मोहोर दिँदै दैलोबाटै फोहोर उठाउँदै सुइरो कार्यक्रम

चितवन- आफ्नो घरको फोहोर दैलोमा नै आएर कसैले लैजान्छ, त्यो पनि पैसा दिएर। यो भन्दा आश्चर्यको कुरा के हुन सक्ला ? हो, यही आश्चर्यमय काम गर्दै आइरहेको छ, चितवनमा अवस्थित सुइरो कार्यक्रम नारायणगढ।

महानगरले उठाउने फोहोर त्यो पनि समयमा उठ्दैन, त्यसैमाथि फोहोर दिएबापत उल्टै मासिक रकम पनि तिर्नुपर्छ । तर, फोहोरसँगै पैसा पनि आउने भएकोले सर्वसाधारण उत्साहित भएर सुइरो कार्यक्रम नारायणगढलाई फोहोर दिने गरेका छन्।

कार्यक्रमका अध्यक्ष डिल्लीराम सापकोटाका अनुसार नरम खालको प्लास्टिकलाई ३० रुपैयाँ, कडा खालको प्लास्टिकलाई १२ रुपैयाँ, बोतलहरू १० रुपैयाँ प्रतिकिलोमा सुइरो कार्यक्रमले खरिद गर्ने गरेको छ।

‘मासिकरूपमा आम्दानी भएको पैसाले संस्थामा भएका ३ जना कर्मचारी र एकजना सचिवलाई तलब दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि बाँकी रहेको रकम सामाजिक कार्यमा लगाइरहेका छौँ ।’

यस कार्यक्रमले टोलटोलमा, सडक पेटीमा तथा सिनेमा घर लगायत विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहोर सङ्कलन गर्दै आइरहेको छ। भरतपुर, पूर्वी चितवन, पश्चिम चितवनदेखि लिएर नवलपुरको थुम्चीसम्म पुगेर फोहोर सङ्कलन गर्दै आएको सोही कार्यक्रमका सञ्चालक देव वस्तीले जानकारी दिए ।

प्लास्टिक व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद गजुरेलका अनुसार कार्यक्रमले जनचेतना अभिवृद्धि गर्दै फोहोर सङ्कलन गरेर वातावरण स्वच्छ पार्ने उद्देश्यसहित अगाडि बढेको छ ।

‘प्रत्येक घरमा फलामको सुइरो प्रदान गछौँ, उक्त सुइरोलाई उहाँहरूले घरको सजिलो ठाउँमा झुण्ड्याउनु हुन्छ र हामी दूध, दही, घिउलगायतका प्लास्टिकलाई सोही सुइरोमा खोपेर राख्न लगाउँछौँ,’ उनले भने, ‘सुइरोमा सफा गरेको प्लास्टिक मात्र राख्नु पर्दछ । सुइरोमा जम्मा भएका प्लास्टिक उठाएर पुनः प्रशोधन केन्द्रमा लैजान्छौँ ।’

वातावरण स्वच्छ राखौँ, स्वस्थ रहौँ

प्लास्टिक फोहोर हैन मोहोर हो भन्ने अवधारणाका साथ अगाडि बढिरहेको सुइरो कार्यक्रमले वातावरण प्रदूषण रोक्न मद्दत गरेको कार्यक्रमका सञ्चालक देव वस्ती बताउँछन्।

‘फोहोर प्लास्टिकबाट झोलादेखि फर्निचरका सामग्रीहरू बनाइ पुन प्रयोगमा ल्याउन सकिन्छ,’ उनले भने, ‘जसको कारण काठबाट निर्मित सामग्रीभन्दा पनि प्लास्टिकजन्य सामग्री बढी प्रयोगमा ल्याउन सकिन्छ, फलस्वरूप वनविनाश रोक्न पनि सकिन्छ।’ वातावरण स्वच्छ पार्ने तथा स्वस्थ रहने अवधारणा भएकोले प्रत्येक वर्ष विभिन्न ठाउँमा गइ वृक्षरोपण गर्ने उनी बताउँछन्।

फोहोर चिनेर व्यवस्थापन गर्न सक्ने हो भने विदेशमा जाने डलर नेपालमै रहने सुइरो कार्यक्रमका अध्यक्ष डिल्लीराम सापकोटाले बताए । ‘चिन्ने हो भने फोहोरबाटै मोहोर,’ उनले भने, ‘नचिन्दा फोहोर, जान्छ मोहोर।’

फोहोर सङ्कलनका सुरुवाती दिनमा ३५ देखि ३६ ट्याक्टर फोहोर सङ्कलन हुने भए पनि सुइरो कार्यक्रमले प्लास्टिक सङ्कलनलाई निरन्तरता दिएपछि ३ देखि ४ ट्याक्टर मात्रै फोहोर उठ्न थालेको सापकोटाले बताए।

घरबाट निस्किएको फोहोरलाई विविधीकरण (सड्ने फोहोर, सिसाको फोहोर र प्लास्टिकको फोहोर) गरेर सङ्कलन गर्ने हो भने फोहोर व्यवस्थापनमा आपत्ति नहुने प्लास्टिक व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद गजुरेलले बताए।

‘काठमाडौँमा भएको फोहोरको समस्या प्लाष्टिकसँग गल्ने तथा अन्य फोहोर मिसाउँदाको नतिजा हो,’ उनले भने, ‘सुइरो कार्यक्रमको अवधारण अपनाउने हो भने काठमाडौँको फोहोरको समस्या पनि लगभग शून्यमा आउँछ।’

कर्मचारी र सवारी साधन अपुग

सुइरो कार्यक्रम नारायणगढले फोहोर सङ्कलन गर्नका लागि आवश्यक कर्मचारी तथा सवारी साधनको अभावका कारण प्रर्याप्त फोहोर सङ्कलन गर्न नसकेको सञ्चालक वस्तीले बताए।

‘हामीसँग ४ जना कर्मचारी र पुरानो विद्युतीय अटो मात्र छ, जसको कारण धेरै ठाउँमा पुगेर फोहोर सङ्कलन गर्न समस्या परेको छ,’ उनले भने, ‘महानगरले यसका लागि केही सवारी साधन सहयोग गर्दिए नगरबाट जिल्ला हुँदै देशव्यापि रूपमा अगाडि बढ्न सहज हुन्थ्यो।’

नेपालमा अधिकांश प्रयोग हुने चाउचाउ, कुरकुरे, भोला तथा चिप्स लगायतका प्लाष्टिकको भित्री भागमा हुने सेतो टल्कने वस्तुको कारण यस्ता प्लाष्टिकलाई नवीकरण गर्ने मेसिन हाम्रो देशमा उपलब्ध नभएकोले यिनलाई पुनः प्रशोधन गर्न मुस्किल भएको सुइरो कार्यक्रमका अध्यक्ष दिल्लीराम सापकोटाले बताए।

कार्यक्रमलाई सहयोग गर्न महानगर पनि प्रतिवद्ध रहेको उनले बताएका छन्। ‘फोहोर सङ्कलनका निम्ति जग्गा माग गरेका थियौँ,’ उनले भने ‘सकरात्मक प्रतिक्रिया आएको छ तर वैधानिक रूपमा कार्यान्वयन हुन बाँकी छ ।’ उक्त संस्थाले सङ्कलन गरेको फोहोर सौजन्य जग्गामा फालेर गोदामको रूपमा प्रयोग गर्दै आइरहेको छ।

कल्याणकारी कार्यक्रम

सङ्कलन भएको फोहोरलाई पुनः प्रशोधन केन्द्रमा बेचेर आएको पैसा जनकल्याणकारी काममा लगाउँदै आएको वस्तीले बताए। आवश्यकता अनुसार बालबालिका, असहाय, वृद्धवृद्धा तथा अपाङ्गलाई सहयोग गर्दै आएको वस्तीले जानकारी दिए।

‘चितवनको कालिका नगरपालिका, शक्तिखोर अन्र्तगत पर्ने राजवन राष्ट्रिय प्रा.वि, सुइरो कार्यक्रमले नै सञ्चालन गर्दै आइरहेको छ,’ वस्तीले भने, ‘४२ जना विद्यार्थी रहेको उक्त विद्यालय पढ्न नपाएका चेपाङ समुदायलाई लक्षित गरेर स्थापना गरिएको हो।’ कार्यक्रमले देवघाटमा रहेका वृद्धवृद्धालाई खाना खुवाउने, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गजुरेलले बताएका छन्।

सुइरो कार्यक्रम नारायणगढसँग चितवनका प्लास्टिक व्यवसायी, राइनो क्लब, फेन्सी व्यवसायी लगायतका ७ वटा संस्थाले सहकार्य गर्दै फोहोर व्यवस्थापन गर्ने काम गरेका छन्। सुइरो कार्यक्रमले फोहोरलाई मोहर बनाउनुको साथै रोजगारीका अवसर पनि सिर्जना गरेको छ।

चितवनमा रहेका २४ प्रशोधन केन्द्रले फोहोरको रूपमा सङ्कलन भएका प्लस्टिकबाट नयाँ सामग्रीहरू उत्पादन गर्ने सुइरो कार्यक्रमका अध्यक्ष डिल्लीराम सापकोटाले बताए। उनले भने, ‘अव्यवस्थित रूपमा फोहोर फाल्नुभन्दा यहाँ सङ्कलन गर्ने हो भने वातावरण सफा हुनुको साथै आम्दानी पनि बढ्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार