
उच्च पहाडी भेगमा फुलेका लालीगुराँस ओइलाउन नपाउँदै नेपालको तराई र चुरेका फाँटमा डेलोनिक्सको सुन्दरता पोखिएको छ । त्यस्तै काठमाडौँ उपत्यकालाई ज्याकारान्डाले ढकमक्क बनाएको छ । पूर्वपश्चिम राजमार्गमा सवारहुनेहरूको यात्रालाई डेलोनिक्सले आनन्द थपिदिएको छ । देशको पश्चिमभन्दा पनि पूर्वी भागमा डेलोनिक्सले फाँट रातै बनाइदिएको पाइन्छ । तराईका प्रायः सरकारी कार्यालय, सार्वजनिक स्थान, चोक, बजार, औद्योगिक क्षेत्रमा यो सुन्दर फूल फुलेको देखिन्छ । पहिला मानिसका घरबगैँचामा समेत प्रसस्त पाइने यो फूल अहिले घर बगैँचामा भने कम भेटिन्छ किनकि घर छेउछाउ सडकमा फुलेर घरको शोभा बढाइदिएकै छ । वसन्तका फूलहरूमा अहिले तराईमा डेलोनिक्सले प्रभुत्व जमाएको देखिएको छ ।
उता काठमाडाँै उपत्यकालाई निलो, सेतो र पर्पल मिश्रित रंगले पोतिदिएको ज्याकारान्डाले देशी विदेशी पर्यटक तथा स्थानीयलाई मुग्ध बनाइदिएको छ । यी दुवै वनस्पतिले खासमा वसन्त ऋतुको आभाष दिलाउँछन् । यिनीहरू वसन्तका सूचक पनि हुन् ।
वनस्पति शास्त्रका प्राध्यापक डा. शशिनाथ झाका अनुसार यी दुवै वनस्पति नेपालका रैथाने भने होइनन् । दुवै सिरिस परिवारमा पर्छन् तर हाम्रो स्थानीय सिरिसजस्तो यिनको विशेषता छैन । ज्याकारान्डा दक्षिण अमेरिकातिर पाइने वा त्यहाँको स्थानीय वनस्पति हो । बोलिभिया,अर्जेन्टिना,ब्राजिलतिरको चाहिँ रैथाने हो । अर्को तराईको (रातो सिरिस पनि भनिन्छ) डेलोनिक्स माडागास्करको रैथाने बोट हो । त्यहाँको जङ्गलमा पहिला प्रसस्तै पाइए पनि अहिले मासिँदै गएको छ । त्यसैले यसको जङ्गली अवस्थालाई विश्व वैज्ञानिकले सङ्कटापन्न वनस्पतिको सूचीमा राखेका छन् । विश्व संरक्षण संघले पनि यसलाई भल्नेरेवल(दुर्लभ) वनस्पति हो भनेको छ । ज्याकारान्डाको भने जङ्गली अवस्था पनि मजबुद नै छ । हाल आएर यी दुवैलाई एक प्रकारका साम्राज्यवादी वा मिचाहा प्रजाति भनेर व्याख्या गर्न थालिएको छ । किनभने यिनीहरू आजकाल संसारभरि दु्रत गतिमा फैलिइरहेका छन् । सुन्दर फूल दिने र फूल पनि चार पाँच महिनासम्म रहने भएकोले अनि गमलीकरण गर्न सकिने भएकोले मानिसहरूले रुचाएर घर, चोक, सडकपेटी जताततै रोप्न थाले अनि त यी मौलाएर आए, फैलाएर आए । मानिसको मन र अरु रैथाने फूललाई जितेर आए । यिनलाई सबैले मन पराएका छन् । अधिकांश देशका राजदरबार वा प्रधानमन्त्री कार्यालय परिसरमा डेलोनिक्स रोपिएको रहेछ । त्यसैले यसलाई शाही पोइनसिआना(रोयल प्लान्ट) पनि भनिन्छ ।

यी प्रजातिका वनस्पति उति टाढा, सात समुद्र पारिबाट कसरी आए भन्ने जिज्ञासा आउनु स्वभाविक हो । तर यी लोकप्रिय फूलधारी वनस्पतिलाई मानिसले नै रुचाएर ल्याएका हुन् । उत्पति भूमिबाट मानिसकै माध्यमबाट यिनीहरू भारत आइपुगे र त्यहँबाट नेपाल आएको अनुमान विज्ञहरूले लगाएका छन् । ज्याकारान्डा भारतको दार्जीलिङबाट ल्याइएको भन्ने आधारहरू पाइन्छन् । राणा प्रधानमन्त्री वीर शम्शेर राणाका परिवारका सदस्य सुर शम्शेरले सय वर्षअघि वा सन् १९२० तिर यसलाई काठमाडाँै ल्याइ उनको निवास (हालको दरबार)मा रोपेका थिए । पछि क्रमशः अरूहरूले लैजाँदै गरेर विस्तार भयो भन्ने भनाइ छ । सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउने समयमा काडमाडौँका सडक, सहरलाई सुन्दर बनाउन ज्याकारान्डा टुँडिखेलवरिपरि र अन्य ठाउँमा पनि रोपिएको थियो । तर कोही कोही वनस्पतिविद्हरूले आजभन्दा १५० वर्षअघि नै यो फूल काठमाडौँ छिरिसकेको दाबी गरेका छन् ।
तराई मधेशको डेलोनिक्सको भने मूल इतिहास पाइएन यद्यपि यो पनि भारत हँुदै नेपाल प्रवेश गरेको र यसलाई गहनादार वनस्पति(अर्नामेन्टल प्लान्ट)को रुपमा नै ल्याइएको तथ्य चाहिँ पाइन्छ ।
प्राडा झाले भने, ‘साधारणतया ज्याकारान्डा अलि बढी उचाइमा पाइने वनस्पति हो भने डेलोनिक्स चाहिँ समुद्र सतहदेखि २००० मिटरसम्म उचाइमा पाइन्छ । डेलोनिक्सको लागि उपयुक्त हावापानी भनेको जहाँ वार्षिक वर्षा ७०० मिलिलिटर र औसत वार्षिक तापक्रम १४ देखि २६ डिग्री सेन्टिग्रेड रहेको हुन्छ । यो समुद्र सतहबाट १२०० मिटरसम्मको उचाइमा पाइन्छ । चाँडै बढ्ने यी दुवैले चार पाँच वर्ष उमेरका भएपछि फूल दिन थाल्छन् ।
मान्छेको मात्र नभइ सारा जनावरहरू सिरिसको फूलमा रमाउँछन् भनिन्छ । वास्तवमै होइन भन्ने अवस्था पनि देखिन्न । किनकि यो फूलको सुन्दरतामा रमेका चराचुरुङ्गीले यस्तै बताइरहेको महसुस हुन्छ ।
वनस्पति शास्त्रको प्रसिद्ध पुस्तक ‘वेल्थ अफ इन्डिया’मा यो वनस्पतिलाई सुन्दरताका लागि प्रयोग गरिनेको सूचीमा राखिएको छ । भारतका विभिन्न आदि–बासीहरूले यसको फूललाई औषधि र जुसको रुपमा पनि प्रयोग गर्ने गरेको पाइएको छ । तथापि त्यसभित्रको वैज्ञानिकता र पौष्टिकताको पुष्टि भने भएको छैन । जेठको अन्तिम सातातिर यो फल्न थालेपछि फूल ओइलाउँदै जान्छ । यद्यपि कुनै त साउनसम्म फुल्ने पनि भेटिन्छन् । काठ निकाल्न सकिने पैदावर भए पनि यसको काठ बलियो नहुने विज्ञहरूको भनाइ छ ।
वनस्पति विज्ञानका अर्का विज्ञ स्नातकोत्तर क्याम्पस विराटनगरका सह–प्राध्यापक डा.भविन्द्र निरौलाका अनुसार विशेषतः अष्ट्रेलिया, अफ्रिका, चिन, ताइवान, थाइल्यान्डलगायत अमेरिकाको फ्लोरिडामा यो सिरिस फुल्ने गरेको छ । नेपालमा अप्रिल र जुन महिनामा फुल्छ भने अष्ट्रेलियामा फेब्रुअरी र फ्लोरिडामा चाहिँ जुन महिनामा फुल्दछ । यस्तो फुल्ने समयमा अनियमितता हुनु हावापानीको फरकपनले हो । वन कार्यालयका अनुसार चाँडै बढ्ने भएकोले ग्रामीण भेकमा दाउराका लागि यो शिरिस निकै लोकप्रिय छ र तराईका अधिकांश स्थानमा रोपिन्छ र आफैँ पनि उम्रिन्छ । सानै उमेरको भएदेखि नै हाँगाबिँगाबाट दाउरा निकाल्न सकिन्छ तर उति खरो नहुने बताइन्छ । बढ्न त छिट्टै बढ्छ तर वयष्क हुनलाई १० वर्ष लाग्ने कुरा वनस्पति शास्त्रहरूमा भेटिन्छ । केवल फूलको सुन्दरतामा लोभिएर यसलाई नेपाल र भारतका धेरैजसो राजमार्गको किनारमा रोपिएको पाइन्छ ।
अन्य देशहरूमा डेलोनिक्सलाई अझै महत्वका साथ लिइन्छ । जस्तै ताइवानको चेङकङ विश्वविद्यालयले आफ्नो प्रतीक चिन्हमा डेलोनिक्सलाई राखेको छ । त्यस्तै भियतनाममा यसलाई ‘फुङ भी’ भन्ने गरिन्छ । ‘फुङ भी’को अर्थ मरेपछि चिताको आगोबाट फेरि यौवन लिएर आएको चरो भन्ने हुन्छ । यो भनाइमा कतै अशुभ पो हो कि जस्तो लाग्छ परन्तु त्यहाँको संस्कृतिमा अशुभ नमानिने भन्ने कुराको पुष्टि गर्न अर्को प्रमाण छ । त्यही देशमा डेलोनिक्सलाई ‘फ्लावर अफ पुपिल’ वा छात्राको फूल पनि भनिन्छ । क्यारेवियामा टाटाबाट सुमधुर धुन निकाल्ने वाद्ययन्त्र बनाइन्छ । त्यहाँ यस्तो बाजा उच्च कोटीको हुने बताइएको छ ।
डेलोनिक्सलाई कतै रोयल पोइन्सिआना त कतै पिकक फ्लावर भनिन्छ भने चाइनिज एकाडेमी अफ साइन्सले यो फूललाई ‘एक अति सुन्दर फूल’ र चाइनाको गहनाको रुपमा परिभाषा गरेको छ । भारतीय वनस्पतिविद् कोवेन डीभीले ‘भारतका फूल फुल्ने रुख र झाडीहरू’ भन्ने पुस्तकमा यो फूललाई एक सुन्दर र उपयोगी फूल भनेर व्याख्या गरेका छन् ।
उन्यूको जस्तो पात देखिने, पाँच सेन्टिमिटर लामा फूलका पत्र र ६० सेमी लामा टाटा दिने डेलोनिक्सको सुन्दरतामा रमाउने कुरा त कसैले सम्झाउनु पर्दैन अझ यसले प्रदान गर्ने शीतलतनमा नरमाउने सायद कोही छैनन् ।
ज्याकारान्डा करिब पाँचदेखि १५ मिटरसम्म अग्लो हुन्छ र यसको फूल अढाइ सेन्टिमिटर लामो हुन्छ । यसको फूल दुई देखि चार महिनासम्म रहने गरेको छ । डेलोनिक्सको औसत उचाइ निकै हुन्छ , १० देखि १५ मिटरसम्म । नेपालमा पाइने लगभग छ हजार तीन सय ९१ प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये यी दुईका पनि अरू उपप्रजातिहरू पनि छन्, डा निरौलाले जानकारी दिए । डेलोनिक्सका अरू रेजियालगायत १० प्रजाति छन् । वनस्पतिविद्हरू भन्छन्, ‘ गुराँसले पहाडका वनलाई रातै बनाए झैँ डेलोनिक्सले तराई मधेश राताम्य पारिदिएकाले यसलाई तराईको गुराँस भने कसो होला ? अनि ‘ज्याकारान्डाले काठमाडौँलाई छपक्क पारिदिएकाले यसलाई काडमाडौँको श्रृङ्गार माने बेसै होला ।’





