Thursday, August 21, 2025

बाटुलीपोखरीमा घुँगीफोर गरूडका एक सय बढी गुँड

५ भदौ, चितवन ।
भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर घुँगीफोर गरूड (एसियन ओपनविल)का लागि प्रजनन केन्द्रको रूपमा विकसित भएको छ ।

यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् । बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका १ सय ४ वटा रूखमा घुँगीफोरले ४ सय ७८ वटा गुँड बनाएका समूहका अध्यक्ष कृष्णहरि प्रसाईंले बताए । एउटै रुखमा १० वटासम्म गुँड छन् ।

‘घुँगीफोरले सुक्खा रुखहरूमा गुँड बनाउने गर्छन् भने घुँगी तथा साना जलचर खाने गर्छन् । प्रसाईंले भने, ‘हामीले अवलोकन गर्दा १ सय ४ वटा रूखमध्ये केबल तीन वटामा मात्र हरियो रूखमा गुँड देखिएको छ, बाँकी सबै सुक्खा रूखमा छन् ।’

प्रजनन याममा घुँगीफोरको गतिविधि हेर्न पक्षी अवलोकनकर्ता र संरक्षणकर्मी उत्साहका साथ आउने गरेका छन् । उनले भने, ‘प्रजनन अवधिमा पोखरी क्षेत्रमा डुङ्गाजस्ता पर्यटकीय गतिविधिहरू बन्द गरिएको छ, गुँडहरूमा असर नहोस् भनेर ।’

यस क्षेत्र पहिले ‘ठूलो घोल’को नामले चिनिन्थ्यो, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो । तर विसं २०६५ मा गंगानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो । अहिले यो क्षेत्र केवल सिँचाइका लागि मात्र नभई जैविक विविधताका लागि पनि महत्वपूर्ण बनेको छ ।

प्रसाईंका अनुसार पहिले यहाँ जाडोयाममा साइबेरियन चरा देखिन्थे तर अहिलेका वर्षहरूमा स्थायी रूपमा बसोबास गर्ने रैथाने पन्छीहरू देखा पर्न थालेका छन् । उनले भने, ‘७ वर्षयता घुँगीफोर यहाँ आउन थालेका हुन् ।’ घुँगीफोरले चैत–वैशाख महिनादेखि गुँड बनाउन सुरू गर्छन्, जेठमा फुल पार्छन् र भदौमा चल्ला कोरल्छन् । ठूला झुन्डमा रहने यिनले सामूहिक रूपमा गुँड बनाउने बानीले गर्दा अन्य चरालाई आफ्नो उपस्थिति सहजै थाहा नहुने प्रसाईंले बताए ।

पहिले घुँगीफोरले बीसहजारी तालमा गुँड बनाउने गरेका थिए । तर त्यहाँका रूख कुहिएपछि नयाँ बासस्थानका रूपमा बाटुलीपोखरीमा बस्न थालेका जानकारी दिँदै प्रसाईंले भने, ‘घुँगीफोरले केवल सुक्खा रूखमा मात्र गुँड बनाउने भएकाले त्यस्ता रूख संरक्षण गर्नुपर्छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार