बाढीपहिरोका कारण मृत्यु भएका ६० मध्ये ४८ को सनाखत (नामसहित)

काठमाडौँ– केही दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षति, यातायात, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुनुका साथै जनजीवन प्राभावित भएको छ। सो घटनामा परी मुलुकका विभिन्न स्थानमा हालसम्म ६० जनाको मृत्यु, २६ जना बेपत्ता, ३८ जना घाइते भएका छन्।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार मृत्यु भएका ६० मध्ये ४८ जनाको सनाखत भएको छ ।

प्राप्त विवरणअनुसार झापाको दमक नगरपालिका–१० की एलिजा न्यौपाने र झापाकै सौगात चापागाईंको खोलाले बगाएर तथा भोजपुरका जगतबहादुर राई, जनक विक, मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राईको पहिरोमा पुरिएर मृत्यु भएको हो।

इलामको चुलाचुलीका मानाहाङ लावतीको खोलाले बगाएर मृत्यु भएको छ भने ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–४ का पासाङपुटी शेर्पा, सिद्धिचरण गाउँपालिका–६ का कान्छीमाया श्रेष्ठ, मोलुङ गाउँपालिका–७ का खपुटी शेर्पा र याङ्जी शेर्पाको बाढी–पहिरोमा परी मृत्यु भएको केन्द्रले जनाएको छ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिकाका रेखा राई, रोमन राई र रोहन राई तथा सिराहा मिर्चैया नगरपालिका–४ का रागनीकुमारी महत्तो, रौतहट गौरका शिवमङ्गल राउत र उमेश राउत, दुर्गाभगवती गाउँपालिकाका वीरेन्द्र मिश्र, इसनाथ नगरपालिका–१ का हरेन्द्र राय यादवको पनि विपद्मा परेर मृत्यु भएको छ ।

पर्साको पर्सागढी नगरपालिका निखिल पटेल, बारा परवानीपुरका विकी यादव, कलैया उपमहानगरपालिकाका अजित सिंह, रामेछापका पदमकुमारी सुनुवार, सिन्धुलीको फिक्कल गाउँपालिकाका हेककुमारी सुनुवार, दुधौली नगरपालिका–४ का कार्बन कपाली, सुनिता पौडेल र सविता पौडेलको समेत मृत्यु भएको केन्द्रले जनाएको छ ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ का गोमा दङ्गाल र सुहावी दङ्गाल तथा रोशी गाउँपालिकाका कृष्णदेवी रायमाझीको समेत मृत्यु भएको छ । काठमाडौँ मूलपानीमा शर्मिला यादव, नितु यादव, कुन्दन यादव, ललितपुरको वाग्मती गाउँपालिकाका सुरज जिम्बा र सीता रानामगर, महाङ्काल गाउँपालिकाका अविरल गोले तथा ललितपुरकै सन्दीप ल्हो, सानुमैयाँ ल्हो, कुसुन्तीका सुवेश बस्नेतको समेत मृत्यु भएको छ ।

मकवानपुरको कैलाश नगरपालिका सानुकान्छा सुनार, थाहा नगरपालिकाका सन्तमायाँ बलामी, इन्द्रसरोवरका सृष्टि डिमडुङ तथा धादिङ गजुरी गाउँपालिकाका अस्मिता तामाङ र बेनीघाटरोराङ गाउँपालिकाका राजकुमार ठकुरीको पनि विपद्मा परेर मृत्यु भएको हो।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ का धनबहादुर सुनार, डोल्पाका धर्मराज बोहरा तथा दाङको बङ्गलाचुली गाउँपालिका–८ का भक्तसिंह बैजालीको पनि मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयले उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार