बगरमा तरकारी खेती, लाखौँको आम्दानी

दाङ– गढवा गाउँपालिका – ५ धर्मापुर गाउँका थारु किसानले राप्ती नदीको बगरमा तरकारी खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। १ सय ४० घरपरिवार रहेको उक्त गाउँको श्रृजनशील कृषक समूहले राप्ती नदीको बगरमा विगत नौ वर्षदेखि तरकारी खेती गर्दै आएको छ।

‘हाम्रो गाउँमा तरकारी खेती गर्न लागेदेखि हरियो सागसब्जी खान पाइन्छ। पहिला सुख्खा खाइन्थ्यो, नुन खुर्सानी भए पनि हुन्थ्यो,’ स्थानीय सोम कुमार चौधरीले भने,‘अहिले त सबै बच्चाहरू स्कुल जान्छन्। तरकारी बेचेर पढाउन सकिन्छ। पहिला गाई बाख्रा हेर्ने अर्काको घरमा कमैया लाग्ने त्यस्तै हुन्थ्यो।’

श्रृजनशील कृषक समूहकी सदस्य डेसनी चौधरी तरकारी बेच्न थालेपछि आर्थिक समस्या समाधान भएको बताउँछिन्।
‘हामी मिहिनेत गर्छौं, बेच्छाैँ सन्तुष्ट छौँ। पहिले र अहिलेको जीवनमा फरक छ,’ सृजनशील कृषक समूहकी सदस्य फुलमति चौधरीले भनिन्।

स्थानीयको यो खुसीका पछाडि धेरै मिहिनेत र सङ्घर्षको कथा छ। यो मुक्त कमैया बस्ती हो। विगतमा यहाँका स्थानीयको जीवन दुखःदायी थियो। सानो खुसीका लागि अरूको भर पर्नुपथ्र्याे। समय बित्दै जाँदा स्थानीयहरू श्रृजनशील कृषक समूहमा आवद्ध भए। त्यसपछि बगर खेतीमा जुटे। विगत ९ वर्षदेखि बगर खेतीको नेतृत्व श्रृजना चौधरीले गरिरहेकी छिन्। उनी समूहको सदस्य हुन।

बगरमा सामूहिक रूपमा तरकारी खेती गर्न थालेपछि नै यहाँको रहन सहन, बसोबास र जीवनशैलीमा परिवर्तन आएको छ।
बगरमा भिण्डी, करेला, लौका, भाण्टा, फर्सीलगायतका तरकारी फलेको समूहकी सदस्य चौधरी बताउँछिन्।

‘तरकारी खेती गर्न लागेको ९ वर्ष भयोे। पहिला थोरै गरिथ्यो, उनले भनिन्, ‘अहिले बेच्नको लागि धेरै गर्छौं। यहाँ दश पन्ध्र बिघामा तरकारी खेती गरेका छौँ।’

बगरमा तरकारी खेती गर्न धेरै नै मिहिनेत र धैर्यताको आवश्यकता पर्ने श्रृजनाको भनाइ छ। ‘धेरै नै मिहिनेत गर्नुपर्छ, खेती गर्न खनजोत गर्‍यो बाढी आउँछ बिगार्छ फेरि खन्यो बनायो, फेरि भल आउँछ धेरै नै मिहिनेत गर्नपर्छ,’ चौधरीले भनिन्,‘पुरै पानीको यो नदी नै नदी देखिन्छ। बाढी गइसकेपछि यो सुक्छ अनि हामी फेरि शुरु गर्छौ। बाढी आउँदा यसमा तरकारी हुन्छ रोप्छौँ भनेर सोच्दैनौँ। बाढी आउँछ जान्छ, हामी गर्छौ भन्ने भइसक्यो।’

खोलाको बगर हरियाली बनाउँदा सृजना चौधरी र उनका साथीहरूको जीवनमै परिवर्तन आएको छ। यसमा सृजना चौधरीको मिहिनेत र भूमिका प्रभावकारी छ। आजको यो परिवर्तनले हिजो उनी कमलरी बस्दाको सबै पीडा बिर्सिएकी छिन। अहिले उनी आर्थिक रूपमा सबल बनिसकेकी छिन।

बगरको खेतीले वार्षिक ७ लाख माथिको आम्दानी हुने उनको दाबी छ । ‘पोहोर साल मेरो कमाइ ७ लाख भएको थियो। त्यसमध्ये तिन लाख बचत भयो,’ उनले भनिन्।उनले गाउँपालिकाबाट युवा स्वरोजगार फर्म भरे ५० हजार पुरस्कार पाउने भएकी छन्।

सामूहिक एकता र लगनशीलता सफलताका प्रमुख आधार हुन। श्रृजनशील कृषक समूहका सदस्यहरूले यसलाई व्यवहारमै कार्यान्वयन गरिरहेका छन्।

बगरमा फस्टाएको तरकारी बालीले कृषकहरूलाई काम गर्ने हौसला मिलेको छ। यो राप्ती नदीले बनाएको बगर क्षेत्र वर्षाको समयमा यहाँ पानी भरिभराउ हुन्छ, आउजाउ गर्न सकिँदैन। तर, हिउँदको समयमा भने यहाँ श्रृजनशील कृषक समूहले तरकारी फलाउने गरेको छ। उत्पादन बढाएको छ।

तर, नेपालका धेरै नदी तटीय क्षेत्रहरूमा बगरमा परिणत भएका जमिनहरू हिउँदको समयमा बाँझै हुन्छन्। यस परिस्थितिमा श्रृजनशील कृषक समूहले गरेको यो प्रयास सबैका लागि उदाहरणीय छ।

ताजा समाचार

सम्बन्धित समाचार