कलंकी–कोटेश्वर खण्डको सेफ्टी अडिट रिपोर्ट कार्यान्वयनमा बजेट तगारो

काठमाडौँ– रोड सेफ्टी अडिट रिपोर्ट तयार भएको २ महिना बितिसक्दापनि चक्रपथको कलंकी–कोटेश्वर खण्डमा जोखिम न्यूनीकरणको लागि कुनै कदम चालिएको छैन।

सडक विभागले प्रतिवेदनमा उल्लेखित सुझावलाई कार्यान्वयन गर्न सडक डिभिजन कार्यालय ललितपुरलाई जिम्मा दिएको छ। प्रतिवेदन आएको २ महिना भइसक्दापनि सडक डिभिजन कार्यालयले भने काम अगाडि बढाएको छैन।

निर्माणको क्रममा भएका केही त्रुटिका कारण जोखिम र असुरक्षा भएको भनी व्यापक आलोचना बढेपछि ति विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनी सुझाव दिनको लागि सरकारले रोड सेफ्टी अडिट टिम बनाएको थियो। उक्त समितिले विभिन्न त्रुटीहरूको पहिचान गरी प्रतिवेदन बुझाइसकेको छ।

सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख अमृतमणि रिमाल उक्त प्रतिवेदन अनुसार नै काम गर्ने योजना रहेको बताउँछन्। ‘काम सुरु गर्ने प्रक्रिया अगाडि बढ्दै छ, दशैँ अगाडि नै सुरु गर्छौँ,’ उनले भने।

रोड सेफ्टी अडिट रिपोर्ट बुझे पश्चात ललितपुर डिभिजन कार्यालयलाई प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा दिएको सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख दीप बाराहीले बताए।

रोड सेफ्टी अडिटको प्रतिवेदनमा कलंकी देखि कोटेश्वर सम्मको सडकको हरेक चोक–चोकमा ट्राफिक लाइट, पैदल यात्रीको लागि फुटपाथमा सुरक्षित रेलिङ्ग, जेव्रा क्रसिङ्ग तथा जोखिमयुक्त नालीहरूको व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको बाराहीले जानकारी दिए । ‘प्रतिवेदन अनुसारको काम गर्न तत्काल बजेट धेरै लाग्ने भएकोले केही समय लाग्छ,’ उनले भने, ‘तर पनि, धेरै काम यही आर्थिक वर्षबाट शुरु हुन्छ ।’

चीन सरकारको सहयोगमा बनेको कलंकी–कोटेश्वर सडक खण्ड निर्माण पश्चात उक्त सडकमा दुर्घटनाको क्रम बढेको छ । सर्वसाधारणबाट अव्यवस्थित तथा जोखिमयुक्त सडक भन्दै चर्को आलोचना आएसँगै सरकारले गत माघमा सडक विभागको सहयोगमा रोड सेफ्टी अडिट टिमको गठन गरेको हो।

यसका साथै कलंकी–कोटेश्वर सडक खण्ड अन्तर्गतको कलंकी, सानेपा, ग्वार्को र सातदोबाटो गरी चार ठाउँलाई अति दुर्घटनाग्रस्त क्षेत्रको रुपमा ट्राफिक प्रहरीले घोषणा गरेको छ।

उक्त स्थानहरूमा जेव्रा क्रसिङ्ग, आकासे पुल, सडकको बीचमा हुने डिभाइडर तथा गति नियन्त्रकको कमी भएको प्रतिवेदनको निष्कर्ष छ। उक्त प्रतिवेदन गत जेठ महिनामा सरकारलाई बुझाएको रोड सेफ्टी अडिट टिममा संलग्न यातायात व्यवस्था विभागका प्राविधिक पद्म बहादुर शाहीले बताए।

‘जेब्रा क्रसिङ्ग एकदमै कम भएकोले, अब बनाउँदा सांकेतिक जेब्रा क्रसिङ्ग राख्नुपर्छ,’ उनले भने। सांकेतिक जेब्रा क्रसिङ्गको प्रयोग गरेमा धेरै हदसम्म दुर्घटना कम हुने उनको विश्वास छ।

आर्थिक वर्ष २०७५/०७६ को जेठसम्मको तथ्यांक हेर्दा कलंकी–कोटेश्वर सडक–खण्डमा ६ सय ६० वटा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार सो दुर्घटनामा २३ जना गम्भीर घाइते भएका थिए । सो दुर्घटनामा ११ सय ७० वटा सवारी–साधनहरू संलग्न रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार