Saturday, September 28, 2024

वायु प्रदूषणको मारमा विद्यार्थी

काठमाडौँ – बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा गम्भीर असर गरिरहेको गुनासो विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूले गरेका छन् । विशेषतः बिहान र बेलुका उपत्यकाको वायु बढी प्रदूषण हुने र त्यही समयमा यात्रा गर्नुपर्ने भएकाले विद्यार्थीहरू यसको मारमा हुन् ।

विद्यार्थी मात्र होइन हरेक तह र तप्काका मानिसलाई प्रदूषणले गम्भीर असर गरेको छ तर त्यसबाट विद्यार्थीहरू भने बढी प्रताडित भएको उनीहरूको गुनासो छ । स्कुल र कलेजमा पढ्ने विद्यार्थीमा यो समस्या बढी देखापरेको छ । विभिन्न अध्ययनले बिहान र साँझपख वायु प्रदूषण बढी मात्रामा हुने देखाएका छन् । यस विषयमा राम्रो ज्ञान छ, सावधानीका उपायहरू पनि अपनाइरहेका छन् तर प्रदूषण यति धेरै छ कि सावधानी मात्र पर्याप्त छैन ।

यस अगाडी हाकाहाकीले काठमाडौैँ उपत्यकाका केही स्कुलमा अध्ययनरत साना नानीहरूसँग प्रदूषणको बारेमा लामो कुराकानी गरेको थियो । यसपटक चाहिँ हामीले कलेजमा अध्ययनरत विद्यार्थीको धारणा बुझ्ने प्रयत्न्न गरेका छौँ ।

अनिशा श्रेष्ठ, कक्षा १२, मुनलाइट हाइयर सेकेन्डी स्कुल : ‘उपत्यकामा प्रदूषण बढ्नुको मुख्य कारण यहाँको जन सङ्ख्या र सवारी साधन हो । कलेज आउँदा—जाँदा गाडीबाट निस्किने धुवाँ, धुलोको कारण मास्कबिना हिँड्न नसकिने र बस चढ्न पनि समस्या हुन्छ । साँझबिहान त्यही प्रदूषित वातावरणमा बसिरहन परेकोले गर्दा स्वास्थ्यमा पनि समस्या देखिने गर्छ । यो समस्या कम गर्न सबैभन्दा पहिले त सवारी साधन कम गर्नुपर्छ र जनसङ्ख्या वृद्धिदर घटाउनु पर्छ ।’

 

 

प्राची शाही, स्नातक तह—तेस्रो वर्ष, लिटिल बुद्ध कलेज : ‘उपत्यकामा प्रदूषणको असर हरेक दिन बढिरहेको छ । अहिले यो वायु प्रदूषणको समस्या चर्किनुको मुख्य कारण भनेको बाटोमा गुड्ने अव्यवस्थित पुराना सवारी साधन हुन्, जसले अधिक धुवाँ फाल्ने गर्छन् । यिनीहरू सँगसँगै निर्माणका कार्यले पनि हावापानीलाई प्रदूषित बनाइराखेको छ । यदी बाटो पेटीमा वृक्षरोपण गर्ने हो भने वायु प्रदूषणको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ ।’

बिपिन अर्याल, स्नातक तह—दोस्रो वर्ष, एस इनस्टिच्यूट अफ म्यानेजमेन्ट : ‘सर्वसाधारण आफैँमा पनि वातावरणप्रति लापरवाही रहेकोले गर्दा वायु प्रदूषण बढिरहेको छ । यहाँ चल्ने पुराना सवारी साधन र पहिलेदेखि नै स्थापित भएका कलकारखानाहरू जस्तै इट्टाभट्टा तथा घरबाट फालिने फोहोर र ढलको निकास पनि राम्रो नभएका कारण वायु प्रदूषण बढाउनमा तिनीहरूले भूमिका खेलिराखेका छन् । त्यती मात्र नभइ सडकमा अव्यवस्थित तरिकाले फालिने फोहोरले पनि वातावरणलाई असर पु¥याको छ । यसको रोकथामका लागि सरकारले पनि आफ्नो काम राम्रोसँग निर्वाह गर्नुपर्छ र नागरिक पनि सचेत भएर वातावरण सफा राख्न र वायु प्रदूषण घटाउनतर्फ लाग्नुपर्छ ।’


समीप श्रेष्ठ, स्नातक तह—चौथो वर्ष, काठमाडौँ मोडेल कलेज : ‘म कलेज जादाँ बाइकमा जान्छु तर बाइकमै गए पनि धुलो उड्ने भएकोले बाइक चलाउन समस्या हुन्छ । काठमाडौँमा वायु प्रदूषण बढ्नुको मुख्य कारण भनेको एउटा त यहाँ बाटा राम्रा छैनन् र ठाउँ ठाउँमा खनेका कारणले पनि धुलो उड्ने गर्छ र अर्को चाहिने भन्दा बढी मात्रामा गुड्ने सार्वजनिक यातायातहरू जसले प्रदूषणलाई बढाइराखेका छन् ।’

 

 

रवि रिजाल, स्नातकोत्तर तह, युनिग्लोब कलेज : ‘उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण भनेको काठमाडौँको फोहोर हो । जथाभावी फालिएको फोहोरले हावापानीलाई प्रदूषित बनाउँछ र जसले स्वास्थ्यमा समस्या देखापर्छ । बाटोमा मास्क नलगाई हिँड्न सकिने अवस्था छैन, अहिलेको राजधानी सहर । यसलाई कम गर्नका लागि सरोकारवाला निकायहरूले यसमा ध्यान दिन आवश्यक छ र बनाइएका नियमलाई कार्यान्वयन गर्न पनि आवश्यक छ । यस सँगसँगै यहाँ बस्नु हुने सम्पूर्ण व्यक्ति सचेत हुनुका साथै परम्परागत सोचमा परिवर्तन ल्याउनु आवश्यक छ ।’

ताजा समाचार

सम्बन्धित समाचार