हिमनदी पग्लिँदा हिमाली क्षेत्रमा पानीको अभाव हुनसक्छ:विज्ञ

काठमाडौँ – जलवायु परिवर्तनका कारण हिमनदी पग्लिँदा हिमाली क्षेत्रमा भविष्यमा पानीको गम्भीर संकट देखिने विज्ञहरूले औँल्याएका छन्।

हिमनदी अनुसन्धानकर्ता तेन्जिङ्ग छोक्याल शेर्पा पनि हिमनदी पग्लिँदा त्यसको असर पिउने पानीमा पर्ने देख्छन्। खुम्बु क्षेत्रका स्थानीय बासिन्दासमेत रहेका अनुसन्धानकर्ता शेर्पाको अनुभवले पनि बिस्तारै पानीको संकट देखिन सुरु भएको छ। सोलुखुम्बुको खुम्बु पासाङ्गल्यामु गाउँपालिकाका नाम्चे, खोम्जोङ् र खुन्दे गाउँको पानीको मुख्य श्रोत हो, ग्याजो हिमनदी। ग्याजो हिमनदीको हिउँ पग्लिएर सकिएपछि यी गाउँका लागि पानीको श्रोत ठप्प हुने शेर्पा बताउँछन्।

अनुसन्धानकर्ताहरूका भनाइमा, हिमाली क्षेत्र भएर बग्ने नदीको पानीको श्रोतमै प्रभाव पर्दछ। हिमाली अनुसन्धान केन्द्रका अध्यक्ष एवम् अनुसन्धानकर्ता धनञ्जय रेग्मी हिमरेखा (इकयुलिविरिफ लाइन) माथि सर्ने क्रममा समेत वृद्धि भएको बताउँछन्। उनका भनाइमा पहिला प्रशस्त हिउँ पाइने ठाउँको हिउँ पग्लिएको छ। यो क्रम उचाइतिर सर्दै गइरहेको छ। विश्वव्यापी रूपमा भइरहेको तापक्रम वृद्धि र त्यसले हिमालय क्षेत्रमा पर्ने प्रभावका बारेमा विभिन्न अध्ययन रिपोर्टहरू प्रकाशित भएका छन्। ती अध्ययन र रिपोर्टले फरक फरक तथ्यहरू औँल्याएका छन्। एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गत माघमा सार्वजनिक गरेको ‘हिन्दु कुश मूल्याङ्कन’ प्रतिवेदनले सन् २१०० सम्ममा ७० देखि ९९ प्रतिशतसम्म हिउँ पग्लिने उल्लेख गरेको छ । ‘साइन्स अफ दी टोटल इन्भाइरोमेन्ट’ जर्नलमा प्रकाशित ‘दूधकोशी वेसिनको घटना अध्ययन र हिमालय क्षेत्रमा पानीको भविष्य’ । सन् २१०० सम्म ५० प्रतिशतसम्म हिउँ हराउने उल्लेख छ। त्यसैगरी यूनिभर्सिटी अफ लिट्स्ले ‘अर्थ एण्ड प्लेनटरी लेटर्स’मा प्रकाशित आलेखमा सन् २१०० सम्ममा ८ देखि १० प्रतिशत हिउँको मात्रा हराउने उल्लेख छ।

त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्रमुख डा. नरेन्द्र खनाल हिमालय क्षेत्रको बारेमा प्रकाशित भएका अध्ययनहरूले औँल्याएको विषयलाई अध्ययन विधिसँग जोडेर हेर्नुपर्ने बताउँछन्। “हिमालयको अध्ययन हुन थालेको सन् १९८० को दशकदेखि मात्र हो, अनुसन्धानकर्ताका अनुसन्धान गर्ने विधि फरक फरक हुन्छन्, त्यसैले फरक फरक रिपोर्ट आएका हुन्,” खनाल भन्छन् “सबै अध्ययनले हिमालय क्षेत्रको जोखिमलाई औँल्याएका छन्, जलवायु परिवर्तनले जोखिम बढाएको भनेर बुझ्नुपर्दछ।”

पछिल्लो समयमा गरिएका अध्ययन अनुसन्धानले हिमाली क्षेत्रमा हिमनदी पग्लिने क्रम तीव्र रूपमा बढिरहेको देखाएका छन्। हिमनदी अनुसन्धानकर्ता तेन्जिङ्ग छोक्याल शेर्पाका अनुसार सन् १९८०–२०१० सम्म सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा मात्र १ लाख ८ हजार ४२५ रोपनी क्षेत्र बराबरको हिउँ पग्लिएर हराएको छ। उक्त क्षेत्रमा अहिले हिउँको सट्टा पत्थर मात्र पाउन सकिन्छ। खुम्बु क्षेत्रका हिमनदीमा गरिएको अध्ययनले ५५ वर्ग किलोमिटर अर्थात त्यसबाट ३६ विलियन क्यूविक मिटर पानी बगेको अनुमान छ। शेर्पाका अनुसार त्यो भनेको १४ हजार ओलम्पिक गेमका पौडी पोखरी भर्न सकिने पानी हो। अहिले खुम्बु क्षेत्रमा १९८ वटा हिमनदी रहेका छन्।

हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष डा. धनञ्जय रेग्मी जियोथर्मलहिटको प्रभाव (जमिनको भाग तातो हुने प्रक्रिया) ले हिमनदी पग्लिएको बताउँछन्। खुम्बु क्षेत्रका हिमनदी प्रतिवर्ष ४०–५० मिटरका दरले अघि बढेको रेग्मी बताउँछन्। सन् २०१६ देखि बेलायतको यूनिभर्सिटि अफ लिट्स र हिमालय रिसर्च सेन्टरले संयुक्त रूपमा खुम्बु हिमनदीमा गरेको अध्ययनले पनि सतहमुनि बरफको तापक्रम अपेक्षा गरेभन्दा बढी पाइएको छ। अनुसन्धान टोलीका टिम लिडर डा. डोक्कन कोइन्सी सहितको टीमले खुम्बु आइसफलमा १९२ मिटर गहिराइमा तापक्रम ० देखि माइनस ३ डिग्री सेल्सियस पायो। जब कि यस ठाउँमा माइनस १० देखि माइनस १५ डिग्री हुनुपर्ने पूर्व अनुमान थियो। अनुसन्धान टोलीले ५ हजार ३ सय मिटर तलको खुम्बु हिमनदीका थुक्ला, लोभुचे, पिरामिड, गोस्वक्षेप र सगरमाथा बेसक्यामका पाँच ठाउँमा २७ वटा प्वाल बनाएर तापक्रमको अध्ययन गरेको थियो। बरफको तापक्रम हावाको तापक्रमभन्दा पनि तातो पाइएकाले हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम अझ बढ्ने डा. डोक्कन कोइन्सी बताउँछन्। सन् १९७० मा केही जापानी वैज्ञानिकहरूले हिमाली क्षेत्रमा जमिनमुनिको तापक्रम पत्ता लगाउन अनुसन्धान गरेका थिए। त्यसयता जमिनमुनिको तापक्रमका बारेमा अनुसन्धान भएको यो नै पहिलो पटक हो।

यस्तो छ परिवर्तन

खुम्बु क्षेत्रमा पर्ने सोरङ्ग हिमालमा सन् १९७८ मा प्रशस्त हिँउ देखिन्थ्यो। तर, सन् २००४ मा आउँदा हिउँ पग्लिएर उक्त हिमालको स्वरूप नै परिवर्तन भएको छ। त्यसैगरी खुम्बु क्षेत्रको अर्को प्रमुख फोकाल्दे हिमनदीमा अहिले काला चट्टान मात्र पाइन्छन्। सन् १९७० मा हिउँको ढिस्को देखिने ग्योजो हिमनदी अहिले लोप हुने अवस्थामा पुगेको छ। वैज्ञानिकहरूका भनाइमा हिमश्रृङ्खलाको हिउँ हराउँदै जानुमा बढ्दो तापक्रम प्रमुख रहेको छ। बेलायतको यूनिभर्सिटी अफ लिट्सका प्रोफेसर डा. डोक्कन कोइन्सी हिमाली क्षेत्रको हिउँ पग्लिनुमा बढ्दो औद्योगकीरण र त्यसका कारण उत्सर्जित हरितगृह ग्याँस प्रमुख जिम्मेवार रहेको ठान्छन्।

हुन पनि सन् १८८५ देखि १९३९ सम्म –१७.७७ डिग्री सेल्सियस भन्दा तल रहेको विश्वको औसत तापक्रम सन् १९३९ देखि शून्य फरेनहाइटबाट वृद्धि भएर सन् १९४१ मा माइनस १७.५ डिग्री सेल्सियस कायम रह्यो । सन् १९४० देखि १९७६ सम्म तापक्रममा उतार चढाव आएको पाइन्छ। यस अवधिमा तापक्रम कहिले माथि र कहिले तल झर्ने क्रम दोहोरिएको डा. डोक्कन कोइन्सी बताउँछन्। सन् १९७६ देखि भने विश्वको तापक्रममा सधैँ वृद्धि भयो। विश्व मौसम सङ्गठनका अनुसार १९७६ देखि २०१६ सम्म औशत तापक्रम १.५ डिग्री भन्दा बढी वृद्धि भयो। सन् १९७० देखि यता विश्वको तुलनामा नेपालको तापक्रम वृद्धिदर दुइ गुणा बढी छ। जसले गर्दा पनि नेपालका हिमाल छिटो पग्लिरहेको यस क्षेत्रका जानकारहरू बताउँछन्। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३० वर्षमा मात्र नेपालको तापक्रम १.६ डिग्रि सेल्सियसले बढेको छ । यही गतिमा तापक्रम वृद्धि हुने हो भने आगामी १०० वर्षमा नेपालको तापक्रम वृद्धिदर ५ डिग्री सेल्सियस पुग्नेछ। वातावरण मन्त्रालयलयले सन् २०१० मा गरेको अध्ययनले २०३० मा तापक्रम वृद्धिदर १.२, २०५० सम्म १.७ र सन् २१०० मा ३ डिग्रि सेल्सियस पुग्ने आकलन गरेको थियो।

विभिन्न अध्ययनहरूले पनि हिमाल पग्लिनेक्रम तीव्र गतिमा वृद्धि भएको दखाएका छन्। हालै ‘साइन्स एड्भान्स’मा प्रकाशित एक अनुसन्धान आलेखका अनुसार सन् २००० देखि २०१६ सम्ममा हिमालय क्षेत्रको बरफ पग्लिने दर दोब्बर वृद्धि भएको औँल्याइएको छ। सन् १९७० देखि अलिहेसम्म भू–उपग्रहको माध्यमबाट लिइएका तस्वीरहरूको विश्लेषण गरिएको प्रतिवदेनमा हिन्दुकुश हिमालयको २ हजार किलोमिटर क्षेत्रलाई आधार बनाएर अध्ययन गरिएको थियो। उक्त प्रतिवेदनका अनुसार, ८ बिलियन टन बरफ प्रत्येक वर्ष हिमालय क्षेत्रमा पग्लिएर हराइरहेको छ। उक्त अध्ययनले हिमाली क्षेत्रमा हिमनदीको उचाइ प्रत्येक वर्ष ५ मिटरका दरले घटिरहेको उल्लेख गरेको छ साथै मानवीय क्रियाकलापले विश्वव्यापि रूपमा तापक्रम वृद्धि, प्रदूषण र स्थानीय मौसमले हिमाल पग्लिनुमा प्रमुख भूमिका निर्वाह गरेको उल्लेख गरेको छ।

साइन्स एड्भान्समा प्रकाशित अनुसन्धान आलेखका अनुसार हिमालय क्षेत्रको २ हजार किमि क्षेत्रको बरफ पग्लिँदा १ विलियन मानिस प्रभावित हुन्छन्। १ विलियन मानिसको पिउने पानीको मुख्य श्रोत नै हिमालय क्षेत्र हो। हिमालहरू पग्लिँदा खानेपानीको श्रोत प्रभावित हुने र त्यसले संकट निम्तिने अनुसन्धानमा संलग्नमध्येका एक अनुसन्धानकर्ता प्रोफेसर जोर्ज शेफर बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार