वन्यजन्तु पीडितको व्यथाः दिनरात आक्रमणको त्रास, बाली सखाप

काठमाडौँ – माया कुमालका अधिकांश रात वन्यजन्तुको त्रासमा नै बित्छन्। नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका– १ की स्थायी बासिन्दा कुमालको घर जंगलको छेवैमा छ। जंगलबाट गैँडा निस्केर झम्टने हो कि भन्ने क्रासले गाँजिरहन्छ उनलाई । दिउँसोको समयमा त त्यति डर छैन किनकी आफन्त र छिमेकीको चहलपहल हुन्छ । जब साँझ पर्न थाल्छ तब उनमा डरको मात्रा पनि क्रमशः बढ्दै जान्छ।

उनलाई शौचालय जान समेत डर लाग्छ । शहरमा जस्तो घरभित्रै शौचालय सुविधा छैन, घर बाहिर रहेको शौचालयमा जानुपर्छ । कुनै कालो वस्तु देख्दा पनि गैँडा नै पो हो कि जस्तो लाग्छ उनलाई । ‘कम्ता डर लाम्दैन… गैडा आम्च कि भनेर,’ नजिकैको जंगलतिर चोर औला सोझ्याउँदै उनले भनिन्, ‘उ यही जंगल छ,… लाम्नु कुन बेल्याँ गाम छिर्छ भन्ने पीर लाम्च, घरमा एक्लै हुँदा नि डरैडर हुन्छ, रातमा त झन् एक्लै बस्न गाह्रो लाग्छ ।’
उनी मात्रै होइनन्, सोही गाउँका मनबहादुर कुमाललाई पनि गैँडा आक्रमणमा परिन्छ कि भन्ने डरले गाँजेको छ। बेलाबेलामा गाउँमा गैँडा छिर्छ। तर, अहिलेसम्म आक्रमणबाट जोगिएका छन् उनीहरू। तर, आक्रमणको त्रासले जतिबेला पनि गाँजिरहेको हुन्छ। गैँडा आउने बित्तिकै भागाभाग हुन्छ। ‘आजसम्म त जोगिएका छौँ, तर कुन बेला आक्रमणमा परिएला भन्ने डर लाग्छ,’ उनले भने। धनमाया पुलामी बेलाबेलामा अन्य ठाउँमा गैँडाको आक्रमण भएका घटना समाचारमा सुन्छिन् । यस्ता समाचारले कतै आफू पनि आक्रमणमा परिने पो हो कि भन्ने भय हुन्छ।

बालिनाली विनाशले आजित
कतै आक्रमणमा परिने हो कि भन्ने त्रास एकातिर छ, अर्काेतर्फ बालिनालीको विनासका कारण आजित छन् स्थानीय। कर्णकुमार श्रेष्णले दुःख गरेर धान बाली लगाए । बाली लगाएदेखि नै कहिले पानी लगाउन त कहिले गोडमेल गरेर उत्पादन बढाउन कस्सिए । मङ्सिरमा धानले भाकारी भरिएला भने अपेक्षा थियो उनको। राम्रो बाली थन्काउन पाइएला भन्ने आशा थियो । तर, धान गैँडाले सखाप पारिदियो। अहिले उनलाई न रुनु न हाँस्नु बनाएको छ। ‘कति दुःख गरेर बाली लगाइयो तर गैँडाले सबै सखाप नै पार्छ, हरेक वर्षको बाली हामी थन्काउनै पाउँदैनौँ,’ उनी भन्छन्, ‘खेती नगरे के खाएर बाँच्ने ? लगाउँ गैँडालाई नै ठिक्क हुने ।’ उनी एक प्रतिनिधी पात्र मात्रै हुन्। गैँडाले बालीनाली विनाश गरेपछि धेरै स्थानीय आजित छन्। गैँडाले बालीनाली विनाश नगरोस् भनेर उनीहरूले खेतमा पुत्ला बनाएर राखेका छन्। तर, गैंडाले पुत्ला नै उखेलिदिन्छ। कहिले भख्खरै रोपेको बाली विनास गर्छ त कहिले पाक्न लागेको बाली।

गाउँपालिकामा गुनासो
गैँडाले बालिनाली विनाश गरेपछि विनयी त्रिवेणी गाउँपालिकाका स्थानीय गुनासा लिएर जनप्रतिनिधिकोमा पुग्छन्। यो गाउँपालिकाका सर्वसाधारण अन्य भौतिक विकासका पूर्वाधारभन्दा गैँडाको आक्रमणबाट कसरी बच्ने ? र गैँडाले बालीनाली विनाश ग¥यो भन्नेमा बढी चिन्तित छन् । त्यसैले यहाँका स्थानीय यसको समाधानका लागि गाउँपालिकामा पुग्ने गरेको बताउँछिन्, गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी रानामगर।

‘यो गाउँपालिकामा गैँडा आतङ्कले मानिसलाई हैरान बनाएको छ, त्यसैले हामीलाई गुनासो गर्नुहुन्छ कि, गैँडाले हाम्रो बालीनाली विनाश गर्छ भनेर, निवेदन बढिरहेको छ,’ उनले भनिन्, ‘तर हामीले चाहेर पनि केही गर्न सकिरहेका छैनौँ। मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई कसरी न्यूनीकरण गर्न सकिएला भन्ने विषयमा सोचिरहेका छौँ।’

सरकारले ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७४’ मा बालीको विनास हुँदा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरेको छ । ‘सम्बन्धित उपभोक्ता समिति, गाउँ विकास समिति/नगरपालिका तथा कार्यालयका प्रतिनिधि समेतबाट प्राप्त क्षतिसम्बन्धी प्रतिवेदन र सिफारिसका आधारमा खाद्यान्न बालीको क्षति, क्षेत्रफल र प्रकृति हेरी बढीमा रु. १०,०००।– (दश हजार) सम्म राहत रकम उपलव्ध गराइनेछ,’ निर्देशिकाको बुँदा नं ५ को ३. १ मा व्यवस्था गरिएको छ तर, एक मौसममा लगाएको बालीको हकमा वर्षमा दुई पटकसम्म राहत रकम उपलब्ध गराइनेछ।’

तर, यस विषयमा उनीहरू अनविज्ञ देखिन्छन्। ‘खै राहत कहाँ पाइन्छ भनेर केही थाहा छैन,’ स्थानीय मनबहादुर पुलामी भन्छन्, ‘पाए त हुन्थ्यो नि हामी गरिब किसानहरूलाई केही भए नि राहत मिल्थ्यो ।’ यस विषयमा गाउँपालिकाले पनि कुनै किसिमको पहल नगरेको उनीहरूको गुनासो छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता विष्णु श्रेष्ठ मानव वन्यजन्तु द्वन्द्व पीडितले निवेदन दिएमा क्षतिपूर्तिको व्यवस्था रहेको बताउँछन् । ‘कयौँ स्थानीयले क्षतिपूर्ति पाएका छैनन् भन्ने गुनासा सुन्नमा आएका छन्,’ उनले थपे, ‘प्राप्त निवेदनका आधारमा नै क्षतिपूर्ति उपलब्ध गराउने हो । प्रचारप्रसार भइरहे पनि कतिले यस विषयमा थाहा पाएका छैनन्।’

के छ निर्देशिकामा ?
वन्यजन्तुबाट हुने क्षतिको किसिम र राहत प्राप्त गर्ने आधारहरू :
क. मानवीय क्षति : संरक्षित क्षेत्र र राष्ट्रिय वन क्षेत्रबाहेक अन्यत्र वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा, गम्भीर घाइते भएमा वा उपचार गर्नु पर्ने गरी घाइते भएको अवस्थामा यस निर्देशिकाबमोजिम राहत रकम उपलव्ध गराइनेछ। त्यसैगरी संरक्षित क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा सरकारी काममा खटिएका कर्मचारी र वन संरक्षणको कामको लागि अनुमति लिइ काममा खटिएका कामदारलाई उल्लेखित वन्यजन्तुले क्षति पुर्‍याएमा समेत यस निर्देशिकाबमोजिम राहत उपलव्ध गराउन सकिनेछ।

ख. पशुधनको क्षति : संरक्षित क्षेत्र र राष्ट्रिय वनक्षेत्रबाहेक अन्यत्र वन्यजन्तुको आक्रमणमा परी वस्तुभाउको मृत्यु भएमा यस निर्देशिकाबमोजिम राहत रकम उपलव्ध गराउन सकिनेछ । तर पशुधनको बीमा गरेको अवस्थामा बीमा रकम कटाएर राहत उपलव्ध गराइनेछ।

ग. भण्डारण गरेको अन्नको क्षति : वन्यजन्तुले घरगोठभित्र भण्डारण गरेको अन्नको क्षति गरेमा मात्र क्षतिको मूल्याङ्कनको आधारमा राहत उपलब्ध गराउन सकिनेछ।

घ. घर/गोठको क्षति : वन्यजन्तुले प्रयोगमा रहेको घर/गोठको क्षति गरेमा क्षतिको मूल्याङ्कनको आधारमा राहत रकम उपलव्ध गराउन सकिनेछ।

ङ. खाद्यान्न बालीको क्षति : वन्यजन्तुले खाद्यान्न (उखु र व्यवसायिक केरा खेती समेत) बाली नोक्सान गरेमा मूल्याङ्कनका आधारमा राहत रकम उपलव्ध गराउन सकिनेछ ।

च. हिमाली क्षेत्रसम्बन्धी विशेष व्यवस्था : हिमाली संरक्षित क्षेत्रहरूभित्र भएका बस्तीहरूमा वन्यजन्तुले क्षति पु¥याएमा समेत यस निर्देशिका बमोजिम राहत रकम उपलव्ध गराइनेछ ।

राहत माग तथा राहत वितरण गर्दाको कार्यविधि :
क. राहत सहयोग माग गर्ने व्यक्तिले बाटोको म्यादबाहेक घटना घटेको मितिले कम्तिमा ३५८ दिनभित्र सम्बन्धित संरक्षित क्षेत्र वा जिल्ला वन कार्यालयसमक्ष निवेदन दिनु पर्नेछ।

ख. यसरी प्राप्त हुन आएका निवेदनमाथि राहत वितरण सिफारिस समितिले निर्णय गरी उपलव्ध गराउनु पर्ने राहतको रकम सम्बन्धित संयोजकको कार्यालयमार्फत क्षेत्रीय वन निर्देशनालयमा माग गर्नु पर्नेछ।

ग. सम्बन्धित क्षेत्रीय वन निर्देशनालयबाट राहत रकम उपलव्ध भएपछि संरक्षित क्षेत्रको हकमा सम्बन्धित संरक्षित क्षेत्रको कार्यालय र जिल्ला वन कार्यालयको हकमा जिल्ला वनकार्यालय मार्फत पीडित/हकवालालाई कम्तिमा २ जना माथवर साक्षीको रोहवरमा राहत रकम भुक्तानीको व्यवस्था गर्नु पर्नेछ।

घ. राहत वितरण गर्दा मानवीय क्षति भएमा मृतकको हकमा नजिकको हकवाला, गम्भीर तथा सामान्य घाइतेको हकमा निज स्वंय वा मञ्जुरीनामाको आधारमा र अन्य क्षतिको हकमा सम्बन्धित हकवालालाई राहत रकम उपलब्ध गराइनेछ।

ङ. मानिसको मृत्यु र गम्भीर घाइते भएको अवस्थामा पीडित पक्षबाट माग भएमा मानिस मृत्यु भएकोमा रु. ५०,०००।– (पचास हजार) सम्म र गम्भीर घाइते भएमा रु. १०,०००।– (दश हजार) सम्म पीडितले राहत पाउने रकमबाट सोधभर्ना हुने गरी सम्बन्धित कार्यालयबाट अग्रिम भूक्तानी दिन सकिनेछ।

च. यस निर्देशिकाबमोजिम वितरण गरिने राहत रकम भरसक÷सकेसम्म चेकमार्फत भूक्तानी गरिनेछ।

ताजा समाचार

सम्बन्धित समाचार