पानीले देखायो स्वदेशमै आयआर्जनको बाटो

कैलाली–कञ्चनपुरकाे महाकाली नगरपालिका वडा नं. ३ का सिद्धिखर जैसीलाई शुरुमा टनेलमा बेमौसमी तरकारी खेतीको कुरा सुन्दा नयाँ जस्तो लाग्यो। उनले त्यसबाट कति पो आम्दानी होला र भन्ने ठाने। टनेल निर्माणदेखिको मिहिनेत सबै कुरा हेर्दा उनी अलमलमै थिए।

उनले बेमौसमी तरकारी खेतीबाट मासिक ६० हजारभन्दा बढी आम्दानी गरिसकेका छन्। एउटै टनेलबाट २ क्वीन्टल बढी करेला र ४ क्वीन्टल काँक्रा उत्पादन भएको छ।

‘अहिले पनि उत्पादन भइरहेकै छ। अझै एक/डेढ क्वीन्टल करेला उत्पादन हुने आशा छ’ जैसीले भने, ‘बिक्री गर्न कतै जानुपर्दैन, स्थानीयले घरबाटै किनेर लैजान्छन्, केही व्यापारी पनि घरमै आउँछन् ।’ उनले हरेक साताकाे तेस्रो दिन २०/३० किलोसम्म करेला बिक्री गरिरहेका छन्।

‘एउटै टनेलबाट यति आम्दानी होला भन्ने मैले सोचेको पनि थिएन,’ जैसीले भने, ‘गरेपछि हुँदो रहेछ भन्ने लाग्यो, राम्रो बिउसँगै प्राविधिक ज्ञान पनि पाइयो, त्यसले ठूलो सहयोग गर्‍यो ।’

पानी परियोजनाले टनेल निर्माणमा आर्थिक सहयोगसँगै प्राविधिक सहयोग र बिउ बिजन पनि दिने भएपछि उनले प्राविधिक कुरा पनि सिके। जैसीलाई ९ जनाको परिवार पाल्न अहिले सहज भएको छ।

महाकाली नगरपालिका– ३ मा स्थानीयले टनेलबाट बेमौसमी तरकारी खेती गरेका छन्। उनीहरूले काँक्रा र करेला बक्री गरेर ४०/५० हजारसम्म आम्दानी गरेका छन् । सबैले अर्को वर्ष थप टनेल बढाएर उत्पादन वृद्धि गर्ने लक्ष्य राखेका छन्।

‘गर्न सके त राम्रै हुन्छ भन्ने देखियो,’ बेमौसमी तरकारी उत्पादन गरिरहेका महाकाली नगरपालिका ३ का रामप्रसाद जैसीले भने, ‘सबैले अर्को वर्ष टनेल थप्ने योजना बनाएका छन्।’

पहिलो पटक टनेलमा गरिएको बेमौसमी तरकारी खेतीले वडा नं. ३ का स्थानीयलाई उद्यमी बनाएको छ। यस पटक खेती गर्नेहरू टनेल थप्ने योजनामा छन् भने नगर्नेहरू अर्को वर्षदेखि सुरु गर्ने तयारीमा छन्। त्यस्तै महाकाली नगरपालिका–१० की बबिता खड्काले बेमौसमी आग्र्यानिक तरकारी खेती गरेकी छिन्।

श्रीमान् लालबहादुर खड्का रोजगारका लागि भारत गएपछि घरको सम्पूर्ण जिम्मेवारी सम्हालेकी बबिताले पहिला सामान्य तरकारी खेती गर्दौ आएकी थिइन्। अहिले उनले व्यवसायिक रूपमा बेमौसमी अग्र्यानिक तरकारी खेती गर्दै आएकी छिन्।

उनलाई पनि पानी परियोजनाले सहयोग गरेको छ। उनी माछा संरक्षण तथा नदी व्यवस्थापन उपसमितिकी सदस्य पनि हुन्। समितिले जलीय जैविक विविधता तथा यसको संरक्षण काम गर्दै आएको छ।

उनले टनेल हाउसमा काँक्रा, करेला र भन्टा लगाएकी छिन्। अहिले काँक्राबाट दश हजार र करेलाबाट नौ हजार कमाई भएको उनले बताइन् । उनले अझ २ वटासम्म टनेल हाउस थप्ने बताएकी छिन्।

त्यसै गरी भीमदत्त नगरपालिका वार्ड न.१३ पिपरैया झोलुङ्गे पुल नजिक बस्ने ज्योति बिसीले पनि तरकारी खेती शुरु गरेकी छिन्।

उनलाई पनि पानी परियोजनाले एक टनेल हाउसमा अग्र्यानिक तरकारी गर्न सहयोग ग‍र्‍यो। ‘तरकारी खेतीका साथै जलीय जैविक विविधताबारे जानकारी गरायो। माछा संरक्षणका बारेमा, माछाको अवस्था पहिला कस्तो थियो ? अहिले कस्ता छ?’ उनले भनिन्। उनी माछा संरक्षण समितिकी सदस्य पनि हुन्।

‘पहिला माछा खाइन्थ्यो तर अहिले खानुको साथै यसले संरक्षण पनि लागेका छौँ,’ उनले भनिन् ‘जालीय जैविक विविधता संरक्षण गर्नु पर्दछ भन्ने थाहा भयो।’

त्यस्तै जनप्रतिनिधिहरू पनि यसतर्फ आकर्षित भएका छन्। वडा र नगरपालिकाको कार्यालयले पनि बेमौसमी तरकारी खेतीका लागि बजेट छुट्याएको छ। यसका लागि कृषकहरूलाई तालि दिने व्यवस्था पनि गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार