काठमाडौँ – साउन पहिलो सातासम्म देशभर ६३ दशमलव ७९ प्रतिशत रोपाइँ भएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार हालसम्मको तथ्यांकलाई हेर्दा सबै भन्दा बढी कर्णाली प्रदेशमा ९० दशमलव १३ प्रतिशत र सबै भन्दा कम प्रदेश नम्बर २ मा ५० दशमलव ४८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
मन्त्रालयका सह–प्रवक्ता प्रदिप चन्द्र भट्टराईका अनुसार साउन ६ गतेसम्मको तथ्यांकलाई हेर्दा गत वर्षकाे तुलनामा यसवर्ष धान राेपाइँमा १३ दशमलव ९५ प्रतिशतले कमी भएकाे छ। ‘अघिल्लो वर्ष ७७ दशमलव ७४ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा अहिले ६३ दशमलव ७९ प्रतिशत मात्रै भएको छ,’ उनले भने ।
उनका अनुसार प्रदेश १ मा ५६ दशमलव १३ प्रतिशत, प्रदेश ३ मा ६९ दशमलव १८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी गण्डकी प्रदेशमा ७९ दशमलव २८, प्रदेश ५ मा ६३ दशमलव ४८ र सुदूरपश्चिम प्रदेशमा ८६ दशमलव ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
अघिल्लो वर्ष यही समयमा सबैभन्दा बढी सुदूर पश्चिम प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा सबैभन्दा कम प्रदेश १ मा ७१ दशमलव ९६ प्रतिशत रोपाइँ भएको थियाे । गतवर्ष प्रदेश २ मा साउनकाे पहिलाे सातासम्म ८९ दशमलव ३८ प्रतिशत, प्रदेश ३ मा ७६ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा ८७ दशमलव ३३ प्रतिशत, प्रदेश ५ मा ७९ दशमलव ८६ प्रतिशत र कर्णाली प्रदेशमा ७७ दशमलव ४४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियाे ।
अघिल्लो वर्ष यस समयमा ७७ दशमलव ४४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कर्णाली प्रदेशमा अहिले भने सबैभन्दा धेरै ९० दशमलव १३ प्रतिशत रोपाइँ भएको छ।
भौगोलिक अवस्था अनुसार हालसम्म सबैभन्दा बढी उच्च पहाडी भेगमा ७५ दशमलव ०१ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम तराई भेगमा ६० दशमलव ०२ प्रतिशत मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएकाे छ । त्यसैगरी मध्य पहाडी भेगमा भने हालसम्म ७२ दशमलव ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
अघिल्लो वर्षकाे रोपाइँको अवस्थालाई हेर्दा साउन पहिलाे सातासम्ममा उच्च पहाडी भेगमा ८१ दशमलव ०९ प्रतिशत, मध्य पहाडी भेगमा ७७ दशमलव ७८ प्रतिशत र तराई भेगमा ७७ दशमलव ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको प्रवक्ता भट्टराईले बताए ।





