ट्राफिक लाइटः २० वटा छन्, ४ मात्रै बल्छन्

काठमाडौँ- ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका २० स्थानमा ट्राफिक लाइट जडान गरिएपनि ति मध्ये अहिले चारवटा मात्रै सञ्चालानमा छन् ।

अधिकांश बत्ति विग्रँदा ट्राफिक व्यवस्थापनमा नै समस्या उत्पन्न भएको महानगरिय ट्राफिक महाशाखामा प्रवक्ता जयराम सापकोटाले हाकाहाकीसँग बताए ।

महाशाखाका अनुसार, केशरमहल, नारायणहिटी संग्रहालयको दक्षिण गेट, पुतलीसडक, पद्यमोदय मोड, सिंहदरबार, माइतिघर, थापाथली, कालीमाटी, गौशला, तिनकुने, कोटेश्वर, मुनीभैरव, जडिबुटी, सूर्यविनायक, नयाँबानेश्वर, ठिमिचोक, गठ्ठाघर र नारायणगोपाल चोकमा ट्राफिक लाइट जडान गरिएको छ । तर, नयाँबानेश्वर, ठिमिचोक, गठ्ठाघर र नारायणगोपाल चोककाले मात्र ट्राफिक लाइटहरूले काम गरिरहेका छन् । त्यसमध्ये पनि ठिमी चेकमा रहेको ट्राफिक लाइट पूर्ण रुपमा सञ्चालनमा आउँदैन ।

‘उपत्यकामा रहेका २० मध्ये ४ ठाँउमा मात्रै अहिले बलिरहेका छन्,’ सापकोटाले भने, ‘बाँकी सब बिग्रीएर बसेका छन्।’

त्यसो त सवारी साधन ओहरदोहर हुने सबै ठाउँमा ट्राफिक लाइट हुनुपर्ने हो । उपत्यकाका अति व्यस्त रहने सडक कोटेश्वर, ग्वार्के, सातदोबाटो, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना , बल्खु, कंलकिमा ट्राफिक लाइट नै छैनन् ।

ट्राफिक लाइट नहुँदा आफूहरुले ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड मात्र प्रयोग गर्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको सापकोटाले बताए । ‘हामीलाई हातको इशारामा सवारी व्यवस्थापन गर्न सास्ती हुने गरेकोे छ,’ उनले भने ।

सवारीको चाप धेरै भएको बेला हातको इशारा नबुझेर सवारी चालक र पैदल यात्रु अलमल्ल हुने गरेको उनको भनाइ छ ।

पछिल्लो समय सडक दुर्घटना परि मृत्यु हुनेमा पैदल यात्रुहरु बढि छन् जसका कारण विग्रेका ट्राफिक लाइटलाई पनि उनी एक कारण मान्छन् ।

सडक निर्माण र मर्मतको लागि बजेटको कमि भएकाको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिव हरि सापकोटाको भनाइ छ । ‘थोरै बजेटमा धेरै कामहरू गर्नुपर्छ,’ उनले भने ।

ट्राफिक लाइटको मर्मत र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको सडक विभागले भने खासै चासो देखाएको छैन। जापान सरकारले सन् २००५ मा १० वटा ट्राफिक लाइटको जडान गरिदिएको थियो भने सडक विभाग र महानगरको सहकार्यमा १० वटा जडान भएका थिए । नौं वर्षअघि विग्रिएका ती ट्राफिक लाइटहरूको मर्मत गरिएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार