काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा हिमाल सरसफाइलाई सगरमाथासहितका हिमालमा फोहोरको डंगुर थुप्रिदा हिमशृंखलाको सौन्दर्यतामा असर गरेको, दुर्गन्ध बढेको तथा फोहोर थुप्रिएको ठाउँमा हिउँ पनि पग्लिने समस्या बढेपछि सरकारले बजेटमै हिमाल सरसफाइ कार्यक्रम समावेश गरेको हो।
वन तथा वातावरण मन्त्रालयले आफ्नो आगामी आर्थिक वर्षमा प्रदेश १ र गण्डकीका ६ वटा हिमाल सरसफाइका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। मन्त्रालयको आर्थिक विकास कार्यक्रममा उल्लेख भएअनुसार सगरमाथा, मकालु, धौलागिरी, आमादब्लम, पुमरी, लोत्से हिमाल सरसफाइ गरिने छ।
हिमालहरुमा विशेषगरी पर्वतारोही र तिनका सहयोगीले लगेका खाद्यपदार्थ, अक्सिजन सिलिण्डर र अन्य उपकरण, पाल, डोरी, पकाएर खाने भाँडाकुँडा र मलमूत्र त्यतै छाड्ने गर्छन।
सरकारले गत वर्ष नै नीति तथा कार्यक्रममा हिमाललाई स्वच्छ र सफा राख्न सरसफाइ अभियान थालिने उल्लेख गरेकोमा यस वर्ष पनि निरन्तरता दिइएको थियो। र, यस वर्ष बजेट नै विनियोजन भयो।
सरकारले नेपाल भ्रमण वर्ष-२०२० मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले पनि हिमाल सरसफाइलाई जोड दिएको हो।
सगरमाथामा थुप्रिएर बसेको फोहोर सफा गर्न गत वैैशाख १४ देखि जेठ १५ गतेसम्म अभियान नै चलाइएको थियो। वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, नेपाली सेना र खम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा भएको सफाइमा २ करोडभन्दा बढी खर्च लाग्ने भएको थियो।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगाना तीनवटै सरकारसँग समन्वय र सहकार्य गरेर सरसफाइ अभियान अगाडि बढाइने बताउँछन्। त्यसमा सम्बन्धीत क्षेत्र, सरोकारवाला र स्थानीयको पनि भूमिका रहने उनी बताउँछन्।





