काठमाडौँ– लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माण कार्य तत्काल अगाडि नबढ्ने भएको छ ।
सो चक्रपथ निर्माणका लागि अबको केही दिनमा नै घोषण हुने आर्थिक वर्ष २०७६/०७७ को बजेटमा चक्रपथ बजेट विजियोजन नहुने भएपछि यसको भविश्यको बारेमा थप अनिश्चतता छाएको हो ।
आइतबार बसेको संघीय संसदको विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी चक्रपथ निर्माण गर्ने सरकारको नीतिरहेपनि आगामी आ.वको बजेटमा भने सो आयोजना नपर्ने जानकारी दिए।
बाहिरी चक्रपथको आयोजना अगाडि बढाउन अब अर्थ मन्त्रालयको भूमिका महत्वपूर्ण रहेको भन्दै आफू जोखिम मोलेर आयोजना शुरु नगर्ने उनले बताए ।
मन्त्री राईका अनुसार बाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले चासो दिए पनि लागत फिर्ता गर्ने ग्यारेन्टी नभएसम्म निर्माण शुरू गरिने छैन।
मन्त्रालयले यस आयोजनामा बजेट सुनिश्चितता खोजिरहेको भएपनि कार्यान्वयन गर्नको लागि बजेट नभएको उनले बताए। सरकारले गरेको गल्तीको भागिदार आफू हुनुपरेको भँदै उनले भने, ‘अब अर्थ मन्त्रालयले यसको हल खोज्नु पर्छ ।’
विकास तथा पूर्वाधार समितिले बाहिरी चक्रपथ निर्माण आयोजना बजेटभन्दा बाहिर राख्न नहुने निष्कर्ष निकालेको छ। काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर गरी जम्मा ७२ किलोमिटरको बाहिरी चक्रपथ बन्नेछ।
‘ल्याण्ड पुलिङ प्रणाली’ मार्फत यो आयोजना अगाडि बढाउने योजनामा मन्त्रालय छ । ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथको निर्माणका लागि २ खर्ब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थलीडाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।





