Friday, September 27, 2024

बिजुली बत्तीले दिएको खुसी

डोल्पा –डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ११ का रणप्रसाद कार्कीले आफ्नै जीवनकालमा गाउँसम्म बिजुली पुग्ला भन्ने सोचेका थिएनन् । तर, आँखे खोला लघु जलविद्युत आयोजनाले उनको अविश्वास गलत साबित ग‍रिदियो । वि.सं. २०७३ सालमै गाउँमा बिजुली पुग्यो । सडक सुविधा नपुग्दै गाउँ झिलिमिली भयो ।

‘के काम छ घट्टको अब । घरमै बसेर पिस्नु छ । सुख सुविधा छ । खोला जानु छैन । ढुङ्गा लाग्नु छैन । लड्नु छैन । घट्टमा जाँदा कति मान्छेलाई ढुङ्गा लाग्यो । कति दुःख भयो हामीलाई । अहिले मेसिन घरमा आयो । बिहान एक पाथी पिस्यो, बेलुका एक पाथी पिस्यो, खायो’ कार्कीले भने ।

फोक्सुन्डो सुलिगाड जलाधार क्षेत्रमा पर्छ, आँखे खोला लघु जलविद्युत आयोजना । यही आयोजनाबाट उत्पादन हुने बिजुलीले यस क्षेत्रका स्थानीयको जीवन सहज बनाएको छ ।

आँखे खोला लघु जलविद्युत आयोजनाबाट ठूलीभेरी नगरपालिका वडा नम्बर १० र ११ अनि शे फोक्सुन्डो गाउँपालिका वडा नम्बर ८ का स्थानीय लाभान्वित भएका छन् । गाउँमै बिजुली पुगेपछि स्थानीय विद्युतीय चुल्हाको प्रयोग गर्न थालेका छन् । आजकल उनीहरूलाई दाउरा चाहिँदैन । यसले वनमाथिको चाप घटाएको छ । स्थानीयको जीवन नै उज्यालो भएको छ ।

‘बत्ती नहँुदा जङ्गलबाट दियालो ल्याएर बाल्थ्यौँ । त्यसपछि मट्टीतेलको टुक्की बनाएर बाल्थ्यौँ । अहिले बत्ती आयो । बत्ती आइसकेपछि धेरै राम्रो भयो,’ स्थानीय हस्तमान बुढाथोकीले भने ।

डोल्पा जिल्लामा अझै पनि सञ्चारको भर पर्दो सुविधा छैन । बिजुली पुगेपछि टेलिभिजनमार्फत देश विदेशका खबर सहजै थाहा पाउँछन्, अचेल रह गाउँका बासिन्दाहरू । सूचनामा पहँुच बढेको छ । कुटानी पिसानीका लागि जोखिम मोलेर घट्ट कुद्नु पर्ने बाध्यता हटेको छ । विकासका पूर्वाधारमध्ये विद्युत एउटा हो । बिजुलीले सर्वसाधारणदेखि राष्ट्रकै समृद्धिमा सहयोग पुग्छ । काम छिटोछरितो हुन्छ । यसबाट स्थानीयको रोजीरोटीमा टेवा पुग्छ । होटेल व्यवसाय चलाउन सजिलो हुन्छ ।

‘पहिला अँध्यारोमा बालबालिकाले पढ्न पाउँदैनथे । अहिले बत्ती दिउँसोको चार बजे छोडी हाल्छ, अनि बिहानको दश बजेसम्म आउँछ । एकदम सुविधा छ अहिले बत्ती आएर,’बुढाथोकीले भने ।

बिजुली गाउँमा आएपछि धेरै फाइदा भएको ठूलीभेरी नगरपालिका ११ कागेनीकी गोमा कार्कीले बताइन् ।

‘बिजुलीले त धेरै फाइदा छ । बिजुली आएपछि मसला पिस्न, पानी ताउन सजिलो भएको छ । पानी तताएपछि खाना पकाउन छिटो हुन्छ । बिजुली नआउन्जेल कोठाहरू अँध्यारा थिए, छोराछोरीलाई पढ्न पढाउन सजिलो भएको छ, त्यसैले धेरै सुविधा छ अहिले,’उनले भनिन् ।

५१ किलो वाट क्षमताको यस विद्युत आयोजनाबाट हाल दैनिक झन्डै ४६ किलोवाट बिजुली उत्पादन हुन्छ । विद्युत आयोजनाका ३ सय २७ ग्राहक छन् । विद्युत उपभोग गरे बापत प्रति युनिट १० रुपैयाँ तिर्नु पर्छ । आयोजनाबाट उत्पादित विद्युत वितरण गर्न दुई जना अपरेटरको व्यवस्था गरिएको छ । उनीहरू विद्युत आयोजनाको मर्मत सम्भारमा पनि खटिन्छन् । अनि आयोजनाको तालिका अनुसार विद्युत वितरण गर्छन् ।

‘बेलुकी ४ बजेदेखि बिहान १० बजेसम्म बिजुली छोडिन्छ । अनि १० बजे बन्द गरिन्छ । फेरि बेलुका चार बजेबाट छोडिन्छ,’आँखे खोला लघु जलविद्युत आयोजना संरक्षण तथा दिगो व्यवस्थापन समितिका अपरेटर मानबहादुर कार्कीले भने ।

चन्द्रसिंह कार्की आँखे खोला लघु जलविद्युत आयोजना संरक्षण तथा दिगो व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष हुन । उनकै नेतृत्वमा यो विद्युत् आयोजना सम्पन्न भएको हो । उनी यहाँका गाउँलाई उज्यालो बनाउन चाहन्थ्ये । यही दृढताका साथ विद्युत् निर्माण कार्यको थालनी गरे ।

‘अरू टाढाटाढा बत्ती पुग्यो । तर हाम्रो गाउँमा आएन, त्यसैले लघु जलविद्युत निकाल्ने भन्ने कुराकानी भयो । त्यसपछि सल्लाहअनुसार यो निकाल्ने प्रक्रियातिर गइयो,’ आँखे खोला लघु जलविद्युत आयोजना संरक्षण तथा दिगो व्यवस्थापन समितिका अध्यक्ष चन्द्रसिंह कार्की (रमेश)ले भने ।

३ करोड ६५ लाख रुपैयाँको लागतमा आँखे खोला लघु जलविद्युत आयोजना सम्पन्न भएको हो । विकटताले पिल्सिएको डोल्पामा विद्युत उत्पादन गर्न त्यति सहज थिएन । निर्माण सामग्री ढुवानी गर्नु मुख्य चुनौती थियो । सामान बोक्नका लागि हेलिकोप्टर र हवाई जहाजबाहेक अर्को विकल्प थिएन । तर विद्युत आयोजना सम्पन्न गर्न निर्माण समितिका अध्यक्ष चन्द्रसिंह कार्की निराश भएनन् । उनको अगुवाइमा समितिका अन्य सदस्यहरूको साथ महत्वपूर्ण रह्यो । जसको परिणाम स्वरुप आयोजना पनि पुरा भयो ।

‘दुर्गम छ । हिमालको टुप्पोमा । एक केजी फलामको डल्ला यहाँ पु‍¥याउनका लागि १ सय ६५ रुपैयाँ लाग्थ्यो,’अध्यक्ष कार्कीले भने, ‘जिल्लाको दर रेट यो छ, तर हाम्रो सुलिगाड र यहाँ आउनचाहिँ हामीले बाउन्न रुपैयाँ जति तिर्नुपर्छ । त्यति सङ्घर्ष गरेर हामीले काम गर्नु परेको अवस्था छ ।’

चन्द्रसिंह कार्की बिगत १० वर्षदेखि सिर्जना चोरी सिकारी नियन्त्रण दल समन्वय समितिमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । दिगो विकासको बाटोमा अघि बढ्न विद्युत अपरिहार्य हुने कार्कीको बुझाई छ । त्यसैले उनी आँखे खोलाबाट थप बिजुली उत्पादन गरी अँध्यारो गाउँलाई उज्यालो पार्ने योजनामा छन् ।

‘गत वर्ष हामीले जिल्लाका सबै जिम्मेवार निकाय र राजनीतिक दालसँग छलफछल ग¥यौँ र यो खोलाबाट ५ सय देखि १ मेगावाट बत्ती निकाल्ने प्रसङ्ग चलायौँ । अहिले हामीले पिविसिले गरेको सर्वेको फाइनल रिपोर्ट काठमाडौँ पठाएका छौँ,’ अध्यक्ष कार्कीले भने ।

स्थानीय आँखे खोलामा बग्ने पानीले यहाँ विद्युत उत्पादन सम्भव भएको हो । यो फोक्सुन्डो सुलिगाड जलाधारको सहायक खोला पनि हो । आँखे खोलाबाट उत्पादित बिजुलीले ठूला विद्युत आयोजना कुरेर बस्नु परेन । न त खोला थुनेर बाँध नै बाँध्नु प‍¥यो । बरु स्थानीयको आवश्यकता पूर्ति भयो । तल्लो तटमा समेत कुनै असर गरेन । यस्ता आयोजना जलचर मैत्री हुन्छन् । अनि राष्ट्रको समृद्धिका लागि आधारशिला बन्छ । अर्कोतर्फ बगेर खेर गइरहेको पानीको सदुपयोग भएको छ । त्यसैले आँखे खोला लघु जलविद्युत आयोजना जस्ता साना विद्युत योजनालाई प्राथमिकता दिइनु पर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार