काठमाडौँ – चक्रपथ विस्तार अन्तर्गतको पहिलो खण्ड(कोटेश्वर–कलंकी)मा विभिन्न त्रुटीहरू देखिएपछि दोश्रो खण्ड(कलंकी–महाराजगञ्ज–धोबीखोला)मा त्यस्ता गल्ती नदोहोरिने गरी योजना बनाउने काम भइरहेको सरकारी अधिकारीहरूले जनाएका छन्।
पहिलो खण्डमा मिडियन(लेन छुटाउने गरी सडकको बीचमा बनाइएको संरचना), फुटपाथ, साइकल लेन, हरित क्षेत्र लगायत नभएको भन्दै चर्को आलोचना भएपछि दोश्रो खण्डमा भने उल्लेखित विषयलाई ध्यान दिइने भएको हो। पहिलो खण्डमा मिडियनको अभावमा दुर्घटना भइरहेकाले दोश्रो खण्डमा यसलाई कम गर्न मिडियन तथा बीचमा हरित क्षेत्र बनाउन लागिएको चक्रपथ सुधार आयोजनाको भनाइ छ।
नेपालले पहिलो खण्डमा भएका त्रुटीहरू सच्याउँदै दोश्रो खण्डका लागि प्रारम्भिक डिजाइन चिनिया कम्पनीलाई बुझाइसकेको आयोजनाका प्रमुख अमृतमणि रिमाल बताउँछन्।
पहिलो खण्डमा जेब्रा क्रसिङ, आकाशे पुल, मिडियन, ट्राफिक लाइट, स्पीड कन्ट्रोलर लगायतका विविध पूर्वाधारका कमीले दुर्घटना बढेकोले दोश्रो खण्डमा उक्त विषयलाई प्राथमिकताका साथ उठाइएको रिमालले जनाए।
अब निर्माण हुने सडकमा डेढ मिटरको फुटपाथ हुने तथा आकाशे पुल पनि पहिलोको तुलना झण्डै दोब्बर बनाइने भएकाले पहिलेको जस्तो गल्ती नहुनेमा रिमाल विस्वस्थ छन्।
यसका साथै पहिलो खण्ड हस्तान्तरण भइसकेको सात महिना बितिसक्दा पनि बल्खु–कलंकी खण्डमा सर्भिस लेन बनाउन नसकेको आयोजनाले दोश्रो खण्डमा भने पहिले नै बनाउने तयारी गरेको छ।
त्यसैगरी उक्त खण्डको निर्माण गर्ने कम्पनीले कलंकी देखि धोबिखोलासम्म ११.६ किलोमिटरको राइट अफ वे भित्र पर्ने रुख तथा बिजुलीका पोल नहटाएसम्म डिजाइन नपठाउने भनेपछि सडक छेउछाउका रुख, टहरा तथा बिजुलीको पोलहरू हटाउन शुरु गरिएको रिमालले बताए।
यसअन्तर्गत चक्रपथ बाहिर ९सय ९० र भित्र १ हजार ६७ रुख काट्नका लागि टाँचा लगाउने कार्य भइसकेको र बिजुलीका पोल हटाउन विद्युत प्राधिकरणलाई साढे दश करोड रुपैयाँ दिइसकेको आयोजना प्रमुख रिमालको भनाइ छ।
पहिलो खण्ड(कलंकी–कोटेश्वर) निर्माणका क्रममा विविध समस्या उत्पन्न हुँदा सम्पन्न हुन समय लागे पनि दोश्रो खण्ड भने समयमै सकिने रिमालको दाबी छ। ‘पहिलो खण्डमा कलंकीको अण्डरपासको निर्माणमा केही समस्या उत्पन्न भएकाले समय लागेको थियो,’ उनले भने, ‘अब बन्ने खण्डका लागि हामी अहिले देखि नै तयारी अवस्थामा छौँ, पहिलो खण्डको जस्तो गल्ती दोहोरिदैन।’





