काठमाडौँ – यो वर्षातको समय हो। खोलामा पानीको सतह बढेको छ, बाढी र पहिरोको प्रकोप जताततै छ। तर, काठमाडौँमा खानेपानीको संकट उस्तै छ। वर्षातको हिलोमा घर घरमा खानेपानी पुर्याउन ट्ंयाङकरहरूलाई भ्याई नभ्याई छ। वर्षातको समयमा केही हदसम्म टयुवेल र ट्याङकी केही पानी रसाउँछ र त्यसले थोरै राहत दिन्छ। तर, जब सुख्खायाम शुरु हुन्छ, पानीको समस्या झन् भयावह बन्दै जान्छ।
जब गर्मी सुरु हुन्छ अनि पानीको चिन्ताले अतालिन्छिन् सामाखुसीकी कल्पना थापा। गर्मीयाममा ट्युवेल सुक्छ। पानी कहाँबाट ल्याउनु ? धारामा पानी १ साता बिराएर आउँछ। त्यो पनि १ रात नै अनिधो बस्नुपर्छ। असार महिना लागेसँगै उनी ढुक्क थिइन्। पानीको सुबिस्ता हुन्छ भन्नेमा। असार गयो। साउन पनि गयोे। तर उनको सुकेको ट्युवेल रसाएन । धारामा पानी आउने पालो कुर्न १ साता नै लाग्छ। अघिल्लो वर्ष यति बेला ट्युवेल र धारा दुवैमा पानी आउँथ्यो । तर यस वर्ष पानी कम परेकाले आएन।
अघिल्लो वर्षसम्म उनलाई लाग्थ्यो अब छिट्टै नै मेलम्ची आउने छ अनि पानीको समस्याबाट मुक्त हुन पाइने छ ।खानेपानीमन्त्री बिना मगरले गतवर्ष नै भनेकी थिइन्, “दशैँसम्म मेलम्ची आउँछ भनेर। एउटा दशैँ मात्रै होइन अर्को दशैँ पनि आउन लाग्यो । तर मेलम्ची आउने छाँटकाँट छैन । उनी मेलम्ची कुर्दै छिन् । भन्छिन्, “मेलम्ची आए त ढुक्क हुन्थ्यो नि, आउँछ भन्छन्, कहिले आउँछ कुन्नी ? मेलम्ची आएपछि त पानी भर्न रातै माया मार्नु पर्दैनथ्यो सायद।”
कल्पना मात्रै होइन लैनचौरमा बसोबास गर्ने शोभा सापकोटालाई पनि मेलम्ची छिट्टै आए हुन्थ्यो जस्तो लाग्छ। पत्रपत्रिका तथा टेलिभिजनमा आएका अन्य समाचारभन्दा मेलम्ची सम्बन्धी समाचारप्रति उनको ध्यान जान्छ। “ठेकेदारका कारण यो वर्ष मेलम्ची नआएको रे, अब काम नरोकी छिट्टै आए पनि हुन्थ्यो,” उनी भन्छिन्, “मेलम्ची आएपछि त आनन्द हुन्थ्यो तर कहिले आउला मेलम्ची ?”
नयाँ बजारकी पासाङ तामाङलाई पनि पानीकै चिन्ता छ। माघ महिनासम्म त पानी ईनारमा पनि आउँछ। फागुनबाट त ईनार पनि सुक्यो । खानेपानी ८/९ दिन बिराएर आउँछ। तरकारी बेचेर आएको पैसाले दैनिक गुजारा गर्न ठिक्क हुन्छ। मजदुरी गरेर श्रीमान्ले ल्याएको पैसा डेरा भाडा तिर्न र बच्चाको स्कुल शुल्क तिर्दैमा ठिक्क हुन्छ। पानी किन्न पैसा पुग्दैन उनलाई। “कहिले काँही त भगवान पुकार्छु, मेलम्ची छिट्टै आइदियोस् र पानीको कष्ट हटोस् भनेर, ” पासाङले भनिन्, “पानीबाट सुख लिन मेलम्चीको पर्खाइमा छु।”
यी केही प्रतिनिधि पात्र मात्रै हुन्। पानीको समस्या उपत्यकामा विकराल बन्दै छ। मेलम्चीको पानीको पर्खाइमा छन् सर्वसाधरण । दैनिक उपभोग गर्नुपर्ने पानी नै नभएपछि जीवन कष्टकर हुनु स्वभाविक नै हो। उपत्यकामा पछिल्लो समय बढ्दै गइरहेको जनसंख्याको चापको अनुपातमा पानी आपूर्ती हुन सकेको छैन। काठमाडौँमा खानेपानीको समस्यालाई सम्बोधन गर्न मेलम्ची खानेपानी आयोजना शुरु भएको हो।
९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको खानेपानी मन्त्रालयले बताएको छ। मेलम्चीको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी) सँगको विवादका कारण हाल मेलम्ची रोकिएको छ। मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी चाँडोभन्दा चाँडो उपभोक्तामाझ ल्याउनका लागि फास्ट ट्रयाक अपनाउनु पर्ने बताएको छ। समितिका अनुसार यस विषयमा छलफल भइरहेको छ ? मन्त्रालयले मेलम्ची खानेपानी आयोजना सकेसम्मक कसरी चाँडो सम्पन्न गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएको छ।
मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको काम द्रुत गतिमा अगाडि बढाउने आश्वासन दिएकी छन्। प्रतिनिधि सभाको साउन २२ गते बसेको बैठकमा खानेपानी तथा सरसफाइ विधेयकको विषयमा आफ्नो भनाइ राख्दै उनले मेलम्चीको काम द्रुत गतिमा अगाडि बढाइने आश्वासन दिएकी हुन्।
मेलम्चीको विषयमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीको काम अब द्रुत गति (स्पीड) मा अघि बढाउने बताइन्। “मेलम्ची आयोजना शुरु हुँदादेखि अहिलेसम्म २४ औँ पटक मन्त्री फेरिएको कुरा एक जना माननीयज्यूले गर्नुभएको छ,” उनले भनिन्, “अब २५ औँ पटक मन्त्री नफेरियोस्, हामी त्यही स्पीडमा काम गर्दैछौँ ।” मेलम्चीको अन्तरवस्तुलाई केलाएर हल गर्ने तयारीमा रहेको उनको भनाइ छ । काम छाडेर हिँडेको सिएमसी कम्पनी टाट पल्टिनुमा नेपाल सरकारको कुनै भूमिका नभएको पनि उनले बताइन्।
मेलम्ची आएपछि खानेपानी सहज
खानेपानी मन्त्रालयका अनुसार मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने छ । काठमाडौँमा मात्रै ४५ करोड लिटर पानी दैनिक आवश्यक छ। हाल १३ करोड लिटर मात्रै आपूर्ती भएको छ। मागअनुसार निकै थोरै पानी आपूर्ती भएको देखिन्छ । मेलम्चीको पहिलो चरणको आयोजना सम्पन्न भएपछि १७ करोड लिटर पानी थप हुने छ । दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने थप ३४ करोड लिटर पानी वितरण गर्ने सरकारको योजना छ । मेलम्चीका दुबै आयोजना सम्पन्न भएपछि काठमाडौँबासीले दैनिक ५१ करोड लिटर पानी पाउनेछन् । बढी भएको पानी बाग्मतीमा बगाउने सरकारी योजना छ।
सधैँ चुनौती
मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो। बहुप्रतिक्षित आयोजना हुनुका नाताले मेलम्चीप्रति सबैको चासो र सरोकार रहेको छ। सिएमसी कम्पनीसँग ठेक्का सम्झौता तोडेपछि मेलम्चीको पानी काठमाडौँ आउला त ? भन्ने प्रश्न जन्मिएको छ।
मेलम्ची आयोजना विश्व बैँकको सहयोगमा काठमाडौँको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको हो। सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ् एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भइ मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रूपमा पहिचान भएको यस आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो। सन् १९९९–२००० मा आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन तयार भएको आयोजनमा विद्युत उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रशारण लाइनसहितको प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको थियो।
आयोजनामा दातृ निकायहरू बीचको तालमेल तथा शर्तहरूको कारण विद्युत तथा प्रशारण लाइन हटाइएको थियो। सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बराबरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना शुरु भएको हो। सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिबद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गइ आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो।
सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरू जग्गा अधिग्रहण, पहुँच मार्गहरूको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरू सम्पन्न भएको र सन् २००८ पछि मात्र आयोजनाको हेडवक्र्स् एवं सुरुङ्ग निर्माणका कार्य सुरु भएको थियो । मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका शर्तअनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी महशुल निर्धारण आयोग तथा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत खडा गरिएको आयोजना हो।
सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरा पुनर्संरचना गरी दुई भागमा विभाजन गरिएको थियो । साथै, लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम हुन गएको थियो। मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कूल लागत २४९ (संशोधित ३१२ मिलियन अमेरिकन डलर) तथा उप–आयोजना–२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ।
सन् २००८ बाट सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रिया शुरु गरी जनवरी २००९ मा चाइनिज निर्माण व्यवसायीसँग सम्झौता भइ अप्रिल २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो। निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधानअनुसार (ठेक्का अनुसारको ७८.६५५ समय व्यतित हुँदासम्म जम्मा १५.३५५ मात्र भौतिक प्रगति गर्न सकेको) निर्माण कार्य सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो।
मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाइ १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी रु. ७ अर्ब ७२ करोड (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएको थियो।
२६ अर्ब ३५ करोड खर्च
मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि हालसम्म करिव २६ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले बताएको छ। अझै बाँकी कामको लागत करिव ३ अर्ब लाग्ने अनुमान गरिएको छ । तर बाँकी लागतको विषयमा अध्यायन भइरहेको छ।
मेलम्चीको प्रगति के छ ?
खानेपानी मन्त्रालयका अननुसार चाइनिज निर्माण व्यवसायी चाइना रेलवेबाट ६४१७ मिटर समेत गरी जम्मा २५९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गतेसम्म सकिएको छ। हेड वक्र्स् निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको छ। आयोजनाको २५०३५ मिटर सुरुङको भुइँ ढलान गर्ने कार्य सम्पन्न भएको र ८८५ मिटर भुइँ ढलानको काम मात्र बाँकी रहेको छ।
आयोजनाको २५५१० मिटरमा फाइनल सर्पोट गर्ने काम सम्पन्न भएको र ४१० मिटर मात्र निर्माण कार्य बाँकी रहेको छ। हाइड्रो मेकानिकल उपकरण तथा विभिन्न प्रकारका गेटहरूको आयात तथा केही गेटहरूको जडान कार्यसमेत सम्पन्न भएका छ। हेड वक्र्स्मा १६०० मिलिमिटर व्यासको ६० मिटर डाइभर्सन पाइप जडानको काम सम्पन्न भएको छ।
सुन्दरीजल टनेल आउटलेटदेखि बागमती नदीसम्मको १००० मिलिमिटर व्यासको २६० मिटर डिआइ पाइप जडान कार्य सम्पन्न भएको छ। आयोजनाका तीनवटा भेन्टिलेशन साफ्ट निर्माण गर्ने कार्यमध्ये आम्बाथानको १०७ मिटर पाइलट ड्रील सम्पन्न भएको र रिम गर्ने कार्य ४८ मिटर सम्पन्न भएको छ। सुरुङ अनुगमन प्रणाली जडान, परीक्षण तथा सञ्चालन कार्यको स्टिमेट र डिजाइन तयार गरिएको छ।
मेलम्चीको पानी प्रशोधन केन्द्र भाग–१ (दैनिक क्षमता ८.५ करोड लिटर) को निर्माण तथा परीक्षण सञ्चालन सम्पन्न भएको छ । गएको जुलाइदेखि नोभेम्बरसम्म बागमती नदीबाट दैनिक ३ करोड लिटर पानी प्रशोधन गरी वितरण भएको छ। पानी प्रशोधन केन्द्र भाग– २ (दैनिक क्षमता ८.५ करोड लिटर) को ६०५ भौतिक (४०४२ घन मिटर समेत गरी जम्मा ११५०० घनमिटर कंक्रिट तथा ५०५० वर्गमिटर मास कंक्रिट) निर्माण कार्य आगामी मार्च २०१९ सम्म सम्पन्न गर्ने लक्ष्य राखी काम भएको छ।
ठेकेदारको लापरबाही
मेलम्ची खानेपानी आयोजनाको जिम्मा लिएको कम्पनीको लापरबाहीले समयमा नै मेलम्चीको काम सम्पन्न हुन सकेको छैन । १८ डिसेम्बर २०१८ मा मेलम्ची आयोजनाका परामर्शदाता इञ्जिनियर इप्टिसाले ठेकेदारले आफूखुशी साइट छोडी गएको हुँदा निज ठेकेदारलाई ठेक्कापट्टा सम्झौताको दफा १५.२ अनुसार मेलम्ची समितिलाई ठेक्का तोड्नका लागि (कन्ट्रयाक्ट टर्मिनेशन बाई ईम्प्लोयर) सिफारिस गरेको थियो । २१ डिसेम्बर २०१८ मा ठेकेदार कम्पनीले १७ डिसेम्बर २०१८ मा ठेक्का तोड्ने सम्बन्धमा पठाएको पत्र फिर्ता लिएको जानकारी गराउँदै पत्राचार गरेको थियो।
२१ डिसेम्बर २०१८ मा कम्पनीले धरौटी रकम जफत नगरियोस् भनी निषेधाज्ञा माग गरी उच्च अदालत पाटनमा रिट दायर गरेकोमा सम्मानित अदालतबाट ठेकेदार कम्पनीको रिट खारेज गरिदिएको थियो। २३ डिसेम्बर २०१८ मा यस आयोजनाका परामर्शदाता इञ्जिनियर इप्टिसाद्वारा ठेकेदार कम्पनीले गरेको ठेक्का तोड्ने पत्रलाई मान्यता नदिने निर्णय गरेको थियो।
२८ डिसेम्बर २०१८ मा कम्पनीद्वारा २१ डिसेम्बरमा फिर्ता लिएको पत्रलाई अस्वीकृत गरी ठेक्का तोडेको पत्रलाई पुनः स्थापित गरी काममा नफर्कने जानकारी गराएको थियो। त्यसपछि मन्त्री बिना मगरको पहलमा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समितिले कम्पनीलाई वार्ताद्वारा समस्याको समाधान खोज्न र काममा फर्कन आग्रह गरेको थियो। ठेकेदार कम्पनीलाई काममा फर्काउन कुटनीतिक लगायतका क्षेत्रबाट पहल गरेको थियो। तर, ठेकेदार कम्पनीले काममा फर्कन नमानेपछि मेलम्ची विकास समितिले ठेक्का तोड्ने निर्णय गरेको थियो।
दोस्रो चरणमा याङ्ग्री र लार्के
मेलम्ची आयोजनाअन्र्तगत दोस्रो चरण (याङ्ग्री लार्के डाईभर्सन) को विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य अन्तिम चरणमा रहेको छ। जुन स्पेनको इप्टिसा कम्पनीले जिम्मा लिएको छ। दोस्रो चरणको काम सम्पन्न गर्नका लागि २२ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार याङ्ग्रीसम्मको प्रवेश मार्ग निर्माण कार्यका लागि निर्माण व्यवसायी परिचालन गरिएको छ। मुआब्जा निर्धारण भइ नसकेको, क्षतिपूर्ति निर्धारण तथा वितरण कार्य भइरहेको छ। एसियाली विकास बैंकसँग ऋण सम्झौता भएमा सन् २०१९ भित्रमा खरिद प्रक्रियामा जान सकिने अवस्था रहेको आयोजनाको दावी छ।





