काठमाडौँ – साझा यातायातले थप २० वटा नयाँ अपाङ्गमैत्री सिटी बस खरिद गरेको छ। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा साझाले २० नयाँ बस खरिद गरी काठमाडौँ ल्याएको हो। बस किन्न काठमाडौं महानगरले ५ करोड रुपैयाँ लगानी गरेको छ ।
अन्तर्राष्ट्रिय युरो–४ मापदण्डका ४० सिटे उक्त बस शारीरिक रुपमा अशक्त व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको साझाका कार्यकारी निर्देशक भुषण तुलाधर बताउँछन्।
उक्त बसहरूको परीक्षण भइरहेको र केही हप्तामै साझाका विभिन्न रुटमा सञ्चालन गरिने उनले जनाए। उनका अनुसार थपिएका नयाँ बसहरूलाई अहिले चलिरहेको रुटमा नै चलाउने तयारी रहेको छ । यसका साथै आवश्यक परेमा नयाँ रुटमा पनि सञ्चालन हुनसक्ने उनको भनाइ छ।
‘बसहरू बल्ल आइपुगेका छन् अबको केही दिनमा रुट फिक्स गर्छौं,’ उनले भने, ‘आवश्यकता अनुसार केही नयाँ रुटमा पनि सेवा शुरु गर्छौँं।’ साझा यातायातसँग भएका बसको तुलनामा अहिले थप गरिएका बसहरू केही सानो भएको उनले बताए।
हाल साझा यातायातका ५१ बस सञ्चालनमा छन्। त्यसमध्ये ६ वटा काठमाडौँ उपत्यका बाहिर काठमाडौँ– पोखरा– कुष्मा– बाग्लुङ, काठमाडौँ– भैरहवा–सुनौली लगायतका रुटमा चल्छन् भने बाँकी काठमाडाैँमा बुढानिलकण्ठ–महाराजगञ्ज–सुनधारा–लगनखेल, नयाँ बसपार्क–महाराजगञ्ज–सुनधारा–लगनखेल, गोदावरी–थापाथली–रत्नपार्क लगायतका रुटमा तथा काठमाडौँ उपत्यका बाहिरका केही रुटमा उक्त बस सञ्चालन भइरहेको छ।





