काठमाडौँ– चितवनको प्रस्तावित शक्तिखोर औद्योगिक क्षेत्र निर्माणका क्रममा १ लाख ५९ हजार ८ सय ७४ रूख काटिने भएको छ। उक्त क्षेत्रमा करिब २ लाख ४२ हजार ८ सय २९ रूखहरू रहेकोमा सो मात्रामा रूख काटिने औद्योगिक व्यवस्थापन लिमिटेडले जनाएको छ।
वन तथा वातावरण मन्त्रालयलाई वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को मस्यौदा प्रतिवेदन बुझाउँदै लिमिटेडले आयोजना निर्माण र सञ्चालनबाट वातावरणमा पर्ने प्रतिकुल असरलाई न्यूनीकरण गर्न सुझाव दिएको छ।
उक्त प्रतिवेदनमा १ लाख ५९ हजार ८ सय ७४ रुख काटिने भए पनि आयोजना अन्तर्गत पर्ने हरित क्षेत्र भित्र रहेका रूखहरू भने नकाटिने लिमिटेडको भनाइ छ।
आयोजना निर्माणका क्रममा वनको ११ सय ७८ दशमलव ६७ हेक्टर जमिन स्थायी रुपमा परिवर्तन हुने भएकोले दुर्लभ, लुप्प्राय र संरक्षित प्रजातिका वनस्पति र जीवजन्तु प्रभावित हुनुको साथै जीवजन्तुको वसोबासमा समेत असर पर्न सक्ने प्रतिवेदनले जनाएको छ।
उक्त आयोजनाभित्र उदयपूर सामुदायिक वन, थाङखोला सामुदायिक वन र तिनकन्या सामुदायिक वन रहेका छन्। संरक्षित सूचीमा रहेका साल, सिमल र खयर लगायत बर्रो, हर्रो, पड्केलगायत सोही वनमै छन्।
यसका साथै उक्त क्षेत्रमा हरिण, बँधेल, बाँदर, चितुवा, भालु, गैँडा, स्याल, खरायो, न्याउरी मुसा, अजिंगर, कछुवा, गोमन, धमन, सुनगोराही जस्ता जीवजन्तु पनि पाइन्छन्। भंगेरा, हुचिल, काग, सारस, बकुल्ला र हाँस जस्ता पंक्षीहरू पनि सोही वनभित्र बसोबास गर्छन्।
यी सबैलाई मध्येनजर गर्दै लिमिटेडले आयोजना निर्माणबाट वातावरणमा पर्ने प्रभाव न्यूनीकरण गरेर मात्र काम अगाडि बढाउन सुझाव दिएको छ।
सुझाइएका उपायहरूलाई अवलम्बन गरे/नगरेको अनुगमन गर्नको लागि वातावरणीय योजनालाई आयोजनाकै अंगको रुपमा विकास गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ।
औद्योगिक व्यवस्थापन लिमिटेड बालाजुका इन्जिनियर अमृत शाही अहिले शक्तिखोर औद्योगिक क्षेत्रको ईआइए प्रतिवेदन तयार गर्नका मस्यौदा मात्रै तयार पारिएको र इआइए प्रतिवेदन आएपछि वातावरणीय प्रभावका विषयमा झनै प्रष्ट हुने बताउँछन्।
लिमिटेडले पेश गरेको प्रतिवेदनमा जैविक वातावरणमा ह्रास हुन नदिन वृक्षारोपण गर्नुको साथै ५ वर्षसम्म रोपिएका बोटहरूको संरक्षण गर्न बजेट छुट्याउनुपर्ने उल्लेख छ।
वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी हरि प्रसाद अधिकारी इआइए र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को तालमेल मिलेको छ वा छैन भनेर जाँच गरेपछि मात्र आयोजनाको काम अगाडि बढ्ने बताउँछन्।
‘वातावरणसँग सरोकार हुने विषयवस्तुहरूलाई ईआइए र डिपिआरसँग तालमेल मिल्छ वा मिल्दैन चेक गर्छौ,’ उनले भने, ‘सर्वसाधारणकाे जानकारी र सुझाव पश्चात काम गर्दागर्दै पनि ईआइए अस्वीकृत हुन सक्छ।’ वातावरणसम्बन्धी ऐन नियमको प्रावधान अनुसार काम नभए जुनसुकै बेलापनि काम रोक्न सकिने अधिकारीले बताए ।





