नेपालमा बाढी र पहिरोको उच्च जोखिम

काठमाडौँ– केही दिनदेखि नेपाल बाढी र पहिरोको प्रकोपमा फसेको छ। देशका सबै भागमा मनसुन सक्रिय भएपछि यस्तो स्थिति भोग्नु परेको छ। हुनत मनसुन सधैँ चलेकै थियो तर पछिल्ला वर्षहरूमा यसको प्रकोप बढिरहेको छ। पहिला पनि बाढी र पहिरो जाँदै नगएका होइनन्। तर तिनले पु¥याउने क्षति क्रमशः पछिल्ला वर्षहरूमा वृद्धि भएको आँकडा छ। पहिला बाढीको प्रभाव खोला आसपासका क्षेत्रमा मात्र बढी हुन्थ्यो तर आजकाल जतासुकै बाढीको प्रकोप हुन थालेको छ।

नेपालमा औसतमा वार्षिक १८ सय मिलिमिटर पानी पर्ने गरेको छ। सबैभन्दा बढी कास्कीको लुम्लेमा ५५सय मिमि र कम मुस्ताङको लोमान्थाङ क्षेत्रमा एक सय ५० मिमि वर्षा हुने गरेको नेपाल जल तथा मौसम विज्ञान अनुसन्धान केन्द्रको सन् २०१५ को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

लेखक : रामचन्द्र अधिकारी

जल तथा मौसम विज्ञान विभाग(डीएचएम)का अनुसार दशकअघितिर वार्षिक औसत वर्षा १६ सय मिलिमिटर थियो। नेपालमा पूर्वदेखि पश्चिम जाँदा क्रमशः कम वर्षा हुने गरेको पाइन्छ। तथापि सबैभन्दा भारी वर्षा हुने तीन वटा क्षेत्र मकालु हिमालको दक्षिणी क्षेत्र, लाङटाङको दक्षिणी र अन्नपूर्णको दक्षिणी भूभाग हुन्।

कूल जति वर्षा हुन्छ सो को ८० प्रतिशत मनसुनका चार महिना–जेठदेखि भदौसम्म हुने गरेको छ । हिउँदमा मात्र ३.५ प्रतिशत, मनसुनपूर्व १२.५ प्रतिशत र मनसुनपछि ४.२ प्रतिशत वर्षा हुने गरेको बताइन्छ। तर केही वर्षयता भूउष्णीकरण र जलवायु परिवर्तनको भूमरीमा पृथ्वी गाँजिएको छ । तेसमा पनि दक्षिण एसियाली मुलुक बढी गाँजिएका छन्।

तापक्रम वृद्धिसँगै पानी वाष्पीकरण हुने दर पनि वृद्धि हुन आउँछ र बादल बनेर पानी पर्ने क्रम पनि बढ्छ भनेर सम्बन्धित क्षेत्रका वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन्।

‘द गारजियन’ को एउटा लेखमा उल्लेख गरिएअनुसार प्रति एक डिग्री सेन्टिग्रेड तापक्रम वृद्धि हुँदा वर्षामा दुई प्रतिशत वृद्धि हुन्छ । त्यसैगरी पानीको बाफ प्रति एक डिग्री तापक्रम वृद्धि हुँदा ७ प्रतिशतले बढेर आउँछ । अहिले यसैअनुसार भइरहेको विभिन्न संस्थाको वेभपेजमा लेखिएको छ।

नेपालमा पछिल्ला वर्षहरूमा बाढी आउनुमा केही प्रमुख कारणहरू छन् । पहिलो हो, जलवायु परिवर्तनको प्रभाव। लामो समय खडेरी लाग्ने अनि एकै दिन ठूलो पानी पर्ने प्रकृतिको प्रवृति देखिएको छ। यसले ८३ प्रतिशत पहाडी क्षेत्र भएको नेपालमा असर देखिने नै भयो। एक्कासी धेरै पानी पर्दा आकाशे पानीलाई जमीनले सोस्न नसकी बाढीको रूपमा बगी जाने हो।

पछिल्ला वर्षहरूमा कूल औसत वर्षाको मात्रा बढेको पाइन्छ । हिउँदे वर्षा धेरै हुन थालेको छ । मनसुनमा हुने जति वर्षा हो थोरै दिनमा भइसक्दा बाढीको समस्या आएको छ। दोस्रो कारण अवैज्ञानिक विकास हो। विकासको क्रमले तीव्रता पाउँदा पहाडी भेगमा खहरेहरू थुनिएका छन्। कतिपयको बाटो परिवर्तन(डाइभर्सन) गरिएको छ। यसले गर्दा नियमित गल्छी परेको भागबाट बाढी नबगेर बाहिरतिर फैलिन पुगी क्षति गर्ने गरेको छ।

तेस्रो कारण छ चुरेमा औधी वर्षा। चुरेक्षेत्रमा औसतमा वार्षिक रूपमा दुई हजारदेखि २५ सय मिमि वर्षा हुने गरेको डीएचएमले जनाएको छ । चुरेमा धेरै वर्षा भएपछि त्यसबाट उत्पन्न हुने बाढीले तराईमा असर गर्छ । चुरेको कमजोर जोर्ती भएको भूइँ चाक्ला चाक्लै गेगर धेरै आयतनमा बगाएर ल्याउने भएकोले तराईका नदीहरूका पीँध उक्सिएर आएका छन् । हरेक साल आधादेखि एक फुटसम्म नदीको पीँध माथि आएको छ । जसले गर्दा खोलामा बग्ने पानी खेती र बस्तीमा फैलिएर बाढी समस्या भयो । यो चौथो कारण हो।

तराई क्षेत्रमा निर्माण गरिएका बाँध तथा सडकहरूका कारण बस्ती डुबानमा परेका छन्। ग्रामीण सडकहरू अग्ला तथा ग्राभेलयुक्त छन्। बढी नाफा खानलाई कम र कमसल कलभर्टहरू राखिएका छन् जसले पानी प्रवाह(डेलिभर) गर्न सक्दैन अनि बाढीको समस्या आउँछ। पाचौँ कारण यो हो। सहरी क्षेत्रमा बनाएका अव्यवस्थित घरहरू, ढलनिकासको अभाव, सहरी क्षेत्र हुँदै बग्ने नदीहरूको बहाव क्षेत्रलाई साँघु¥याएर तथा पुलहरू बनाइनुले सहरी क्षेत्रमा बाढी चलेको छ। सिमसार क्षेत्र तथा पोखरीहरू नासिनुले तराईमा बाढीको प्रकोप बढेको अर्को कारण छ। सहर होस् या गाउँ आजकाल पोखरीहरू बनाउने भन्दा भइरहेका पनि पुर्ने क्रम बढेको छ । गहिरा होलीलाई सेपेर साना बनाइएका छन् वा पुरिएका छन्। त्यस्ता बनावटले धेरै पानीलाई स्थान दिएको हुन्थ्यो, अब त्यो भएन र बाढी चल्यो।

पहाडी भेगमा वनक्षेत्र बढेको छ र पहिरो एक हदसम्म रोकिएको छ। प्राचीन धेरै पहिराहरू थामिएका छन् । तर, अवैज्ञानिक हिसाबले बनाइएका रोडले नयाँ पहिराहरू जन्मिएका छन्। यी नयाँ बनिएका पहिराहरू बढी क्षतिप्रदायक छन्। किनभने यिनीहरू गाउँका बीचमा छन्, घरघर पुगेका छन्। यीनले ल्याउने पहिरोले घरआँगनमा प्रत्यक्ष नोक्सानी गर्छ।

उच्च पहाडी क्षेत्रमा माटो पातलो र अपरिपक्क छ। तसर्थ सानो पानी पर्दा पनि भलबाढीले बगाएर लान्छ । चुरे क्षेत्र अति कमलो माटो अझै भनौ गेगरले बनेको छ। पानीको बहाव यसले थाम्न सक्दैन। त्यसमा पनि अहिले वन फडानी र ढुङ्गागिटी उत्खनन् र निकासीका कारण चुरेले पानी थेग्न सकेको छैन। फलतः तराईमा बाढी चलेको छ।

सहरिया बाढी
पछिल्ला वर्षमा सहरिया बाढीको प्रकोप बढ्न थालेको छ। सहरी क्षेत्रमा अलिकति वर्षाले पनि गर्दा बाढी चल्ने गरेको छ । यसको प्रमुख कारण अव्यवस्थित बसोबास नै हो। ढलनिकासको उचित व्यवस्था नहुनु, फोहोरमैला जताततै फाल्ने गर्नु पनि अरू कारणहरू हुन्। अधिकांश नेपाली सहरहरू नदी किनारमै छन् चाहे नदी साना हुन् वा ठूला । कतिपय सहरका बीचैबाट नदी बगेका छन्। तर ती नदीमा उचित किसिमको तटबन्धन नहुँदा समस्या आएको छ। पुरानै अनुभवका आधारमा बाँसलगायतका रुखविरुवा नदीतटमा रोप्ने गरिएको छ। यस्ता विरुवाले केही हदसम्म त जमिनको सुरक्षा गरेका होलान् तर यिनै ढलेपछि भने नदी थुनिने गरेका छन्। थुनिएका नदी सहर पसेर धेरै धनजनको क्षति हुने गरेको छ।

दोष प्रकृतिको मात्र छैन। सहरिया बाढीको लागि स्वयम् सहरिया मानिस नै दोषी हुन्। खोलालाई मिचेर प्लटिङ गर्ने, घर बनाउने, नाला निकास नगर्ने, साना नाला बनाउने, साँगुरा गल्लीहरू राख्नेजस्ता गतिविधिले सहरी क्षेत्रमा बाढीको प्रकोप बढेको छ । अहिले पुराना सहरहरू पुनर्निर्माणको चरणमा छन्। सय वर्ष अघि बनाइएका सडकहरूलाई स्तरीकरण र विस्तारीकरण पनि गरिँदै छ। यस कार्यले आकाशबाट धरतीमा झरेको पानीलाई समुद्रतिर जाने तयारीमा रहँदैमा रोकिदिएको छ र यहाँका धराबासीलाई आतङ्कित बनाइदिएको छ। पुनर्निर्माणको कामको गति अति सुस्त भएकाले वर्सेनी सहरिया बाढीबाट पीडित बन्नुपरेको अवस्था छ। विराटनगर, जनकपुर, विरगञ्ज, नेपालगञ्ज, बुटवल भैरहवालगायत काठमाडौँ सहरमा पनि यी र यस्तै कारणले बाढी चलेको हो।

विकासको बाटोमा भर्खर बामे सर्दै गरेको हाम्रो देशमा दिगो र एकीकृत विकासको अवधारणा आए पनि व्यवहारमा लागू हुन सकेको छैन । त्यही ठाउँमा रोड भत्काइन्छ रोड बनाउनलाई, रोड बनिएपछि फेरि भत्काइन्छ पानीको पाइप विच्छ्याउनलाई, फेरि रोड भत्काइन्छ ढलका लागि। यी सबै काम सम्बन्धित निकायको समन्वयमा एकै साथ गर्न किन नसकिने ? विकासको नाममा सँधै बासिन्दाले सास्ती पाइराख्ने ? अनि, यस्तै कर्मले बाढीलाई सहयोग गरिदिन्छ।

बाक्ला घर बनेपछि घरक्षेत्रमा परेको पानी कहाँ जाने ? पानी सोस्ने जमिन छैन । पक्की सडक, घर या यस्तै संरचनाले ढाकिदिएको छ । सो पानी बाढी नभएर कता जाने त ? यसैले पनि शहरिया बाढी बढेको देखिन्छ।

