Saturday, September 28, 2024

बिमस्टेक देशमा देखा पर्दैछ जलवायु परिवर्तनको गम्भीर असर

काठमाडौँ- विगत १५० वर्ष यता विश्वको तापक्रम औसतमा ०.७६ डिग्री सेल्सियसले बढेको छ। यसको प्रमुख कारण हो, जलवायु परिर्वतन। अहिले संसाभरि नै जलवायु परिवर्तन एउटा ठूलो चुनौतीका रूपमा देखा परेको छ।

यसको सबभन्दा बढी असर बहुपक्षिय प्राविधिक तथा आर्थिक सहायतको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रका ८ देशमा पर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। यस क्षेत्रमा झण्डै १.९ विलियन जनसङ्ख्या आफ्नो जीवनयापनका लागि प्राकृतिक स्रोत र साधनमा निर्भर छ।

त्यसैले अन्य क्षेत्रभन्दा यो क्षेत्र जलवायु परिवर्तनका दृष्टिले बढी संवेदनशील रहेको छ। विशेष गरी तापक्रम वृद्धि यस क्षेत्रको प्रमुख समस्या हो । जसले गर्दा हावा र पानीको तापक्रम बढ्छ। तापक्रम बढ्दा पानी पर्ने शैली, बाढी र समुद्री सतहमा वृद्धिलगायतका घट्नाले मानव बस्ती, पूर्वाधार, कृषि उत्पादन, खाद्य सुरक्षा, पानीको गुणस्तर र मानव स्वास्थ्यमा गम्भीर असर पर्दछ।

बिमस्टेकभित्र पनि दक्षिण एसियाली राष्ट्रहरूमा जलवायु परिवर्तनको असर अझ बढी देखिने गरेको छ। यस क्षेत्रमा शून्य दशमलब एकदेखि शून्य दशमलब ३ डिग्रीसम्म तापक्रम वृद्धि भइरहेको छ र सन् २०६५ भित्र यो एक दशमलव ५ पुग्ने र शताब्दीको अन्तसम्म २ दशमलव ४ देखि ४ दशमलव ५ सम्म पुग्ने प्रक्षेपण गरिएको छ।

त्यसमाथि पनि दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनका केही अनौठा प्रभाव देखिएका छन्। कतिपय स्थानमा पानी कम परिरहेको छ, जसका कारण खडेरीको प्रकोप बढेको छ, भने कतिपय स्थानमा पानी बढी परेर ठूल्ठूला पहिरोहरू गइरहेका छन्। यस क्षेत्रको अर्काे चुनौती चाहिँ समुद्री सतहको वृद्धि हो। मौसममा आइरहेको परिवर्तनले ठूलो आर्थिक र मानवीय क्षतिसमेत पु¥याइरहेको छ ।

बिगत दुई शताब्दीमा आएका ठूला समुद्री आँधीलाई हेर्ने हो भने २३ समुद्री आँधीमध्ये २० वटा यो क्षेत्रमा आएका छन्। त्यसमाथि पनि भारत र बङ्गलादेश यसबाट बढी प्रभावित छन्। प्रदूषित पानीका कारण विभिन्न रोगहरू फैलिएका छन्। यति मात्र होइन, यस क्षेत्रमा तातो हावा बहनेक्रम पनि तीव्र हुँदै गएको छ।

तातो हावाले कृषि उत्पादनमा गम्भीर असर गरिरहेको छ। बिमस्टेक मुलुकहरूमा मात्र होइन्, संसारमा नै नेपाल सबैभन्दा कम कार्वन उत्सर्जन गर्ने मुलुक हो। सन् २०१७ मा नेपालले जम्मा ८.२२ मेघाटन मात्र कार्बन उत्सर्जन गरेको थियो। नेपालमा विशेषगरी यातायात र ऊर्जा क्षेत्रले बढी कार्वन उत्सर्जन गरिरहेका छन्। हिमनदी पग्लनु नेपालमा जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर हो।

त्यसैले हिमतालहरू फुट्ने खत्तरासमेत रहेको छ। यति मात्र होइन, नेपालका केही क्षेत्रमा बेला बेलामा खडेरीको समस्यासमेत देखिने गरेको छ।  जसका कारण अन्न उत्पादनमा कमी आएको छ। त्यसैगरी आगलागीका घट्नाहरू समेत बढिरहेका छन्। नेपालमा देखिने जलवायु परिवर्तनले समग्र कृषि प्रणालीलाई नै असर गर्ने देखिन्छ।
ओआरएफले तयार पारेको अध्ययनको सारांश

ताजा समाचार

सम्बन्धित समाचार