काठमाडौँ– साइकलमा विश्व भ्रमण गर्ने पहिलो नेपाली हुन्, पुष्कर शाह। वि.सं २०२४ सालमा दोलखामा जन्मेका शाहको सपना संसार घुम्ने थियो। वि.सं २०५५ मा सुरु भएको उनको साइकल यात्रा निरन्तर रुपमा अगाडि बढिरहेको छ ।
सुरुवाती दिनमा पुष्करको उद्देश्य भनेको साइकल मार्फत् संसार घुम्ने मात्र थियो तर, अहिले उनी काठमाडौँलाई नै साइकल सिटी बनाउने अभियानमा लागिरहेका छन् । प्रस्तुत छ शाहसँग गरिएको कुराकानीः
साइकलमा नेपालको कति वटा ठाउँहरू घुम्नु भएको छ ?
मैले नेपालको ६९ वटा जिल्ला घुमिसकेँ । अब बाँकी रहेका जिल्ला हुम्ला, कालिकोट, जाजरकोट, रोल्पा र रूकुम हुन् ।
अनि विदेश ?
एक सय ५० वटा ।
अप्ठेरो बाटोहरूमा कसरी यात्रा गर्नुहुन्छ ?
साइक्लिङ मेरो सपना हो। सपनालाई छुने, सपनालाई चुम्ने, सपना भेटाउने एउटा मात्रै माध्यम साइकल भएकाले ऊर्जा आफै आउँछ।
साइक्लिङ त तपाईँको शौख हो तर अब तपाईँ साइकललाई वातावरणसँग कसरी जोड्नु हुन्छ?
साइकल वातावरणमैत्री साधन हो। साइकलले अरू सवारीसाधन जस्तो इन्धन खपत गर्दैन। यसले कार्बनडाईअक्साइड उत्पादन गर्दैन।
वातावरण संरक्षणको लागी तपाईका अभियानहरू के–के छन्?
म चाहिँ दैनिक रूपमा साइकल नै चलाउँछु। मसँग अरू कुनै पनि सवारीसाधन छैन। साइकल बाहेक मेरो जीविकोपार्जन गर्ने अरू केही पनि छैन। त्यसैले जब म साइकल कुदाउँछु म दैनिक एक लिटर पेट्रोल बाल्दिन। एक लिटर बराबर निस्कने कार्बनडाईअक्साइड म उत्सर्जन गर्दिन। त्यसको अर्थ म वातावरणप्रति सचेत छु। म आफू पनि स्वस्थ रहन्छु र सहरलाई पनि स्वस्थ राख्छु। त्यसै कारण पुष्कर शाह र वातावरण एकअर्काको पर्यावाची भन्दा पनि फरक पर्दैन।
सुरूवाती दिनमा साइकल कुदाउँदा वातावरण संरक्षणमा तपाईकोे भूमिका रहन्छ भन्ने थाहा थियो?
संसार कसरी घुम्ने भनेर योजना बनाइरहँदा २०५५ सालमा साइकल एउटा माध्यम बन्यो। साइकलको माध्यमबाट विदेशका विभिन्न ठाउँहरु घुमेर स्वदेश फर्किसकेपछि नेपालका युवाहरूमा साइकलप्रतिको लगाव देखाउनु पर्छ भनेर सन् २०१० मा हामीले काठमाडौँ साइकल सिटी भनेर एउटा संस्था जन्मायौँ। साइकल सिटी भनेको साइकल नै साइकलको सिटी त होइन तर, साइकलमैत्री बनाउनु पर्छ भनेर हामी त्यसमा लागीपरेको आज ९ वर्ष भयो ।
देश र विदेशका धेरै ठाउँमा तपाईँले साइकलमा नै यात्रा गर्नु भएको छ। नेपाल र अन्य देशमा फरक के पाउनु हुन्छ?
हरेक देशको भौगोलिक स्वरूप फरक फरक भैहाल्छ। कतै मरुभूमि, कतै समथर, त कतै साना÷ठूला पहाडहरू हुन्छन्। फरक भूगोलमा विशेषता पनि फरक हुन्छ।
साइकलको यात्रा सुरक्षित छ?
साइकल आफैमा सुरक्षित सवारीसाधन हो। यसको गति १५-१६ किलोमिटर प्रतिघण्टा भन्दा हुँदैन। अरू सवारीसाधनसँग दुर्घटना हुँदा चाहिँ असुरक्षित हुने हो। २६ किलोमिटरको गोलार्धमा अवस्थित काठमाडौँमा १० लाख मोटर साइकलहरू र २-३ लाख गाडीहरू नै कुदिरहेका हुन्छन्, ती साधनहरूसँग मिसिएर, त्यहाँ भित्र खाँदिएर हिँड्नु पर्ने अवस्था छ। यस्तो अवस्थामा साइकल यात्रीहरू सुरक्षित छैनन्।
हामीकहाँ साइकल लेन छैन, आवश्यकता कतिको महसुस गर्नु हुन्छ?
सडकमा अन्य सवारीसाधनले जस्तो साइकलले पनि अधिकार पाउनु पर्छ भन्ने आन्दोलनमा छौँ। साइकल लेन भयो भने कार चढ्ने मान्छे पनि कम्तीमा हप्ताको एक दिन साइकलको प्रयोग गरेर आफुलाई सुरक्षित छु भनेर महसुुस गर्छन्। लेनको आवश्यकता अनिवार्य छ तर, सरकार भने त्यसतर्फ सचेत देखिदैन । सरकारको नीति नियम बनाउने निकायहरूले त्यसतर्फ ध्यान दिएको देखिदैन ।
काठमाडौंमा हामीसँग एक किलोमिटर पनि साइकल लेन छैन । संसार कहाँ बाट कहाँ पुगिसक्यो तर हाम्रो देशमा भने सरकार तथा सरकारी निकायबाट वातावरणलाई ध्यान दिनुपर्छ भनेर अझै सम्म पनि चेतना खुलेको छैन ।
काठमाडौँ सानो कचौरा जस्तो छ। यो खाल्टोमा उत्पादन भएको कार्बन डाईअक्साइड सहज तरिकाले यहाँबाट बाहिर जानै सक्दैन। आफूले उत्पादन गरेको कार्बन डाईअक्साइड हामी आफै खपत गरिरहेका छौँ। तर, हामीलाई चाहिने भनेको त अक्सिजन हो ।
वातावरण संरक्षणको महत्वलाई बुझेर वातावरणमैत्री साधन मात्र प्रयोग गर्छु भन्ने समय आउँछ जस्तो लाग्छ तपाईँलाई?बुझ्ने भन्दा पनि हामीले युवाहरूलाई साइकल प्रतिको मोह जगाउन सक्नु पर्छ। मोह जगाउन सकियो भने सहर आफै सुन्दर हुन्छ।
साइकलप्रति किन युवाहरू आकर्षित हुन सकेनन् त?
हाम्रो सडकको अवस्था देखेर नै मानिसहरू डराउँछन्। कुनै एक व्यक्तिलाई सहिद गेट र रत्नपार्कमा एउटा साइकल कुदाउन दिने हो भने भोलिपल्ट साइकल फालेर हिड्छ। त्यही भएर साइकल यात्रीहरू सुरक्षित हुनको लागि साइकल लेन चाहिन्छ। साइकल लेन बन्ने हो भने मानिसहरू आफै साइकल सिटीको अभियानमा मिसिन्छन्।
साइकलले बाइक अथवा कारलाई विस्थापित गर्ने अवस्था छ?
विस्थापित नै त हुँदैन किनभने हामी समयको गति, मान्छेको जीवनस्तरको उन्नति, आर्थिक सम्पन्नताको कारणले पनि त्यसलाई बदल्न सकिँदैन। तर, गर्न चाही के सकिन्छ भने हप्तामा एक दिन आज मेरो साइकल कुदाउने दिन हो भनेर अभियान चलाउन भने सकिन्छ। जसको कारण हप्तामा १० लाख लिटर तेल बचत हुन्छ। त्यसको अर्थ १० करोड रूपैयाँ बचत हुन्छ। १० लाख लिटर पेट्रोल र डिजेलको प्रयोग नगर्ने हो भने कार्बन डाईअक्साइड उत्पादन हुँदैन। अब कल्पना गर्नुहोस्, हप्तामा एक दिन मात्रै कार्बन डाईअक्साइड उत्पादन भएन भने प्रदूषण त कम हुन्छ । हप्तामा एक दिन ‘टु डे इज माई बाइसाइकल डे’ बनाउन पनि त सकिन्छ नि।
साइकललाई प्रोत्साहन गर्नको लागि कस्तो नीति आवश्यक छ?
नीतिहरू चाहिँ साइकल लेन बनाउने, सडकका भित्री सडकहरूमा साइकललाई बाहेक अन्य सवारीमा रोक लगाउने हुनुपर्छ । धोवीखोला, मनोहरा, बाग्मती, विष्णुमती आदिको किनारामा साइकल लेन बनाउन सक्ने सम्भावना छ। चक्रपथमा ८ लेनको बाटो बनेको छ तर, सरकार साइकल लेन बनाउने सोचमा छैन।
हामीले कस्तो इन्जिनियरिङ पढेका छौँ, कसरीे सडक विभाग चलाइरहेका छौं, देश चलाउने मानिसहरु कस्तो किसिमको वातावरणको क्षेत्रमा छौं भन्ने विषयमा प्रश्न उठ्न थालिसकेको छ । जसले सडकमा साइकल लेनको लागी एक मिटर पनि छाड्न सकिरहेको छैन भनेर हामी आक्रोसित हुन्छौँ। तर, जसले नीति नियम बनाउँछन्, उनीहरू गाडीमा हिँड्छन् । चिन्ता भनेको हामी जस्तो आम सर्वसाधारणलाई मात्रै हो, उनीहरुलाई केही चिन्ता छैन ।
अन्त्यमा साइकल यात्रीहरुलाई केहि सुझाव?
साइकल चढ्दाका फाइदाहरू बुझौँ। आफूपनि स्वस्थ रहौँ र सहरलाई पनि स्वच्छ राखौँ।