महेन्द्रनगर – पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा होटेल इट एन पार्क छ । होटेल भनेपछि समान्यतया खाना, नास्ता र बस्ने स्थान बुझिन्छ तर यो होटेलले त्यो भन्दा फरक सेवा प्रदान गरिरहेको छ, त्यो पनि निःशुल्क। ६ वर्ष अघि सञ्चालनमा आएको होटलले ३ सय मिटर जमिन मुनीबाट अटो (आर्टिजन) प्रविधिबाट पानी निकालेको छ।

उक्त पानीबाट स्थानीय र यात्रु बढी लाभान्वित भएका छन्। पानी २४ सैं घण्टा नियमित आइरहन्छ । केही पानी होटेलले प्रयोगमा ल्याएको छ भने बाँकी बचेको पानी होटेलले स्थानीयलाई सिँचाईदेखि पिउनका लागि वितरण गरेको छ। स्थानीय मात्र नभई यात्रुका लागि समेत पानी निःशुल्क वितरणका लागि राजमार्ग उत्तरतिर पाइप बिछाएर व्यवस्था गरिदिएको छ । गर्मीको समयमा यात्रुका लागि इटएन पार्क चिसो पानी पिउने केन्द्र बनेको छ।
पूर्वपश्चिम राजमार्गमा गुड्ने अधिकांश सवारी साधन त्यही रोकिन्छन् । यात्रु र सवारी चालकले पानी पिउँछन् । चिसो पानी निशुल्क पाइने भएकाले त्यहीबाट बोतलमा भरेर पानी पिउने गरेको यातायात व्यवसायी बताउँछन्। यातायात व्यवसायी पदम पन्तले महेन्द्रनगरदेखि धनगढी लगायत यात्रामा जाने क्रममा वाणीको इटएन पार्कमा पानी भरेर लैजाने गरेको बताए। ‘यो पानी चिसो र स्वास्थ्यका लागि राम्रो हुन्छ,’ ‘उनले भने, ‘बजारमा किनेर पाइने पानी भन्दा स्वादिलो हुन्छ, त्यसमा पनि फ्रि पानी पाइन्छ ।’ होटेलले स्थानीयका लागि दोहोरो सुविधा दिएको छ।
होटलले स्थानीयलाई सिँचाई र पिउनका लागि पानी दिएको स्थानीय बताउँछन् । स्थानीय करन दमाईले सिँचाईका लागि कुलो बनाएर र पिउनका लागि मुहानबाटै पानी भरेर लग्ने गरेको बताए। ‘हाम्रो गाउँमा सिँचाईको सुविधा छैन्, ‘उनले भने, ‘हामी यही होटेलको पानी प्रयोग गरेर खेती गछौं ।’ दैनिक घरमा पिउनका लागि भाँडामा पानी भरेर लग्ने गरेको उनले बताए।
स्थानीय हरिना साउदले पनि पिउन र सिँचाईका लागि यहीबाट पानीको प्रयोग गर्ने बताए । ‘हाम्रो घरमा पिउने पानीको व्यवस्था छैन, दैनिक बिहान, दिउँसो र साँझ यहीबाट पानी भरेर लान्छौँ,’ ‘उनले भनिन्, ‘होटेल खुलेदेखि सिँचाईका लागि समेत यहीको पानी प्रयोग गर्दै आएका छौं ।’ उनका अनुसार दैनिक धारामा पानी लिन भीड लाग्ने गर्छ । स्थानीयले आलोपालो गरेर पानी भरेर लाने गर्छन्।
खानेपानीका लागि गाडेका अधिकांश ह्यान्डपम्पमा आर्सेनिकयुक्त पानी आउन थालेपछि शुद्ध खानेपानीका लागि होटेलले निजी लगानीमा ३ सय मिटर जमिन मुनीबाट अटो (आर्टिजन) प्रविधिमार्फत पानी निकालेको सञ्चालक सुरेन्द्र बमले बताए। उनका अनुसार आर्टिजन प्रविधिबाट निकालिएको पानी करिब ५ सय बढी स्थानीय परिवारले प्रयोग गर्छन् । ‘होटलले स्थानीयका लागि सिँचाई तथा पिउनका लागि पानीको व्यवस्था मिलाएको छ, यहाँ शुद्धपानीको व्यवस्था गरिएपछि स्थानीयले ह्यान्डपम्पको आर्सेनिकयुक्त पानी प्रयोग गर्न छोडेका छन्,’ उनले भने,‘स्थानीयले घरमा आवश्यक पर्ने पानी भाडामा पानी भरेर लाने गर्छन्।’





