काठमाडौँ- तिव्र वर्षासँगै देशका विभिन्न भागमा राजमार्ग र बाटो अवरुद्ध भएपछि काठमाडौँमा तरकारीको भाउ बढेको छ।
केही दिनदेखि लगातार परेको पानी तथा बाढीको कारण तरकारी तथा फलफूलको मूल्य बढेको हो। वर्षा शुरु हुनु अगाडि र पछाडीको मुल्यको तुलनात्मक विवरणका लागि हेर्नुहोस इन्फोग्राफ।

वर्षातको असरले गर्दा मूल्य वृद्धि भएको हुन सक्ने कालीमाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए।
हाकाहाकीकर्मीसँग कुरा गर्दै उनले वर्षातले बालीनालीलाई असर गर्ने, बजारसम्म ल्याउन बढी लागत लाग्ने र तरकारी तथा फलफूल बिग्रने लगायतका कारणले मूल्य बढेको हुन सक्ने बताए।
‘पूर्वी तराईबाट आउने फलफुल र तरकारीको मात्रामा केही कमी आएको छ, तर आयातमा भने धेरै कमी आएको छैन,’ उनले भने, ‘वर्षात तथा बाढी भन्दा वित्तिकै मूल्य वृद्धि हुने हल्लाले व्यापारीले फाइदा खान खोजेका पनि हुन्छन्।’
श्रेष्ठका अनुसार, गत २५ गते दैनिक ५ सय १५ टन तरकारी तथा फलफूल कालीमाटी बजारमा आयात भएको थियो। त्यसैगरि, २६ गते ६ सय ७८ टन, २७ गते घटेर ४ सय ६० टन पुगेकोमा २८ गते वृद्धि भई दैनिक ५ सय ४० टन तरकारी तथा फलफूल आयात भएको उनले बताए। हिजो र आज तरकारी तथा फलफूलको आयातमा वृद्धि भएको श्रेष्ठको भनाई छ।
हिजो २९ गते ८ सय ७६ टन तरकारी तथा फलफूल आयात भएको थियो भने आज मात्रै हालसम्म ६ सय ५७ टन आयात भएको र बेलुकासम्ममा वृद्धि भई ८ सयमा पुग्ने अनुमान रहेको श्रेष्ठले जानकारी दिएका छन्।
पछिल्लो समयमा छिमेकी जिल्लाहरुबाट पनि आयातमा वृद्धि भइरहेको उनले बताए। छिमेकी जिल्लाहरू मकवानपुर, नुवाकोट, धादिङ र चितवन लगायत सर्लाही, झापा तथा मोरङबाट पनि तरकारी तथा फलफूल आयात भइरहेको उनको भनाई छ। भारतबाट पनि निरन्तर रुपमा आलु, प्याज, कागती लगायतका विभिन्न फलफुल तथा तरकारी आयात भइरहेको उनले जानकारी दिएका छन्।





