रेली र अन्य बोट विरुवा रोपेर त्यसबाट फाइदा लिइरहेका छौँ । केही वर्ष अघिदेखि अग्रेली घाँस र अन्य विभिन्न प्रजातिका बोट विरुवा लगाएका छौँ। बोट विरुवाले वन जङ्गल मात्र बढाएन हामीलाई प्रत्यक्ष फाइदासमेत दिएको छ,’ उनले भने।
त्यसैगरी वनमा लगाइएको अग्रेली विक्रीबाट आएको नगदले उन्नत जातका गाई पालन गरिएको कबुलियती वन समूह सञ्जाल पाँचथरका अध्यक्ष कमलकुमार राईको भनाइ छ। उनले भने, ‘हामीले वनमा लगाएको अग्रेली बिक्रीबाट आएको नगदले उन्नत जातका गाई खरिद गरेका छौँ। सहकारी बनाएका छौँ। यसले वन क्षेत्र बढेसँगै हाम्रो आय आर्जनमा समेत वृद्धि भएको छ ।’
जिल्लामा केही वर्षअघि सम्म वनले ढाकेको क्षेत्र कम थियो तर अहिले भने वन क्षेत्र बढ्दै गएको छ। खास गरी सामुदायिक वन उपभोक्ता समूह, कबुलियती वन उपभोक्ता समूहलगायतका अन्य विभिन्न समूहले सालिन्दा गर्ने वृक्षरोपण र निजी वनका काठको बिक्रीका कारण वन क्षेत्र बढेको प्रमुख राईले बताए।
अहिले जिल्लाको कूल क्षेत्रफलको ५५ प्रतिशत जमिन वनले ढाकेको छ। यसमा सामुदायिक, कबुलियती, निजी र केही राष्ट्रिय वनसमेत जोडिएको राईले बताए। पाँचथरमा अहिले एक सय ४७ सामुदायिक, दुइ सय २८ कबुलियती र केही राष्ट्रिय वन रहेका छन्। जिल्लाबाट खास गरी निजी वनमा रहेका काठ (गोलिया) बिक्री हुन थाले पछि निजी जमिनमा वृक्षरोपण गर्ने अभियान नै चलेको छ। वनमा लगाइएका रुख बिक्रीबाट अहिले कृषकहरूले लाखौँ रुपैयाँ बराबरको आम्दानी गरेका छन् । यिनै गोलिया बिक्रीबाट कृषकको जीवनस्तर उठेको गोलिया व्यवसायी खड्ग सम्बाहाम्फे बताउँछन्।
‘वन जंगलका काठले उच्च मूल्य पाएपछि वृक्षरोपण गर्नु पर्ने रहेछ भन्ने चेतना जाग्यो। सामाजिक संघ संस्थाहरूले समेत वृक्षारोपणलाई आप्mनो कार्यक्रमको रूपमा अगाडि सारेका छन्। वन जंगलका काठ खरिद बिक्रीमा सक्रिय रहेको वन पैदावार व्यवसायी संघले बिगत ५ वर्षदेखि प्रत्येक वर्ष वृक्षरोपण गर्दै आएको छ,’ वन पैदावार व्यवसायी संघ पाँचथरका अध्यक्ष सूर्यले भने, ‘हामीलाई जंगल मास्ने मान्छे भनेर कति साथीहरूले भन्ने गरेका छन्। त्यसैले हामीले विगत ५/६ वर्षदेखि प्रत्येक वर्ष वृहद वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएका छौँ।’
‘हाम्रो संस्थाले प्रत्येक वर्ष फरक–फरक स्थानमा वृक्षरोपण गरिरहेको छ। यस वर्ष मात्र हामीले चार सयभन्दा बढी विरुवा रोपेका छौँ,’ उनले भने।
जिल्लामा सामाजिक संघ संस्थाले मात्र होइन जातीय संघ संस्थाले समेत वृक्षरोपण गर्ने गरेका छन्। गत साउन २२ गते किँरात राई यायोक्खाको ३२ औँँ स्थापना दिवसको अवसर पारेर किँरात राई यायोक्खा पाँचथरले जिल्लाका ७ स्थानमा ३ सय विरुवा रोपेको किँरात राई यायोक्खा पाँचथरका उपाध्यक्ष राजेन्द्र राईले बताए। नेपाल सरकारले समेत यो वर्षलाई वृक्षरोपण वर्षको रूपमा घोषणा गरेको हुनाले यायोक्खाले पनि वृक्षरोपण गरेको उनले बताए।
जिल्लामा वन क्षेत्र बढ्नु भनेको जनताको समृद्धि बढ्नु पनि हो। वनले रोजगारी सृजना गरेको हुन्छ भने पर्यटक आकर्षणका लागि समेत वनले टेवा पुर्याउँछ। अहिले जिल्लामा रहेका एक सयभन्दा बढी सामुदायिक वनहरूले समुदायमा ठूलो लगानी गरेका छन्। खास गरी विरुवा रोप्नुभन्दा वनमा भएका विरुवा र रोपिएका विरुवा जोगाउने काममा हामी लागेका छौँ। जिल्लामा वन क्षेत्र बढ्दै जानुमा सामुदायिक वन उपभोक्ताको भूमिका महत्त्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देविप्रसाद न्यौपानेले बताए।
जिल्लामा सामुदायिक र कबुलियती वन उपभोक्ता समितिहरूको सक्रियताकै कारणले पनि वन संरक्षण भएको हो। गत वर्ष मात्र पाँचथरको मिक्लाजुङ १ मा रहेको ठाडो नागी कबुलियती वन समूह देशभरका कबुलियती वनहरूमा पहिलो भएर एक लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो। जिल्लामा सामुदायिक र कबुलियती वन समूहको सक्रियताकै कारण वन क्षेत्र बढेको डिभिजन प्रमुख राई बताउँछन्।





