Sunday, September 29, 2024

शिवपुरीबाट संकलितमध्ये ५० प्रतिशत पानी जल भण्डारमा छाड्नुपर्ने, साप्ताहिक ‘वाटर होलिडे’ पनि

ललितपुर— काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत रहेको शिवपुरी जलाधार क्षेत्रबाट संकलितमध्ये ५० प्रतिशत पानी जलभण्डारमा अनिवार्य छाड्नुपर्ने भएको छ।

मन्त्रिपरिषद्बाट स्वीकृत भइ ६ जेठमा नेपाल राजपत्रमा प्रकाशित शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली-२०७६, मा निकुञ्जको जलाधार क्षेत्रको पानी संरक्षण एवं उपयोगका लागि प्रावधानहरू कायम गरिएको छ। जस अनुसार अब निकुञ्ज क्षेत्रको जलस्रोत प्रयोग गरी पानी संकलन गर्ने निकाय वा समितिले नदी, खोला, पोखरी, ताल जस्ता जल भण्डारहरूमा कम्तिमा ५० प्रतिशत पानी अनिर्वाय रुपमा छाड्नुपर्नेछ। यो जलाधार क्षेत्र मनहरा, बागमती, विष्णुमती, रुद्रमती लगायत नदीको मुहान हो।

काठमाडौं उपत्यका खानेपाली लिमिटेड (केयूकेएल) का अनुसार हाल उपत्यका क्षेत्रमा ठूलासाना गरी ६ स्किमअन्तर्गत जम्मा ३५ वटा सतही पानीका स्रोत सञ्चालित रहेकोमा सुन्दरीजल र शिवपुरी प्रमुख दुई ठूला जलाधारका रूपमा छन् । सुन्दरीजल र वीरधारा स्किम भनिने त्यहाँको पानी काठमाडौँबासीले पिइरहेका छन् ।

यद्यपि, नियमावली पारित हुँदाका बखत सञ्चालनमा रहेका आयोजनाका लागि अर्काे व्यवस्था नहुन्जेलसम्म यो नियम लागू हुने छैन। नियमावलीमा भनिएको छ, ‘तर, यो नियमावली प्रारम्भ हुँदाका बखत खानेपानीका लागि उपयोग भइरहेको पानी सो प्रयोजनका लागि अर्काे व्यवस्था नभएसम्म साविक बमोजिम नै प्रयोग गर्न दिनु पर्नेछ।’

खानेपानी बाहेक अन्य प्रयोजनका लागि प्रयोग हुँदै आएको शिवपुरीको पानी हप्तामा एक दिन पूरै जलस्रोतमा छाडेर पानी विदा अर्थात् वाटर होलिडे मनाउने भएको छ।

मेलम्ची खानेपानी आयोजना ढिलाइ भइरहेका बेला काठमाडौं तिर्खाएको छ। यहाँका नदीमा समेत पानी सुकेर लेदो बाँकी रहँदा दुर्गन्ध समेत फैलिने गरेको छ, सुख्खायाममा। नियमावलीले उपत्यकामा खानेपानीको अर्काे व्यवस्था भएपश्चात शतप्रतिशत पानी बागमती नदीमा छाड्नुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै, अब यो जलाधार क्षेत्रको पानी उपयोग गरेबापत शुल्क तिर्नुपर्ने भएको छ। हालसम्म उपभोक्ताबाट शुल्क लिने तर, जलधारबाट नि:शुल्क पानी उपयोग गर्ने गरिएकोमा अब शुल्क लाग्नेछ। यस क्षेत्रबाट दैनिक १० लाख घन मिटर पानी उपलब्ध हुने अनुमान रहेकोमा पानी आपूर्ति गर्ने निकायबाट शुल्क लिएर जलाधार संरक्षणमा खर्च गर्ने योजना अघि सारिएको हो।

यद्यपि, नियमावली अनुसार निकुञ्ज कार्यालय, निकुञ्जको सुरक्षार्थ खटिएको सुरक्षा निकाय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सरकार विद्यालय, मठमन्दिर र मध्यवर्ती क्षेत्रभित्रका सार्वजनिक धारामा पानी उपलब्ध गराउँदा शुल्क लाग्ने छैन।
शिवपुरी-नागार्जुन निकुञ्जको नियमावली पहिलो पटक जारी भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार