काठमाडौँ– विहीबारबाट चीनको राजधानी बेइजिङमा शुरू हुने नेपाल र चीनको हवाई सेवा सम्झौताको पुनरावलोकनको बैठकमा नेपालले मानसरोवरमा माउण्टेन फ्लाइट लगायतका विभिन्न एजेण्डाहरू उठाउने भएको छ।
नेपाली निजी विमान कम्पनीहरूले चीनका विभिन्न शहरमा उडान गर्न पाउनु पर्ने मागसँगै कैलाश मानसरोवरमा माउण्टेन फ्लाइटको विषयलाई पनि नेपाली पक्षले प्राथमिकताका साथ उठाउने तयारी गरेको एक सरकारी अधिकारीले हाकाहाकीलाई बताए।
नेपालले यसअघिको चीनसँगको वार्तामा मानसरोवरमा माउण्टेन फ्लाइटको विषय उठान गर्दै आएपनि चिनियाँ पक्षले प्रविधिक समस्याको कारण देखाउँदै प्रस्ताव अस्वीकार गरेको थियो। तर, चीनले पाँच वर्ष अगाडि उक्त क्षेत्रमा विमानस्थल निर्माण गरिसकेकाले यस पटकको वार्तामा सो प्रस्ताव अघि सारिएको सरकारी पक्षको भनाइ छ।
दुई दिनसम्म चल्ने उक्त वार्तामा नेपालले चीनको विभिन्न शहरहरूमा आफ्नो निजी उडान गर्न पाउनुपर्ने विषयमा पनि छलफल हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए। यसका साथै बैठकमा हवाई सेवा, आपसी सहयोग र उडान संख्याको विषयमा पनि छलफल हुने उनले बताए।
‘यसपालीको बैठकमा नयाँ स्लटको विषय, नेपाली जहाज उडानलाई चीन ट्रान्जिट बनाउन पाउनुपर्ने, नेपाली उड्डयन क्षेत्रका तालिम र निजी उडान सम्बन्धी एजेण्डा छ,’ उपाध्यायले भने।
अहिले नेपाल र चीनबीच प्रतिमहिना ७० उडान गर्न पाउने सम्झौता रहेको छ। सो सम्झौता सन् २०१४मा भएको थियो।मन्त्रालयका अनुसार चीनबाट हाल पाँचवटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्।
चीनबाट एयर चाइनाले सातामा १० वटा र चाइना इस्टर्नले १४ वटा उडान गर्छ। यस्तै, चाइना साउदर्नले सातामा १४ वटा, सिंचुवान एयरलाइन्सले चारवटा, तिब्बत एयरलाइन्सले दुईवटा उडान गर्ने गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र कानून मन्त्रालयका उपसचिव अरुणा जोशी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक गोपालचन्द्र थापा, नेपाल वायुसेवा निगमका प्रतिनिधि कृष्णगोपाल जोशी र हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इनयोङस आज (मंगलबार) चीन प्रस्थान गरेका छन्।





