मेलम्चीबारे उच्च राजनीतिक तहमा छलफल, प्रधानमन्त्री फर्केलगत्तै निर्णय

काठमाडौँ – लामो समयको छलफल र अनिर्णयपछि मेलम्ची खानेपानी आयोजनामा रहेको ‘डेडलक’ अन्त्य गर्ने विषयमा उच्च राजनीतिक तहमा छलफल शुरु भएको छ।

नयाँ टेण्डरमा जाँदा लामो समय लाग्ने भएकाले मन्त्रिपरिषद्बाट सिधै निर्णय गरेर ठेकेदारलाई बाँकी काम सम्पन्न गर्न दिने विषयमा छलफल भइरहेको छ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको बीचमा निरन्तर छलफल भइरहेको छ। प्रधानमन्त्री ओली कम्बोडिया र भियतनामको औपचारिक भ्रमण सकेर फर्के लगत्तै मेलम्चीमा ठोस निर्णय गर्ने सरकारको तयारी छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष दाहालले राजनीतिक नेतृत्वबाट हस्तक्षेप गरेर भएपनि मेलम्चीको पानी छिटो ल्याउने भन्दै यस विषयमा प्रधानमन्त्रीसँग कुराकानी भइरहेको जानकारी दिएका छन्।

मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरू नै लागेकोले आफू र प्रधानमन्त्रीले नेतृत्व लिएर भए पनि मेलम्ची ल्याउने उनको भनाइ छ।

आफूले विभिन्न गतिविधि गर्ने मानिसहरूले अझै पनि मेलम्ची आउन दिन्नौँ भनेको सुनेको उनले बताए । ‘मेलम्ची ल्याउन प्रधानमन्त्री र मन्त्री सदैव तत्पर छन्, तर विगतलाई हेर्दा सरकारले कडा कदम नचालेसम्म पानी आउन गाह्रो छ,’ उनले भने।

निर्माणको अन्तिम चरणमा पुगेर रोकिएको मेलम्ची खानेपानी आयोजनामा सरकारले ठोस निर्णय लिन नसक्दा राष्ट्रिय गौरवको आयोजना अलपत्र परिरहेको छ।

आयोजनाको निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम बीचैमा छोडेर गएपछि ठप्प भएको काम कहिले सम्पन्न हुन्छ भन्ने विषयमा टुंगो नलागेपछि उच्च राजनीतिक तहमा नै छलफल शुरु भएको हो।

अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै इटली गएका सिएमसीका कर्मचारी नर्फकेपछि अलपत्र मेलम्ची आयोजना अझै पनि अगाडि बढ्न सकेको छैन्।

ताजा समाचार

सम्बन्धित समाचार