वातावरण संरक्षणमा डोल्पाका विद्यार्थी

डोल्पा– शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्छ तापिरिचा माध्यामिक विद्यालय। यहाँ २ सय ९ जना विद्यार्थी पढ्छन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र फोक्सुण्डो खोलाको सिरानमा पर्ने यो विद्यालयमा बाल इको क्लब गठन गरिएको छ। विद्यालयस्तरबाटै विद्यार्थीमा संरक्षणको ज्ञान फैलाउने उद्देश्यले बाल इको क्लब गठन गरिएको हो।

‘वातावरणलाई सन्तुलन कायम राख्न सकिन्छ? विद्यालयको तर्फबाट सानै बच्चादेखि नै वातावरण सम्बन्धी कसरी शिक्षा दिने ? संरक्षण, सम्वद्र्धन कसरी गर्न सकिन्छ ? आदि इत्यादिका बारेमा हामीले यहाँ अवधारणा ल्याएर तापिरिचा इको क्लब भनेर गठन गर्‍यौँ,’ तापिरिचा माध्यामिक विद्यालयका सहायक प्रबन्ध निर्देशक रामचन्द्र बुढाले भने।

तापिरिचा माध्यामिक विद्यालयमा गठन गरिएको बाल इको क्लबले संरक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ। यसले भावी पुस्तालाई संरक्षणप्रति जिम्मेवार बनाएको छ।

यस विद्यालयमा सन् २०११ मा पहिलो पटक बाल इको क्लब गठन गरिएको थियो। हाल ११ सदस्यीय इको क्लबमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु आबद्ध छन्। इको क्लबमार्फत विद्यालयमा सरसफाई सम्बन्धी गतिविधि सञ्चालन हुन्छन्। कार्यक्रममा स्वयं विद्यार्थीहरू नै सहभागी हुन्छन् । यसले उनीहरूको सिकाइ उपलब्धी पनि बढाएको छ।

‘दाजुका पालादेखि अहिलेसम्म हामी इको क्लबमा लागि रहेका छौँ । इको क्लबमा कस्तो हुन्छ भन्दाखेरि वातावरण फोहोर भइरहन्छ, त्यसपछि हामी फोहोर कलेक्सन र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर लाग्छाैँ,’ तापिरिचा बाल इको क्लबका अध्यक्ष रुद्र कार्कीले भने। इको क्लबमा आएर धेरै फाइदा भएको कक्षा १० की सिर्जना कार्कीले बताइन्।

‘स्कुलबाट हाप्ताको एकचोटि शुक्रबार सफा गर्छौँ, तर इको क्लबाट भने दैनिक संगठित भइ काम गर्छौँ। बारअनुसार कामको विभाजन गरेका छौँ । आइतबार ६ कक्षाले सरसफाइ गर्ने, सोमबार सात अनि आठ, नौ, दश गर्दै सबैले सफा गर्दा धेरै नै फाइदा हुन्छ,’ उनले भनिन्।

कक्षा ९ का तासी छम्मु र देवेन्द्रप्रसाद महत भन्छन्, ‘यदि हामीले अहिलेदेखि नै फोहोर व्यवस्थापन नगर्ने हो भने भविष्यमा त धेरै प्रदूषण हुन्छ । अहिले त यस्तो छ, पछि–पछि कस्तो होला ? जनसंख्या वृद्धिदर तीव्र गतिमा छ । यसले गर्दा फोहोर धेरै हुने र भविष्यमा धेरै सङ्कट पर्न सक्ने सम्भावना हुन्छ। वातावरण सफा गर्ने, गाउँतिर जाने फोहोरमैला टिपेर सङ्कलन गर्ने, वृक्षारोपण, सरसफाइ गर्ने अहिलेदेखि नै गर्नुपर्छ।’

इको क्लबका विद्यार्थीहरूको कर्म विद्यालयमा मात्र सीमित छैन। उनीहरू जलाधार क्षेत्रको वातावरणीय समस्याबारे पनि चिन्तित छन् । त्यसैले जलाधार क्षेत्रको फोहोर सङ्कलन गरी व्यवस्थापन गर्छन् । विभिन्न गाउँ, टोलसम्म संरक्षण सम्बन्धी चेतना फैलाउँछन्। विद्यार्थीहरूको यस्तो कर्मले समुदायस्तरमा पनि संरक्षणको ज्ञान पुर्‍याउन सहज भएको छ।

‘फोक्सुण्डो ताल हाम्रो प्राकृतिक सम्पदा हो। डोल्पाको मात्र नभएर यो सिङ्गो नेपालको हो। त्यहाँ पनि हरेक किसिमका मान्छे आउने जाने गर्छन्। एउटा बस्ती नै छ,’ तापिरिचा इको क्लबका अध्यक्ष कार्कीले भने, ‘त्यहाँ पनि तालको छेउनेर फोहोरहरू फालिरहेको हुन्छ,। हामी समय मिलाएर वर्षको दुईचोटि त्यहाँको पनि फोहोर कलेक्सन गछौँ। तालभन्दा तल झरना हुँदै रिखेसम्मको फोहोर सङ्कलन गरेर स्कुल पुग्छौँ। अरु ठाउँ पनि जान्छौँ।’

इको क्लबको नियमित बैठक बस्छ। बैठकमा क्लबले गर्ने क्रियाकलापका बारेमा छलफल हुन्छ। छलफलबाटै भावी योजना तयार गरिन्छ। विद्यार्थीहरूले जैविक विविधता जोगाए सबै जोगिने कुरा राम्ररी बुझेका छन् । यसले सबै पक्षको हित हुने देखेको छ।

‘वन्यजन्तुले गर्दा नै विदेशी पर्यटक यस ठाउँमा आउँछन्। आइसकेपछि विदेशीहरूले यहाँ खर्च गर्छन् । हाम्रो आयस्रोत बढ्छ । धेरै नै फाइदा हुन्छ । त्यसबाट विकासका काम पनि धेरै हुन्छन्। वनजङ्गल अनि जनावरको संरक्षण गर्न एकदमै उचित लाग्छ मलाई,’ तापिरिचा माध्यामिक विद्यालयकी सिर्जना कार्कीले भनिन्।

भौगोलिक विकटताका कारण डोल्पामा शिक्षा सहज रूपमा उपलब्ध छैन। तर, तापिरिचा माध्यामिक विद्यालयले यस क्षेत्रमा शिक्षाको लागि विशेष महत्व राख्छ । यो पूर्णतया आवसीय विद्यालय हो । यो विद्यालय वि.सं. २०५१ सालमा स्थापना भएको हो । विद्यालयले शिक्षासँगै इको क्लबमार्फत नयाँ पुस्तालाई संरक्षणका लागि सचेत बनाएको छ । यसरी आपूmले पाएको ज्ञान दीर्घकालसम्म फैलाउने योजना बुनेका छन् विद्यार्थीहरूले।

वातावरण संरक्षणको ज्ञान विद्यालयस्तरबाटै सञ्चालन गरिनु आफैँमा राम्रो कार्य हो। यसो गर्न सके भावी पुस्ताले संरक्षणको चेतना बेलैमा पाउन सक्छन्। नयाँ पुस्ता वातावरण विनाशले निम्त्याउने असरबाट जोगिन सक्छन्। त्यसैले विद्यालयस्तरबाटै वातावरणमैत्री शिक्षाको प्रावधान लागू गर्नेतर्फ ध्यान दिने हो कि ?

ताजा समाचार

सम्बन्धित समाचार