निर्माण आचारसंहिताले भन्छ– खोला किनारदेखि ३० मिटर पर मात्र बसोबासका लागि घर बनाउने। तर, हाम्रो देशमा यस्तो कमै मात्र पाइएको छ । विभिन्न स्थानमा हेर्ने हो भने प्रत्येक साल मूलतः शहरी क्षेत्रमा खास स्थानमा बाढी पस्ने गरेको छ र सोही स्थानमा मानिसको बसोबास पनि छ। सालिन्दा पानी पस्छ, बाढी लाग्छ, मानिस विस्थापित हुन्छन्, राहत सामग्री पाउँछन् । बाढी भाग्छ, मानिस फर्कन्छन् । अर्को साल सोही प्रक्रिया दोहोरिन्छ । सहरी मात्र होइन आजकाल ग्रामीण क्षेत्रमा समेत जग्गा प्लटिङ गरिएका छन्। यसले पनि बाढीको प्रकोप बढेको छ।

आजकाल किन बढी
बाढी पहिला पनि उति साह्रै कम त आउने गरेको हैन । उबेला मानिसलाई त्यति महसुस हुन्नथ्यो । किनभने मानिस बाढी प्रभावित क्षेत्रमा कमै थिए वा बसेका थिएनन्। अहिले बस्ती बिस्तार हुँदै जाँदा त्यस्ता जोखिमपूर्ण स्थानमा मानिस पुगे अनि बाढीको सिकार बने। बाढीबाट पहाडमा हैन तराईमा बेसी असर परेको देखियो। पानी फिँजारिने त तराई मधेशमा नै हो तथापि बढी मानिस यस भूभागमा भएर पनि सो कुरा चर्चामा आयो।

कूल जनसङ्ख्याको करिब ६० प्रतिशत तराईमा जम्मा भइसकेको छ। रोज्जा र सुरक्षित स्थान मात्रले सबैलाई पुग्दैन। अनि बाढी सम्भावित क्षेत्रमा पनि जानी नजानी मानिस बस्न पुग्छन् र बाढीपीडित हुन्छन् । भावनात्मक मात्र होइन यथार्थमा पनि अन्य विकासे गतिविधिले वा मानवीय चालचलनले पनि बाढी बढाएको चाहिँ पक्कै हो। भूउष्णीकरण र जलवायु परिवर्तनको कारण त माथि खुलाइसकिएको छ।

पहिरोको जोखिम उस्तै
पहिरो पहाडी भूभागमा चल्ने हो भने हिमालमा हिमपहिरो। नेपालमा हिमाल र पहाड गरी कूल क्षेत्रफलको ३ प्रतिशत छ । नेपाल यस्तो पहाडी भूक्षेत्रमा पर्छ कि ३८ सय किलोमिटर लामो अफगानिस्तानदेखि म्यानम्यारसम्म फैलिएको हिन्दूकुश हिमालयको मध्य भागमा जहाँ धेरै पहिरो, हिमपहिरो र भूकम्पका जोखिम उठ्न सक्छन्। यसको एक तिहाइ अर्थात् ८०० किलोमिटर त नेपालले नै लिएको छ । यो सबैभन्दा सक्रिय पहाडी क्षेत्र हो । यहाँको माटो बगिरहने किसिमको ,अस्थीर भूगर्भिक बनावट, नरम र विखण्डित चट्टानद्वारा निर्मित छ । यति मात्र होइन यस्तो कमजोर धरातलले मनसुनी सिजनमा असाध्यै भारी वर्षा थाम्नुपर्ने अर्को बाध्यता छ । अनि त वर्षामासमा विशाल पहिराहरू र भूकम्पहरू चल्नु स्वभाविक मान्नुपर्छ।

पाकिस्तान, भारत, नेपाल र भूटानलगयातका देशमा पहिरोजन्य क्रियाकलापबाट वार्षिक एक अर्ब अमेरिकी डलरको क्षति हुने गरेको विवरण एक जापानिज जर्नलमा छापिएको छ। यसबाहेकको मानवीय क्षतिको लेखाजोखा छैन।

संसारमा चल्ने पहिरोको करिब तिस प्रतिशत यही हिन्दूकुश हिमालय क्षेत्रमा पर्दछ । यसर्थ नेपालले मोल्नुपर्ने जोखिमताको अनुमान गर्दा कहालीलाग्दो छ। थप जोखिम अर्को छ। हाम्रा पहाडी बस्तीहरू खोला किनारमा छन्। त्यहाँ सम्म फराकिला फाँटहरू छन्। ती फाँटहरू पहिला पहिरो र खोलाले माटो गेगर थुपारेका कारण बनेका हुन्। अलि उच्च ठाउँमा भएका बस्तीसमेत अधिकांश हेर्ने हो भने विगतमा पहिरो चलेर थामिएको क्षेत्रमा छन् । यी खतराको रेखाभित्र पर्ने धरती हुन्।

मानिस बसोबास गर्ने क्रममा यो कुरा ख्याल गरेका छैनन्। जहाँ पानी, घाँस दाउरा, चरिचरन र खेतीयोग्य जमिन उपलब्ध छ त्यहीँ मानिस बसे । पछि बसेका बस्तीहरूले व्यापारिक अवसर हेरेका छन् । तर आफू बसेको धरातल कति खतरामा छ ख्याल गरेका छैनन्। ३ नं. प्रदेशमा मात्र करिब ६७७ वटा ठूला पहिरा चलिरहेका छन्। देशैभरिको विवरण लिँदा यो संख्या पाँच गुणा बेसी हुनेमा शङ्का छैन। पहिरो सामान्यतया त्यस्तो ठाउँमा जान्छ जहाँ धेरै ओसिलो जमिन छ र पानीका स्रोत प्रसस्तै छन्। यस्तै ठाउँ मानिसका लागि सुविधासम्पन्न हो। अनि त मानिस यस्तैमा बसेर पहिरोको जोखिम मोलिरहेका छन् ।

तथ्याङ्कले देखाएका छन् कि सन् २००९ को जुन पहिलो हप्तादेखि अगष्ट दोश्रो हप्तासम्ममा ५० जना मानिस पहिरोमा परी मरेका थिए । सन् १९८८ मा दरबाङ भन्ने ठाउँ जुन काठमाण्डौँबाट दुई सय किलोमिटर पश्चिममा पर्छ, त्यहाँ पहिरो गयो र १०९ जनाको ज्यान गयो । त्यसको कारणले म्याग्दी नदी केही समय थुनियो । यागी भनिने अनुसन्धाताको अनुसन्धान विवरणअनुसार दरबाङमा त्यसको ६२ वर्षअघि विशाल पहिरो गएको थियो । त्यतिबेला पातलो बस्ती भएको अवस्थामा पनि ५०० जना मान्छे मरेका थिए । जापानको इन्टरनेशनल जर्नल अफ इरोजन कन्ट्रोल इन्जिनियरिङ, अंक ५, सन् २०१२ मा नेपालका भोटेकोशी नदीका तटीय गाउँहरू, सिन्धुपलाञ्चोक र गोरखा जिल्लाको नदी तटीय क्षेत्रहरूमा पहिरोको उल्लेख गरी जोखिमता प्रस्तुत गरिएको छ । सुनकोशी र अरुण नदी कोरिडोरमा बढी वर्षा र भूबनोटका आधारमा पहिरोको उच्च जोखिम मानिएको छ ।

नेपालमा पहिरो चल्नुका थुप्रै कारण छन् । तीमध्ये पहिलो हो– कमजोर ,खिँइदै गरेको र खुकुलो माटो र चट्टानको बनावट । दोश्रो हो– उकासिँदै गरेको टेक्टोनिक प्लेट । नेपाल देश बसेको जमिनमुनिको ठूलो इन्डियन प्लेट उँभो चाइनातिर सर्दै र आकाशतिर बढ्दै छ । यसले भू–हलचल ल्याउँछ र पहिरो चल्न सक्छ । तेस्रो कारण हो –मनसुुनमा हुने भारी वर्षा । नेपालमा जति वर्षा हुन्छ त्यसको ८० प्रतिशत मनसुनका चार महिनामा बर्सन्छ । साथै भूउष्णीकरणले हिमाल पग्लिने क्रमले गर्दा पहिरोको जोखिममा नेपाल परेको छ । मानिस स्वयम् चौथो कारण हो । जङ्गल फडानी, सडक निर्माण, अवैज्ञानिक खेती प्रणाली, सिँचाई आदि गरेर मानिसले पहिरोको जोखिमता जानीनजानी उठाइरहेका छन् । नेपालमा उहिलेदेखिकै प्रमाणहरू हेरी ल्याउँदा थुप्रै पहिरा गएका छन् । कतिपय ती थामिएका ठाउँमा आज मानिसको ठूलो बसोबास भएको छ ।

अहिले जारी रहेको सडक निर्माण प्रक्रियालाई पनि अर्को पहिरो कारकको रूपमा लिन सकिन्छ । अति नै अवैज्ञानिक किसिमले पहाडी गाउँघरहरूमा डोजर लगाएर सडक बनाउने गरिएको छ । यसले असङ्ख्य साना तथा केही ठूला पहिराहरू सिर्जना गरेको छ । जमिनमा अति भार दिने गरिका विकास निर्माण र गह्रौँ सवारीहरूका करण पनि पहिरो चलेका छन् ।

उसै पनि ढुङ्गा चट्टान खिइने क्रम चलिरहने प्राकृतिक नियम हो । ढुङ्गा वर्सेनी खिइरहँदा यसले माटोसँगको आडिलो सम्बन्ध बिगार्दछ । अनि सो ढुङ्गा र पछि उसले थामेको माटो पहिरोको रूपमा खस्दछ ।

सन् १९९३ मा मध्य नेपालमा आएको बाढी पहिरोले कुलेखानी जलविद्युत केन्द्रलाई धेरै प्रभाव पारेको थियो । सन् १९८५ मा पहिरोले सोलुखुम्बुको नाम्चे सानो जलविद्युत केन्द्रमा उस्तै क्षति ग¥यो । सन् १९९४ को अछाम सदरमुकामलाई बढार्ने पहिरो पनि नेपालको पहिरोको इतिहासमा उल्लेखनीय छ भनी भूगर्भविद् जी.एस. पोखरेलले ल्याण्डस्लाइड हाजार्डस् मिटिगेशन इन हिन्दूकुश हिमालयज भन्ने पुस्तकमा लेखेका छन् ।

हाल पहिरो चलेको र यसको आसपासमा विगतमा धेरै ठूला पहिरा गएका थिए भन्ने अनुमान भूगर्भविद्हरूले गरेका छन् । प्रमाणका रूपमा सन् १९७६ मा सुनकोशीको विद्युत उत्पादन गृहमा पुगेको क्षति एउटा हो । सन् १९८१ मा हान्जान्घो हिमताल फुटेर भोटेकोशीमा बाढी आई सीमावर्ती क्षेत्रमा पहिरो चली निकै क्षति पुर्याएको थियो । भोटेकोशीमै सन् १९८२ मा बाढीले ११४ जना मानिसको ज्यान लिएको घटना ताजै छ । सन् १९९६ मा लार्चा खोला(जुन भोटेकोशीमै मिसिन्छ) पहिरो झरेर पुरिएको थियो । त्यो बेला ५४ जना मानिस मरे ।

नेपालमा हरेक साल औसतमा चार सय जना मानिसको ज्यान बाढी र पहिरोबाट जानेगरेको तथ्याङ्क छ । वार्षिक २० करोड अमेरिकी डलर बराबरको धनमाल नाश हुने गरेको छ ( खनाल १९९६) । पहिरोको बारेमा प्रसस्त जानकारी नभएको र कस्तो ठाउँमा बस्न उपयुक्त हुन्छ भन्ने कुरा ख्याल नगरी बस्ती बस्ने गरेको, विगत नबुझिकन स्थायी गाउँ बन्ने गरेकोले पनि नेपालमा जनधनको क्षतिको खतरा बढेको हो । अनुसन्धाता एस.आर. चालिसेले आफ्नो प्रकाशनमा उल्लेख गरेअनुसार जलवायु परिवर्तनका कारण नेपालको पहाडी भूभागमा पहिरोको जोखिम झन् बढेर आएको छ ।

नेपालमा चलेको उक्ति एवम् विश्वास वा भनौ जनअनुभव यो छ कि खोलो कुदेको ठाउँमा पछि फेरि खोलै कुद्छ र पहिरो चलेका ठाउँमा पहिरो नै जान्छ । यो भनाइलाई वैज्ञानिकहरूको अनुसन्धान र विचारले समर्थन गरेको छ । विगत वर्षमा सुनकोशी तटमा पहिरो गएको ठाउँमा पहिला ठूलो पहिरो गएर थामिएको र मान्छेको बसोबास भएको ठहर गरिएको छ । नेपालमा अहिले हजारौँ पहिरा छन् र हजारौँ बस्तीहरू पुरानो पहिरो भएको ठाउँमा छन् । त्यसैगरी हजारौँ पहाडी ठूला बजार र व्यापारिक केन्द्रहरू हिमालमा उत्पति भएका नदीकिनारमा छन् ।

सावधानी
बाढी आउने कुरालाई छेकबार गर्न नसकिए पनि सम्भावित खतराबाट सावधानी भने अवश्य अपनाउन सकिन्छ । हुनत पहिलो कुरा व्यवस्थित बसोबास र खोलाको पानी कुद्ने भाग पूरापुर छोडिदिनुपर्छ । छेउमा जैविक इन्जिनियरिङ् अनि भौतिक निर्माण इन्जिनियरिङ् पनि साथैसाथ गरिनुप¥यो ।

बर्सेनी उही स्थानमा उनै बासिन्दा बाढी पीडित यस कुरालाई निरुत्साहित तथा व्यवस्थित गरिनुपर्छ । कहिलेकाहीँ नसोचेको ठाउँमा पनि बाढी आउन सक्छ ,पहिरो चल्न सक्छ । भनाइ नै छ कि,‘ पहाडमा पहिरो छाडा र मधेशमा खोलो छाडा ।’ यसको अर्थ पहाडमा जहाँ पनि पहिरो जान सक्छ र मधेश तराईमा जहाँ पनि खोलो पस्न सक्छ । त्यस कारण पूर्वसावधानी अपनाउन जरुरी छ । जोखिमग्रस्त ठाउँका बस्तीलाई सुरक्षित स्थानमा ल्याउनुपर्ने र राहत सामग्रीहरू तयारी अवस्थामा राखिनुपर्ने हुन्छ । स्थानीय तह, गैरसरकारी संस्थाहरू, रेडक्रसलगायतका विवेकी संस्थाहरू सबैले यसतर्फ ध्यान दिनुपर्ने समय आएको छ ।

उसै पनि नेपाल प्राकृतिक प्रकोप खासमा भूकम्प र बाढी पहिरोको उच्च जोखिम बोकेर बसेको देश हो । यसको भूगोल, भौगोलिक बनावट, जलस्रोत र जलवायु परिवर्तनको प्रभावले यस्तो भएको हो । तसर्थ देशलाई र प्रकृतिलाई सराप्न पाइएन । धन र जनको सुरक्षा र परिहाले उदार मनहरूको जागरुकता आवश्यक देखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार