हरेक वर्ष १६ सेमी धसिँदै उपत्यका

काठमाडौँ – भूमिगत पानीको अत्याधिक दोहनले काठमाडौँ उपत्यका भासिँदै गएको छ । हरेक वर्ष काठमाडौँको भू–सतह ३ देखि १३ सेन्टिमिटर धसिँदै गइरहेको एक अध्ययनले देखाएको छ । पाँचवर्ष अघि त्रिचन्द्र कलेज भू–गर्व शिक्षण विभागले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्ट, र यूनिभर्सिटी अफ न्याभिकेसन कन्सोटिएम (यूनाप्को) अमेरिकासँग मिलेर काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा जीपिएस प्रणाली जडान गरी, गरिएको अध्ययनले यो तथ्य पत्ता लागेको हो।

त्रिभूवन विश्वविद्यालय त्रिचन्द्र कलेजको भू–गर्व शिक्षण विभागका अध्यक्ष अनन्त गजुरेल अनुमान गरेभन्दा बढी काठमाडौँ उपत्यका भासिएको बताउँछन् ।

पाँच वर्षसम्म गरिएको अध्ययन र प्राप्त तथ्यहरूले उपत्यकाको भू–सतह हरेक वर्ष १३ सेन्टिमिटरका दरले धसिएको अध्ययनमा संलग्न यूनाप्कोकी प्रोजेक्ट म्यानेजर डा. वे्रथपर्ट सिटौलाले बताइन् ।

वासिन्टन स्थित ‘स्कूल अफ इन्टरनेशनल टिचिङ्ग’ की प्राध्यापकसमेत रहेकी सिटौलाका अनुसार छाउनी, भक्तपुरस्थित सैनिक महाविद्यालय, लाजिम्पाट, शिवपुरी, बाँसबारी, ललितपुरको खुमलटारस्थित नास्ट कार्यालय परिसरमा जिपिएस स्टेसन राखेर काठमाडौँको भू–सतहको अध्ययन गरिएको थियो । यी ठाउँमध्ये लाजिम्पाट र छाउनीमा भू–सतह धसिनेक्रम प्रतिवर्ष १३ सेन्टिमिटरभन्दा बढी भएको सिटौला बताउँछिन् । भक्तपुरको सैनिक महाविद्यालयमा जमिन धसिनेक्रम ३ सेमी मात्र रहेको पाइएको छ । “प्राप्त तथ्यहरूलेको विश्लेषण गर्ने काममा लागेका छौँ, उनी भन्छिन्, “प्रारम्भिक तथ्यहरूले १३ सेमी धसिएको पाइएको छ, यो गम्भीर विषय हो । तत्कालका लागि यसका असर नदेखिए पनि केही वर्षमा गम्भीर असरहरू देखिन सक्छ ।”

घरहरू कोल्टिने, जमिनमा धाँजा पर्ने र ढल व्यवस्थापन तथा खानेपानीको पाइपलाइमा समस्या पुग्ने उनको भनाइ छ ।

किन धसियो ?

अध्ययनमा संलग्न विज्ञहरू भूमिगत पानीको अत्याधिक दोहनका कारण जमिन भासिएको बताउँछन् ।

भू–गर्वशास्त्री गजुरेलका अनुसार काठमाडौँ उपत्यकाकामा ६ सय मिटर गहिराइसम्म माटो र बालुवा छ । जमिन मुनिको बालुवा तथा छिद्रहरू पानीले भरिएका हुन्छन् । जसलाई भूमिगत जलश्रोतको भण्डारण भनिन्छ । ६ सय मिटरभन्दा तल चन्द्रागिरी, फूलचोकीको बाहिरी भागमा पाइने जस्ता चट्टान पाइन्छ । चट्टानको तहभन्दा माथि बालुवा र माटोका छिद्रमा पाइने पानीको उपयोग गरेका कारण जमिन धसिएको गजुरेल बताउँछन् । “बढ्दो सहरीकरणसँगै जमिन मुनिको पानीको उपयोग बढ्यो, पानी रिचार्ज हुन पाएन, जसले गर्दा जमिन भासियो,” गजुरेल भन्छन् ।

उनका भनाइमा समस्या उपत्यकाको खाल्डोमा मात्र हो । शिवपुरीमा जमिन धसिएको पाइएन । २ सेन्टिमिटर भू–सतह तलमाथि हुनु सामान्य हो । मनसुनको पानीले २ सेमी तलमाथि हुन्छ । गजुरेलका भनाइमा मनसुनको पानी जमिनको छिद्रमा पस्दा त्यसले जमिनको भागलाई २ सेमी माथि उठाउँछ भने जमिन सुख्खा हुँदा तल पनि जानसक्छ ।

सन १९९० मा अमेरिकाले जिपिएस (ग्लोबल पोजिसनिङ्ग सिस्टम) खुल्ला गरेपछि नेपालको भू–सतह नाप्न सुरु गरिएको थियो । हिमालय क्षेत्र आफैँमा चलायमान भएको र यसको अवस्था जानकारी पाउनका लागि फ्रेन्च वैज्ञानिकहरूले सन् १९९४ मा पश्चिम नेपालका विभिन्न ठाउँमा जिपिएस स्टेसन खडा गरेका थिए । त्यसपछि अमेरिकन वैज्ञानिकहरूले त्यसलाई पूर्वी नेपाल र तराईका अन्य ठाउँमा समेत फैलाएका थिए ।

भूगर्व शास्त्री गजुरेलका भनाइमा ललितपुरको खुमलटार र शिवपुरी क्षेत्रमा राखिएका दुईवटा जिपिएस स्टेशनका आधारमा नै २०७२ सालमा गोर्खा केन्द्रविन्दु भएर गएको भूकम्पले काठमाडौँ उपत्यका दक्षिण सरेको पत्ता लागेको थियो । उनका अनुसार भूकम्पका कारण शिवपुरीको डाँडा १७५ सेन्टिमिटर दक्षिण सरेको छ भने काठमाडौँ उपत्यका १२० सेन्टिमिटर । काठमाडौँको नास्टस्थित कार्यालय र शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरमा २०७१ सालमा राखिएको दुईवटा जिपिएस स्टेसनबाट उक्त तथ्य पत्ता लागेको हो । भूकम्पअघि खुमलटारमा राखिएको जिपिएस स्टेसनले उक्त क्षेत्र ११ सेन्टिमिटर भासिएको देखाएको छ ।

यूनाप्कोकी प्रोजेक्ट म्यानेजर व्रेथपर्ट सिटौला काठमाडौँ उपत्यकाको जमिन भूकम्पका कारण नधसिएको बताउँछिन् । “भूकम्प अघि पनि जमिन धसिएको देखिएको छ, जमिन धसिने विषय गम्भीर हो,” उनी भन्छिन् ।

जिपिएसले पृथ्वीको कुनै पनि स्थानको उचाइ, अक्षांश र देशान्तरलाई निश्चित गर्दछ । भू–गर्वशास्त्री अनन्त गजुरेलका अनुसार पृथ्वीको भू–सतह मापनका लागि स्थापना गरिएका जिपिएस सेन्टरले छिनछिनका गतिविधिलाई भू–उपग्रहमा पठाउँछ । जिपिएसले भू उपग्रहमा पठाएका तथ्यका आधारमा नै सतहको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ।

उपत्यकामा पानी

भू गर्वशास्त्रीहरूका अनुसार काठमाडौँ उपत्यकाको भू–सतह धसिनुको प्रमुख कारण यहाँको भूमिगत पानीलाई मानिएको छ । अहिले दैनिक रूपमा १० करोड लिटरभन्दा बढी भूमिगत पानीको उपयोग हुँदै आएको छ। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व सह–प्राध्यापक पानी व्यवस्थापन इन्जिनियर आशुतोष शुक्लाका अनुसार पानीका स्रोत मूल, खोला र भूमिगत गरी तीन किसिमका हुन्छन् । उपत्यकामा पानीको मुख्य स्रोत भूमिगत नै हो। बर्खाको पानी जमिनको सतहमुनिको खँदिलो चट्टानको तह (बेडरक लेयर) भन्दा तल पुग्दैन। बेडरक तहभन्दा माथि नै रहेको उक्त पानी भित्रभित्र बग्दै विभिन्न स्थानबाट मूलको रूपमा बाहिर निस्किन्छ ।

अहिलेसम्म उपत्यकामा भूमिगत पानी कति छ भनेर अध्ययन भएको छैन । तर, पानी निकाल्ने अनुपातमा पानी रिचार्ज नभएको शुक्ला बताउँछन् ।

३० वर्षयता उपत्यकामा भूमिगत पानीको अवस्थाबारे विस्तृत अध्ययन भएको छैन । सन् १९९४ मा जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययन नै यससम्बन्धी अहिलेसम्मको पछिल्लो आधिकारिक अध्ययन हो । उक्त अध्ययनअनुसार, भूमिगत पानीका आधारमा उपत्यकालाई उत्तरी, मध्य र दक्षिणी गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । जसअनुसार उपत्यकाको उत्तरी क्षेत्र पानी रिचार्जका लागि महत्वपूर्ण मानिन्छ । जाइकाको अध्ययनले उपत्यकामा दैनिक डेढ करोड लिटर मात्र भूमिगत पानी प्रयोग गर्न सकिने औँल्याएको थियो ।

पानी व्यवस्थापन इन्जिनियर शुक्लाका भनाइमा उपत्यकाको उत्तरी क्षेत्रमा रहेको जलाधार क्षेत्र तथा त्यस क्षेत्रमा प्रशस्तै रहेका बालुवाका ढिस्काले गर्दा यो क्षेत्रलाई पानी रिचार्जका लागि महत्वपूर्ण मानिएको हो । बालुवाका ढिस्का, खाली जमीन र वन क्षेत्रले आकाशबाट परेको पानी सोसेर जमीनमुनि पु¥याउँछन् भने पोखरी, ताल, इनारको पानीसमेत जमिनको सतहमुनि बग्दै प्रशोधित हुन्छ । यही पानी ट्यूबवेलबाट निकालिन्छ, ढुङ्गेधारामा रसाउँछ । तर, पछिल्लो समयमा काठमाडौँको उत्तरी क्षेत्र मात्र होइन सबैतिर रहेका बालुवाका ढिस्का मासेर जग्गा प्लटिङ र घर निर्माण भइरहेका छन् ।

उपत्यकामा भूमिगत पानीको अत्यधिक दोहन भइ स्रोत कम हुँदै गएपछि त्यसको नियमन गर्न २०७१ सालमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ‘भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमति पत्र जारी गर्ने सम्बन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा, अनुमति नलिइ भूमिगत स्रोतबाट पानी निकाल्न नपाइने, स्वीकृत परिमाणमा मात्र पानी निकाल्नुपर्ने, पानी पुनर्भरण (रिचार्ज) को व्यवस्था गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ । बोर्डका हाइड्रोजियोलोजिस्ट अनुज खनाल आफूहरूले उपत्यकाभित्र जडान गरिएका डीप ट्यूबवेलहरूको नियमित अनुगमन गरिरहेको दाबी गरे पनि त्यो दाबी पत्याउने आधार भेटिँदैन ।

वे्रथपर्ट सिटौला काठमाडौँ उपत्यका धसिने क्रमलाई रोक्ने एक मात्र उपाय यहाँको भूमिगत जलभण्डारणलाई बचाउनु भएको बताउँछिन् । “जति पानी निकाल्छौँ, त्यही मात्रामा पुर्नभरण गर्ने व्यवस्था भए, जमिन धसिने क्रम रोकिन्छ,” उनी भन्छिन् । अर्का भू–गर्व शास्त्री अनन्त गजुरेल जमिन धसिने प्रक्रियाले जमिनमुनि पानीको सतह नै घट्न जाने बताउँछन् । उनका भनाइमा असन्तुलित तरिकाले पानी निकाल्दा जमिनको सतह भासिन गई पानीको सतहभन्दा माथिका खाली छिद्रहरू थिचिन पुग्छन् । थिचिएका छिद्रहरू प्रारम्भिक अवस्थामा फर्कन सक्दैनन् । जसले गर्दा पानी भण्डारण गर्ने स्थान घट्न जान्छ ।

भूगर्व शास्त्रीहरू काठमाडौँले मेक्सिको सिटीको जस्तो नियति भोग्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्दछन्।

दक्षिण अमेरिकि राष्ट्र मेक्सिको सिटीमा भूमिगत पानीको भण्डारण उपयोगले संकट निम्ताएको छ। भूमिगत पानी रित्तिएपछि त्यहाँ पानीको संकट छ भने अर्कोतिर जमिन धसिने क्रम तीव्र छ। जमिन धसिँदा ढलको व्यवस्थापनमा समस्या आएको छ । त्यसैगरी भूमिगत रेलका लिकहरू तलमाथि भएका छन् । सडकमा धाँजा फाट्ने र घरहरू कोल्टिएको देख्न पाइन्छ ।

न्याप्कोकी प्रोग्राम म्यानेजर डा. वे्रथपर्ट सिटौलाका अनुसार मेक्सिको सिटिको भू भाग ज्वालामुखी विस्फोटबाट बनेको धुलोका कणहरूबाट बनेको हो । त्यहाँ भूमिगत पानीको अत्यधिक दोहनका कारण यस्तो समस्या देखिएको उनी बताउँछिन्।

ताजा समाचार

सम्बन्धित समाचार